विकासन्युज

भदौ १६ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन हुदै, चिनीमा ५ र चामलमा १० रुपैयाँ छुट दिने

काठमाडौं ।  सरकारले विगत वर्ष जस्तै दशै र तिहार लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दे भदौ १६ गतेदेखि छठसम्म देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालय अन्तर्गका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल खाद्य संस्थानले दशै र तिहारमा सहुलियत दरमा नून, चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तु सहुलियतमा बिक्री गर्ने भएका हुन् । आयल निगमले पेट्रोलियमको आपूर्ति सहज गर्ने भएको छ । आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्तिसचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङले उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा दिनेछ । साल्ट ट्रेडिङले उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल चलाउने मन्त्रालयले जानकारी दिएको छ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिने उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ । खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ । चाडपर्वको अवसर पारेर दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलाई निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको केसीले जानकारी दिइन् । प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् । आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ । दुध तथा दहीका लागि छलफल गर्ने तयारी चलिरहेको सचिव राईले जानकारी दिए ।

लुम्बिनी बिकास बैंकको टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जनादाताहरुले रक्तदान गरेका थिए । विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ । कार्यक्रममा बैैकका कर्मचारी बर्ग, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सिद्धार्थ बैंकको ‘मेरो शेयर खाता’ सञ्चालनमा, वार्षिक ब्याजदर ६ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् । बैंकका अनुसार ‘मेरो शेयर खाता’ बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । बैंकले ‘मेरो शेयर खाता’ मा निःशुल्क अनलाइन आश्बा एप्लिकेशन, निःशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन एप्लिकेशन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गरेको छ । साथै, बैंकले पाँच लाख रुपैयाँ सम्मको निःशुल्क दुर्घटना विमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ । यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ । सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस् मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरी आएको छ ।

सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा बाजुराको मार्तडीमा सञ्चालन गरेको छ । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो । बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्दैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ ।  इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी िदए । “इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ”–उनले भने । केन्द्रबाट यो नं प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ । यो नं प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि ३ हजार ६००, मझौला चारपांग्रे सवारीका लागि ३ हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि २  हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि २ हजार ५०० रूपैयाँ दस्तुर तोकिएको छ । सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नं प्लेट राख्ने कामको शुभारम्भ गरने  कार्यक्रम छ ।

तीन कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सूचिकृत, सबैभन्दा बढी एसबिआई बैंकको

काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो । त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

काठमाडौ‌‌ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् । मोहम्मद जाकिर हुसेन ९महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ ९गृह०, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराए । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो । रासस

चेम्बरले बाढीपहिरो पीडितका लागि संकलित राहत सामग्री सरकारलाई बुझायो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो । बाढीपीडितका लागि राहत संकलन गर्न गठित डिजास्टर म्यानेजमेन्ट सेलका संयोजक एवं चेम्वरको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो । चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको छ । कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले थप राहत संकलन गरी संकलित राहत सामग्री हस्तान्तरण गर्दै जाने जानकारी दिए ।