विकासन्युज

विद्युत् सेवा सञ्चालन भएको एक दिन नबित्दै फेरि अवरुद्ध

गुल्मी । गुल्मीको परोपकार सहकारी लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा फेरि अवरुद्ध भएको छ । मुसीकोट नगरपालिका–७ को बसेरीमा करिब ३० मिटर नहर भत्किँदा विद्युत् सेवा फेरि अवरुद्ध भएको हो । एक सय ३५ किलोवाट क्षमता भएको विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाका वडा नं १, २, ८ का झण्डै एक हजार २०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् भने विभिन्न उद्योगधन्दा, कलकारखानासमेत ठप्प भएका छन् । एक हप्ताअघि अवरुद्ध विद्युत् ३ गते सञ्चालनमा ल्याइए पनि आइतबारदेखि पुनःअवरुद्ध भएको छ । विद्युत् सेवा सञ्चालन गर्न केही दिन लाग्ने विद्युत् सञ्चालक समितिका अध्यक्ष धन्मेन्द्रकुमार मल्लले जानकारी दिए । रासस

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्वाङ, होलेरी, भावाङ र लिवाङमा नयाँ टावर स्थापना गरिएसँगै सेवामा सुधारसमेत भएको हो । चालु आवमा थप छ स्थानमा नयाँ टावर थप्ने कार्यक्रम रहेकाले जिल्लामा टेलिफोनको पहुँचमा ८० प्रतिशत जनता पुग्ने टेलिकमले जनाएको छ । यसैगरी नेपाल टेलिकमले जिल्लाका सिर्प र जेल्वाङमा एक हजार ५८० सिम निःशुल्क वितरण गरेको छ । जनताले निःशुल्क सिम माग गरेपछि क्षेत्रीय निर्देशकको अनुगमनपश्चात् आवश्यकता महसुस गरी निःशुल्क वितरण गरेको बताइएको छ । जनताको माग भएमा चालु आर्थिक वर्षमा पनि अझ केही सिम निःशुल्क बाँडिने आचार्यले बताए।

नेपाल औषधीले असोजदेखि सिटामोल उत्पादन थाल्ने, १० प्रतिशत सस्तोमा पाइने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी असोजदेखि सिटामोल पनि उत्पादन थाल्ने भएको छ । हाल जीवनजल मात्र उत्पादन गरिरहेको लिमिटेडले आफनो उत्पादनमा विविधिकरण गरी सिटामोलको पनि उत्पादन गर्न लागेको हो । हप्तामा ५ लाख सिटामोल ट्याब्लेट उत्पादन गर्ने लक्ष्य लिएको लिमिटेडका महाप्रवन्धक रोभस कुसम सुवेदीले बताए । उनका अनुसार १ ब्याचमा साढे ३ लाख ट्याब्लेटसम्म सिटामोल उत्पादन गर्न सकिन्छ । एक ब्याजका लागि ३ देखि ४ दिनसम्म लाग्छ । लिमिटेडले बिक्री गर्ने सिटामोल बजार मूल्य भन्दा १० प्रतिशत सस्तो पर्ने सुवेदीले जानकारी दिए । सिटामोल उत्पादन थाल्न नयाँ उपकरण जडान भइसकेको उनले बताए । बन्द भएको ८ वर्षपछि उद्योग पुनः सञ्चालनमा आएको हो । औषधि लिमिटेडले सुरुवाती दिनदेखि जीवनजल उत्पादन गर्दै आइरहेको छ । दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दाबढी प्रकारका औषधि उत्पादन गर्ने उनको भनाई छ । तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा सञ्चालनमा ल्याई स्लाइन र हेमोडाइलसिस फ्युल्ड जस्ता अति आवश्यक औषधिको उत्पादनका लागि काम अगाडि बढाएको छ । तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा उद्योग सञ्चालनमा आएको हो । उद्योग सञ्चालनका लागि सरकारले १४ करोड रुपैयाँ अनुदान दिएको छ । औषधी उत्पादन गर्नका लागि नयाँ उपकरण खरिद गरि सञ्चालनमा ल्याइएको छ । वि.सं. ०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तराष्ट्रिय मापदण्डअनुसार असल उत्पादन प्रणाली (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस, जिएमपी) अनिवार्य र निरन्तर नोक्सानमा गएपछि उद्योग बन्द भएको थियो । बाढी प्रभावित क्षेत्रमा जीवनजल वितरण लिमिटेडले बाढी प्रभावित क्षेत्रमा जीवनजल वितरण गरिरहेको छ । पछिल्लो समयमा अविरल वर्षाका कारण तराईका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावितका लागि लिमिटेडले जीवनजल वितरण गरिरहेको छ । हालसम्म सप्तरी र मोरङ गरी दुई ठाँउमा ३ हजार पुरिया जीवनजल वितरण गरिसकेको सुवेदीले जानकारी दिए । अन्य प्रभावित जिल्लामा पनि १५ हजारसम्म जीवनजल वितरण गर्ने लक्ष्य रहेको उनले बताए । “बाढी प्रभावित क्षेत्रमा झाडा पखाला लाग्ने सम्भावना प्रबल भएपछि तत्कालका लागि हामीले समयमा नै जिवन जल पठाउन सकेनौं भने महामारीको रुप लिने सम्भावना हुन्छ”उनले भने ।

