सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो
लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३/७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३÷७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । समयमा विद्युत्को महसुल नबुझाउने जिल्लाका ८६५ ग्राहकको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बक्यौता रकम समयमा नबुझाएको र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेका ग्राहकको विद्युत् लाइन काटेको प्रमुख यादवको भनाइ छ । उनका अनुसार विद्युत् लाइन काटिएका ८६५ ग्राहकमध्ये ५४७ जना ग्राहकबाट १ करोड २३ लाख ६४ हजार ७ सय ९७ रुपैयाँ बक्यौता रकम संकलन भएको छ । विद्युत् लाइन काटिएका मध्ये ३२ जनाले महसुल बुझाए बापत ४५ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । केन्द्रले आव २०७३/७४ मा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४८१ जनालाई पक्राउ गरी गरेको जरिवानमा ३० लाख ३६ हजार १ सय ५३ रुपैयाँ राजश्व संकलन हुनाका साथै सो क्रममा १०३ थान टिभी, १३१ थान पानी तान्ने मोटर, ६६ थान पङ्खा र ६ थान फ्रिजसमेत बरामद गरिएको प्रमुख यादवले बताए । रासस
अधिकांश वाणिज्य बैंक प्रतिसेयर आम्दानी बढाउन असफल, घट्दा पनि नविलको सबैभन्दा बढी (सूचिसहित)
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा अधिकाँश वाणिज्य बैंक प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन असफल भएका छन् । गत आवको असारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा वाणिज्य बैंकमध्ये १९ वटाको प्रतिसेयर आम्दानी घटेको छ । चुक्तापुँजी बढेपछि सेयर संख्या बढ्दा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो । नेपाल इन्भेष्टेमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंकले प्रतिसेयर आम्दानी बढाउन सफल भएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तिय विवरण अनुसार ५८ रुपैंयाँ ५४ पैसासहित नविल बैंकको इपिएस सबै भन्दा धेरै रहेको छ भने दोश्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ४३ रुपैंयाँ ७८ पैसा रहेको छ । एभरेष्टको प्रतिसेयर आम्दानी २३ रुपैयाँ घटेको वित्तीय विवरणले देखाएको छ । प्रति सेयर आम्दानी धेरै हुने बैंकको तेश्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । यो बैंकले ३४ रुपैंयाँ ५८ पैसाबाट बढाएर आफ्नो प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ६० पैसा पर्याएको छ । गत आवमा कृषि विकासले प्रतिसेयर आम्दानी ६ रुपैयाँ बढाएको छ । चौथो स्थानमा रहेको नेपाल बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ३ पैसा छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकको यस्तो आम्दानी ४६ रुपैंयाँ ६९ पैसा रहेको थियो । नेपाल बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ घटेको छ । सबै भन्दा थोरै प्रतिसेयर आम्दानी भने सिभिल बैंकको छ । यो बैंकको त्यस्तो आम्दानी १० रुपैंयाँ ७५ पैसाबाट पनि घटेर ६ रुपैंयाँ ५२ पैसामा झरेको छ । सिभिलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ घटेको छ । चुक्तापुँजी बढेपछि प्रतिसेयर आम्दानी बढाउन बैंकलाई चुक्ता भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसाल बताउछन् । बिकास न्युजसंग कुरा गर्दे उनले ईपीएस स्थिर राख्न नै बैंकलाई ठूला उपलब्धी हुने बताए । बैंकको नाफा बढेपनि सेयर संख्या बढेपछि आम्दानी घटेको रिसालको भनाई छ ।
स्वदेशी लघुवित्त संस्थाले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । स्वदेशी लघुवित्त संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
यूनाइटेड फाइनान्सको सञ्चालकमा दिपककुमार अग्रवाल नियुक्त
काठमाडौं । यूनाइटेड फाइनान्सको सञ्चालकमा दिपककुमार अग्रवाल नियुक्त भएका छन् । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सञ्चालक पदमा सुरज शाक्य रहेका थिए । सञ्चालक समितिको सोहि दिनको बैठकले शाक्यको राजिनामालाई स्वीकृत गरेको छ ।
