विकासन्युज

एक मत बटुल्न ४ हजार खर्च, तीन दिनको यात्रा

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र चार हजार रूपैयाँ भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् । यही मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाए। यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेदवार मैदानमा छन् । प्रदेश ‘क’ र ‘ख’ मा आठ/आठ जना उम्मेदवार उठेका छन् । त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट मागे । प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन् । उनीहरुले रेकर्डिङ पठाएर भोट मागे । फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् । मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ । काठमाडौं र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ । मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भएपनि निर्वाचन आयोगले त्यहाँका जनताको मताअधिकारलाई सम्मान गर्दै आएको छ । जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भएपनि त्यस्ता विकट स्थानमा बसोबास गर्दैआएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ । यसपटक पनि निर्वाचन आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ । जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि जना मतदान अधिकृत पठाइसकिएको छ । आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ । ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ । त्यहाँबाट मतपेटिका ल्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ । जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ । निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रवन्ध मिलाउनुपर्छ । मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउछन् । उहाँका अनुसार यसपटक फक्ताङलुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् । उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरुलाई रु दुई लाख तीन हजार ७०० खर्च दिइएको छ । यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ । यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो । त्यस्तै, फक्ताङलुङ गाउँपालिका – ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता रहेका छन् । त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरुलाई दुई लाख १७ हजार रुपैयाँ रकम दिइएको छ । यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ । यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्की भन्छन् – “प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ ।” फक्ताङलुङ–६ घुन्सा माध्यमिक विद्यालयमा १३१ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा १२६ मतदाता थिए तर ६६ जनाले मात्र मतदान गरेका थिए । अहिले रु दुइ लाख १६ हजार ६०० निर्वाचन खर्च दिएर नौ जना कर्मचारीलाई यहाँ खटाइएको छ । सिदिङ्वा–१ को कालीखोला निमाविमा यसपटकको निर्वाचनमा मतदाता संख्या १८४ रहेको छ । निर्वाचनका लागि दुई लाख १२ हजार २०० रुपैयाँ खर्च दिएर नौ जना कर्मचारी पठाइएको छ । स्थानीय तह निर्वाचनका बेला यहाँ मतदाता संख्या १८१ र खसेको मत १५५ थियो । मिम्वाखोला गाउँपालिका – ५ को किलिङ माविमा अहिले मतदाता संख्या १९४ छ । स्थानीय तहको निर्वाचनमा १७० मतदाता भएकामा १०७ मत मात्र खसेको थियो । अहिले यस निर्वाचन केन्द्रमा नौ जना कर्मचारीलाई एक लाख ६० हजार ७०० रुपैेयाँ सहित पठाइएको छ । यसैगरी, मेरिङ्देन गाउँपालिका–६ को चागा आधारभूत विद्यालयबाट मत खसाल्ने मतदाताको संख्या २१८ छन् । स्थानीय तह निर्वाचनका बेला मतदाता संख्या १८५ थियो र १३० मतमात्र खस्यो । त्यहाँ रु एक लाख ४० हजारसहित नौ जनाको टोली पठाइएको छ । फक्ताङलुङ गाउँपालिकाकै ओलाङचुङगोलामा २२२ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँको मतदाता संख्या २०१ मात्र थियो भने १३१ मतमात्र खसेको थियो । त्यहाँ अहिले दुई लाख २० हजार २०० रुपैयाँ रकम सहित नौ जना कर्मचारी पठाइएको छ । त्यसैगरी, सिदीङ्मा गाउँपालिका–१, सिदीङ्मा आधारभूत विद्यालय तेङ्बो निर्वाचन केन्द्रमा २६४ मतदाता छन् । स्थानीय तह निर्वाचनमा मतदाताको संख्या २६६ थियो भने २०० मात्र मत खसेको थियो । यस पटक रु दुई लाख १५ हजार ४०० रुकम दिएर १० जना कर्मचारीलाई त्यहाँ पठाइएको छ । सुरक्षाकर्मीको खर्च र हेलिकप्टरमार्फत मतपेटिका ल्याउँदा त्यसको खर्च गृह मन्त्रालयले व्यहोर्ने भएकाले त्यो खर्च यसमा नजोडिएको प्रमुख निर्वाचन अधिकृतको कार्कीले जानकारी दिए । ग्याब्ला प्रावि, याङ्मा आधारभूत विद्यालय, घोन्सा मावि, वडा कार्यलय ओलाङचुङगोला अति दूर्गममा पर्ने भएकाले गत ४ गते नै निर्वाचन अधिकृतसहितको टोली त्यसतर्फ पठाइसकिएको छ । यस जिल्लाको कूल जनसंख्या एकलाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ जना छन् । रासस

कञ्चन डेभलपमेन्टको हकप्रद लिलामी हुँदै, मंसिर २६ गते अन्तिम दिन

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ । बैंकले चुक्तापुँजी बढाउन गत असार ३० गते देखि भदौ १ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको थियो । आवेदन नपरेको सेयर बिक्रीका लागि बैंकले प्रस्ताव आब्हान गरेको हो ।

विद्युतीय प्रणालीमार्फत कर तिर्ने व्यवस्था हुदै, एकिकृत कर कोड पनि लागुको तयारीमा

