विकासन्युज

मूल्यवृद्धि लक्ष्य भन्द कम, साढे ४ प्रतिशतमा सीमित

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि लक्ष्य भन्दा कम भएको छ । गत आवमा उपभोक्ता मूल्यवृद्धि ४.५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष मुद्रास्फीति ९.९ प्रतिशत थियो । आर्थिक वर्ष ०६१/०६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । गत आवमा उपभोक्ता मूल्यवृद्धि साढे ७ प्रतिशत हुने अनुमान विपरित घटेको हो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्षमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ०७४ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । उक्त वार्षिक विन्दुगत मुद्रास्फीति २०६१ कार्तिकपछि न्यूनतम हो । समीक्षा वर्षमा घिउ तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १.९ र ६.५ प्रतिशत छ । अघिल्लो वर्षमा यी समूहहरुको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १०.९ र ९.२ प्रतिशत थियो । घिउ तथा तेलको मूल्यमा ६, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ र तरकारीको मूल्यमा २.५ प्रतिशत कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४, तराईमा ४.४, हिमालमा ४.१ र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ । गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ३.४ प्रतिशत र नेपालमा ४.५ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.९ र ५.२ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत थियो ।

कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति, बाढी पीडित किसानद्धारा राहतको माग

वीरगञ्ज । हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा २८ करोड ८७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । साथै, एक करोड रुपैयाँ मूल्य बराबरको ५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली तथा १५ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको २२५ हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा क्षति भएको छ । पर्सा जिल्लामा बाढी र वर्षाका कारण जिल्लामा ४५ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धानबाली, तरकारी, माछा र पोखरी नष्ट भएको प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । यसैगरी सो अविरल वर्षा र बाढीबाट बारा जिल्लामा एक अर्ब ३८ करोड १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको बालीनाली क्षति भएको छ । पर्सा जिल्ला कृषि विकास कार्यालयका अनुसार सो बाढीबाट तीन हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली, एक हजार हेक्टर क्षेत्रफलमा रहेको तरकारीबाली र ५०० हेक्टर क्षेत्रफलमा रहेको माछा नष्ट भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए। बाढीबाट पीडित किसानले सरकारसँग अविलम्ब राहतको व्यवस्था गर्न माग गरेका छन् । रासस

करको दायरा बढाउँदा २ लाख नयाँ करदाता थपिए

काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि एक वर्षमा झण्डै २ लाख नयाँ करदाता थपिएका छन् । गत आर्थिक वर्ष ०७३/०७४ मा १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका छन् । यो समेत गरी मुलुकभर करको दायरामा आउनेको संख्या १६ लाख २३ हजार २३१ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आवमा १४ लाख ३० हजार ४४५ करको दायरामा थिए । कुल जनसंख्याको झण्डै ६ प्रतिशत हारहारीमा मात्र करको दायरामा आएको सरकारी तथ्याँक छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको हो । पछिल्लो समय प्रशासनमा सुधार र दायरा विस्तारले कर असुली लक्ष्य भन्दा बढी हुन थालेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा सरकारले लक्ष्य ४७ अर्ब रुपैयाँ बढी कर असुली गरेको छ । गत आवमा सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर असुलीको लक्ष्य निर्धारण गरेकोमा आव अन्त्यसम्म ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ असुली भएको छ । चाल आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समयमा करधारको विस्तार र कर प्रणाली सुध्रिढीकरण हुदै गएको छ । करको दायरा विस्तार, कर परिपालनाको स्तरमा अभिवृद्धि, राजश्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ५ वर्षयता राजश्व प्रशासनमा भएकाले सुधारले वार्षिक राजश्व दर २७ प्रतिशतसम्म वृद्धि भएको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार प्युठानको जुम्रीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७६ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजनको लागि शुन्य दशमलब ५२ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । उक्त निणर्य भदौ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

मंसिर १० गते दुवै तहको निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय, भारत भ्रमणमा बाँधका विषय उठाइने

काठमाडौं। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ । कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको रु ५० करोड अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुनेछ । पञ्चेश्वर जलविद्युत् आयोजना, वाणिज्य व्यापार, सन् १९५० को सन्धि, नेपाल–भारत रेल्वेलगायतका बारेमा पनि भ्रमणमा छलफल हुने बताइएको छ ।  

सिटिजन्स बैंकको भदौ १२ गतेदेखि ५ दिन बुक क्लोज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको आगामी भदौ १२ गतेदेखि ५ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभा प्रयोजनको लागि भदौ १२ गतेदेखि १६ गतेसम्म बैंकको बुक क्लोज हुन लागेको हो । बैंकले हालसम्म साधारणसभाकोे मिति भने तोकेको छैन । साभामा बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नियमन शुल्क नतिरेपछि नेप्सेले ७ ब्रोकरको कारोबार रोक्यो

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सोमबार ७ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएपछि नेप्सेले उनीहरुको कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुने ब्रोकर कम्पनीमा अग्रवाल सेक्युरिटिज, आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्रियटिभ सेक्युरिटिज, डाइनमिक मनी म्यानेजर सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र साउथ एसियन बुल्स प्रालिलाई कारोबार गर्न बन्देज लगाएको नेप्सेले जनाएको छ । गत वर्षको नियमन शुल्क नबुझाएपछि बोर्डको निर्देशनमा कारोबार रोक्का गरेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डलाई शुल्क तिरेपछि कारेबार खुला हुने उनको भनाई छ । कुल कारोबारको ०.६ प्रतिशत सेवा शुल्क बुझाउनु पर्ने छ ।