आउदो वर्ष ६ सय मेगावाट बिजुली थपिने
काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा थप ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । ४५६ मेगाावाटको माथिल्लो तामाकोसी, निजी लगानीमा निर्माण भएका आयोजना र सौर्य ऊर्जा मिश्रित गरी ६ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको हो । विद्युत क्षेत्रको सुधार गरी आउदो ३ वर्षमा सरकारले १ हजार २ सय मेगावाट थप बिजुली उत्पादनको लक्ष्य लिएको छ । चालु आवमा सरकारले बजेटमार्फत ८ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएपनि नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक र निजी लगानीबाट साढे २ सय मेगावाट बिजुली उत्पादन हुने बताएको छ । यता सरकारले माथिल्लो तामाकोसी सम्पन्न हुने अनुमानका आधारमा यो लक्ष्य लिएको हो । तामाकोसी आउदो ०७५ असारमा एउटा युनिट सञ्चालनमा ल्याइ बाँकी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । चालु आवमा सार्वजनिक क्षेत्रबाट चमेलिया र कुलेखानी गरी ४४ मेगावाट र बाँकी निजी लगानीबाट बिजुली उत्पादन हुने विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् । गत आवमा निजी क्षेत्रका ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावट बिजुली थप भएको छ । यो समेत गरी जडित क्षमता ९८० मेगावाट पुगेको छ । यो हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र विराटनगरमा रहेको मल्टिफयुल प्लाण्ट समेत गरी हो । यी दुईको जडित क्षमता ५३ मेगावाट छ । जलविद्युत मात्र ९१८ मेगावाट छ । यसमध्ये विद्युत प्राधिकरणको ४७७ र निजी क्षेत्रको ४४१ मेगावाटरहेको छ । गत वर्ष राष्ट्रियविद्युत प्रणालीमा उच्चतम् माग १३०६ मेगावाट रहेको छ । आगामी सुख्खायाममा यो माग करिब १७४२ मेगावाट रहने अनुमान गरिएको छ । हालको विद्युत माग पूर्ति गर्न विद्युत प्राधिकरणबाट सञ्चालित जलविद्युत केन्द्रहरुबाट ३४५ मेगावाट, निजी प्रवर्द्धकका जलविद्युत केन्द्रहरुबाट ३३१ मेगावाट तथा आयात ३०० मेगावाट गरी कूल ९७६ मेगावाट आपूर्ति भइरहेको छ । ३३० मेगावाट उद्योगमा मात्र लोडसेडिङ भइरहेको अवस्था छ । विद्युत चुहावट २३.९ प्रतिशत छ । यता प्राधिकरणले लोडसेडिङ हटाउन यो वर्ष भारतबाट ५ सय मेगावाटसम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । गत आवमा प्राधिकरणले ३८५ मेगावाटसम्म बिजुली आयात गरेको थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ले ६० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सिद्धार्थ म्युचल फण्ड अन्तर्गत संचालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले आफ्ना इकाईधनीहरुलाई ६० प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै, सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमले पनि २५ प्रतिशत नगद लाभांश दिने भएको छ । यी दुबै स्किमले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । सो लाभांश वितरण प्रयोजनको लागि भदौ १२ गते यी दुबै फण्डको बुक क्लोज हुने भएको छ ।
किसान माइक्रोफाइनान्सले २४ प्रतिशत हकप्रद निष्कासन गर्दै, कहिले देखि बुक क्लोज?
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४ दशमलब २२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ११ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई संस्थाको साधारणसभाले पारित गर्नु पर्ने छ ।
सिद्धार्थ इन्स्योरेन्सको सिईओमा वीरेन्द्र वैदावर नियुक्त
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो । बैदवार विगत १० वर्षदेखि सोही कम्पनीको कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सो कम्पनीमा प्रवेश गरेका उनी सहायक महाप्रवन्धक हुँदै करिव तीन वर्ष कामु प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनको नेतृत्वमा कम्पनीको प्रर्फमेन्स धेरै राम्रो देखिएकोे छ । कुल प्रिमियम आम्दानी लगायत धेरै सूचकांकका सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । बैद्यवारले आगामी चार वर्ष सो कम्पनी हाँक्ने अख्तियारी पाएका छन् ।