काठमाडौं । चालु आर्थिक वर्षका लागि उठाउने लक्ष्य राखिएका राजश्वले प्रदेश र स्थानिय तहका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नपुग्ने देखिएको छ । ७५३ तहमा भवनलगायत अन्य पुर्वाधार बनाउन ८ खर्ब २० अर्ब रुपैयाँ तत्काल बजेट आवश्यक भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । उनले चालु आवमा लिएको ७ खर्ब ३० अर्ब रुपैयाँले नभ्याउने भन्दै स्थानिय पुर्वाधार निर्माणका लागि थप बजेट आवश्यक भएको बताए । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा आयोजना गरेको लगानी प्रवद्र्धनका लागि करमा सुधार विषयक छलफलमा बोल्दै सचिव ढुङानाले ५ वर्षयता करको दरमा कुनै परिवर्तन नगरेको बताए । सरकारले करको दर भन्दा दायरा बढाउन जोड दिएको भन्दै करको दर मात्र बढाउने पक्षमा सरकार नभएको उनले स्पष्टपारे । सरकार कर प्रणालीलाई सुधारेर उद्योग व्यवसायमैत्री बनाउने सरकारको योजना रहेको उनले सुनाए । अझै पनि न्युनविजिकरणको समस्या रहेको भन्दै सचिव ढुङानाले बताए । कर प्रणालीमा देखिएका समस्या समधान गर्न सरकारले एकिकृत कर कोडको तयारी गरेको छ । यस्तै कर तिर्नका लागि एबीबीए प्रणाली र विद्युतीय प्रणालीमार्फत कर तिर्ने व्यवस्था गर्न लागेको उनले सुनाए । सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले अहिलेको कर प्रणालीले निकासीमैत्री उद्योग सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेका थिए । उनले व्यवसायीले कर ठग्ने दिन गएको बताए । कर भुक्तानीलाई सहजीकरण गरी सबै कारोबार विद्युतीय प्रणालीमार्फत गर्न उनले सुझाए । कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले कार्यपत्र प्रस्तुत गर्दै अझै पनि न्युन बिजिकरणले भ्रष्टचारलाई बढवा दिएकाले यसलाई रोक्नु सुझाए । सरकारले राजश्व वृद्धिलाई मात्र आधार मानेको उनको आरोप थियो । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक शंकरप्रसाद खकुरेलले कर प्रणालीमा सुधार भइरहेको बताए ।

बीपीसीमार्फत २ खर्ब चीनियाँ लगानी नेपाल आउदै, ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन हुने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) मार्फत नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ । जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको एसजीआईको ६५ र १५ प्रतिशत क्युवाईईसी बेटरसिटीका स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३९ करोड रुपैयाँ लगानी गर्नेछ । हकप्रद सेयर निष्कासन र संचित कोषमा भएको रकम होल्डिङ कम्पनीमा लगानी गर्ने बीपीसीका अध्यक्ष पद्म ज्योतिले बताए । पहिलो चरणमा कम्पनी १ सय मेगावाटको तल्लो मनाङमर्स्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ । संयुक्त लगानीको कम्पनीले नेपालमा अर्धजलासययुक्त आयोजना (पीआरओर) मा जोड दिने भएको छ । यस्तै सरकारले तोकेको मापदण्डअनुसार कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने उनले जानकारी दिए । चीनको प्रान्तीय सरकार अन्र्तगतका कम्पनी मध्ये एउटा जलविद्युत र बाँकी रियलस्टेटलगायत अन्य क्षेत्रमा लगानी रहेको छ । १ वर्ष लामो मेहनतपछि चीनियाँ लगानीमा संयुक्त कम्पनी स्थापना गरिएको ज्योतिले सो अवसरमा जानकारी दिए । बीपीसीले हाल ६७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको एकैपटक निर्माण सुरु गरेको छ । हाल बीपीसीले ३७. ६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु गरेको हो । दुवै आयोजना आगामी सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कावेली बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्नेछ । कावेलीमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आईएफसी) को ऋण लगानी छ । यस्तै, न्यादीमा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी भएको छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । दुई आयोजना बनाउका लागि लगानी जुटाउन बीपीसीले ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्यमा उसले एफपीओ ल्याउन लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।  

कैलाश विकास बैंकको ४१औँ शाखा ईटहरीमा, धनगढी र रुपन्देहीमा खोल्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१औँ शाखा स्थापना मंसिर ६ गते बुधबार देखि कारोवार शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैकका संचालक उद्धवराज पुरीले एक समारोहकाबीच गरेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएमसंख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गते देखि ११ गतेसम्म आयोजना हुने

काठमाडौं । पल्सर मोटरसाइकलको बजाज नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमाडौंको भृकुटी मण्डपमा यहि नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना हुने भएकाे छ । ‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राकह महानुभाबहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसंग साट्न पाउनेछन् । साथै, मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जाना ग्राहकले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसुङ मोवाइलसमेत जित्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई सदैब सोर्वोत्तम सेवा, सुविधा प्रदान गर्दै आएको कुरामा विश्वस्त रहेको छ ।

सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपालबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ एटिम रहेको छ ।  

दराज डटकम डटएनपीमा ७० प्रतिशतसम्मको छुट, शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेल

काठमाडौं । राज डटकम डटएनपीमा आवश्यक पर्ने कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् । ब्ल्याक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकमडटएनपी मार्फत सस्तोमा सामान उपलब्ध उपलब्ध गराउने छन् । दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ । मंसिर ८ गतेदेखि १२ गतेसम्म ब्ल्याक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिन्छ । सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ । सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ । ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्र मार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् । साथै, पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे सेललाई नोकिया ८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, युएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेष्टमेण्ट बैंकले सहप्रायोजन गरेका छन् ।