कमला सिँचाइ आयोजनामा १३ करोडको क्षति, सिँचाइ प्रभावित

सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब  १३ करोड रूपैयाँ बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार  नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ  ५ करोड र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ  ७ करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ  १ करोड रूपैयाँ बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए । विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेकाे कमला सिँचाइ आयोजना विगत ३ वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहँ खेतीमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो । कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले राससलाई भने । साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेतीसमेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कमला नहरको निर्माणले विगत दुई वर्षदेखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले भने । गत वर्ष २०७३र०७४ मा कमला नहर सिँचाइका लागि  १७ करोड र समृद्ध तराई कार्यक्रमतर्फ र ५ करोड रूपैयाँ खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ ।

सेञ्चुरी बैंकको नाफा ४४ करोड, जगेडा कोषमा एक अर्ब १८ करोड

काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो । सेञ्चुरीले आव २०७२/७३ मा ४१ करोड नाफा कमाएको थियो । बैंकले ४२ अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा लगानी प्रवाह गर्दा ३ अर्ब ११ करोेड ब्याज आम्दानी र १ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ । ५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा भने शुन्य दशमलब २२ प्रतिशतबाट बढेर १ दशमलब १५ पुगेको देखिन्छ । सेञ्चुरी बैंकको प्रति सेयर आम्दानी ८ रुपैंयाँ २० पैसा छ भने प्रति सेयर नेटवर्थ १२१ रुपैंयाँ ७५ पैसा रहेको छ ।

प्राइम लाइफले एकैपटक ४ वर्षको साधारणसभा गर्दै, १६० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैपटक ४ वटा वार्षिक साधारणसभा गर्ने भएको छ । प्राइमले सातौ, आठौं, नवौ र दशौं वार्षिक साधारणसभा भदौ २७ गते गर्ने भएको छ । चुक्तापुँजी बढाउनलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुने प्राइमले जनाएको छ । जीवन बिमा कम्पनीले चुक्तपुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने नीतिगत व्यवस्था बिमा समितिले गरेपछि उसले बोनस सेयर वितरण र हकप्रद निष्कासन गरेर पुँजी बढाउन लागेको हो ।

बिजुलीको पैसा तिर्न कार्यालय धाउनै नपर्ने, अब घरबाटै तिर्न सकिन्छ

काठमाडौं । के तपाइलाई बिजुलीको महशुल तिर्न गर्न घण्टौ लाइनमा बस्नु परेको छ ? बिजुलीको बिल तिर्न लामो समय दिनुपरेको छ ? अब लामो समय लाइनमा बस्नु पर्देन, तपाइले घरमा बसेर बिजुलीको बिल भुक्तानी गर्न सक्नु हुन्छ ।   नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई घरमा बसेर बिजुलीको महशुल तिर्न पाउने व्यवस्था गर्न लागेको छ । प्राधिकरणले बिजुलीको बिल अनलाइनबाट भुक्तानी गर्ने प्रविधी जडान गरेकाले घरमा बसेर बिजुलीको महशुल भुक्तानी गर्न पाउने व्यवस्था मिलाएको हो । यसले समय बचत हुनुका साथै महशुल तिर्न कार्यलय धाउनु पर्देन । प्राधिकरणले सोमबारदेखि अनलाइन भुक्तानी प्रणाली सुरु गर्देछ । प्राधिकरणको काउन्टरमा गएर ग्राहकले बिजुलीको महशुल भुक्तानी गर्दे आएकोमा अब घरमा बसेर पनि अनलाइनका माध्यमबाट बिजुलीको महशुल भुक्तानी गर्न सकिने छ । प्राधिकरणले अनलाइन भुक्तानी प्रणाली लागु गरेपछि रिचार्ज कार्ड पेमेन्ट, र एनी ब्रान्च पेमेन्ट क्रमश देशभरी लागु गर्ने जानकारी दिएको छ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले विजुलीको शुल्क अनलाईनबाटै तिर्ने प्रणालीको आज सुभारम्भ गर्दैछन् ।  

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

  बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ५ मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध र आउटलेट (फोरवे)बाट खनिएको सुरुङ जोडिएको हो । आउटलेटबाट १  हजार मिटर र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए। अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडक नभएकाले पिठ्युँ र खच्चरमा बोकाएर सामान ढुवानी गरिँदै आएको थियो । विद्युत गृह छेउसम्म सडक पुगेको छ । रोपवेमार्फत करिब २०० मिटर माथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको छ । नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिएको हो । दुईतर्फबाट जोडिने टनेलको अन्तिम बिस्फोट अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गराएका थियो । जनप्रतिनिधि, लगानीकर्ता, संस्थापक र मजदुरको उपस्थितिमा सुरुङ निर्माणको काम सकिएकामा खुशीयाली मनाइएको थियो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको अध्यक्ष सुवेदीले बताए । यो आयोजना म्याग्दीका उद्योगी, व्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए । १ हजार ३०० जनाको  ३५ करोड ५० लाख रूपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड रूपैयाँ लगानी गरेका छन् । घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान गर्ने योजना छ ।