विकासन्युज

हिमालयन बैंकको थप पाँच शाखा सञ्चालनमा, शाखा संख्या ४७ पुग्यो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोवार शुरु गरेको छ । गत साउन २७ गतेदेखि नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।

चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलदै गर्दा फेरी डेंगु रोग देखियो

चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताए । कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् । यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिए । स्क्रब टाइफस र डेंगुको लक्षण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ । जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरेका छन् । रासस

मञ्जुश्री फाइनान्सले ल्यायो १३ प्रतिशत ब्याज दिने विशेष योजना

काठमाडौं ।मञ्जुश्री फाइनान्स लिमिटेडले १३ प्रतिशत ब्याज दिने गरी स्पेशल डिपोजिट अफर ल्याएको छ । फाइनान्सले न्युनतम ६ देखि बढीमा १३ महिनासम्मका लागि मुद्धति निक्षेप योजना ल्याएको हो । निश्चित अवधिका लागि यो योजना ल्याएको फाइनान्सले जनाएको छ ।  

सिन्धुलीबाट महोत्तरीलाई ६ लाखको राहत सामग्री प्रदान

गौशाला । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरी जिल्लाका बाढीपीडितका लागि ६ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका राजनीतिक दल, विभिन्न संघसंस्था, उद्योगी व्यापारी एवं रेडक्रस सिन्धुलीको सहयोगमा शनिबार जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरीका बाढीपीडितका लागि ६ लाख मूल्य बराबरको राहत सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष दिवेश श्रेष्ठ, रेडक्रस सभापति अशोक श्रेष्ठ, माओवादी केन्द्रका नेता राजन दाहाल, काँग्रेस नेता मानिक ढकाल, एमाले नेता प्रदीप कट्वाल र महिला नेत्री गंगा दाहालसहितको टोलीले महोत्तरीको सदरमुकाम जलेश्वरमा आएर जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सो राहत हस्तान्तरण गरेका हुन् । उनीहरुले महोत्तरीका बाढीपीडितका लागि चामल ३०० बोरा, दाल ३० बोरा, नून १० बोरा, चिउरा तीन बोरा, भुजा दुई बोरा, तेल ३० कार्टुन, चाउचाउ १८ कार्टुन, प्लाष्टिकको बाल्टिन ३०० वटा, थाल २६ थान, डाडु दुई थान, सुकुल तीन थान, अन्य लत्ताकपडा र जुत्ताचप्पल हस्तान्तरण गरे । त्यस्तै रेडक्रस सिन्धुलीले थप १०५ थान त्रिपाल र स्थानीय बासिन्दाले केही राहत सामग्री संकलन गरेर १ लाख मूल्य बराबरको सरसामान पनि महोत्तरी पठाएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति महोत्तरीका तर्फबाट प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी हेमबहादुर कार्कीले सो राहत प्राप्त गरेका छन्। रासस

मध्यपश्चिमका बाढी प्रभावित चार जिल्लालाई राहत वितरण

नेपालगन्ज । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ । जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प्रकोप उद्धार समितिमार्पmत नगद, चामल, दाल, नून, तेल, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको छ । यसका साथै घर भत्केका परिवारका सदस्यलाई सुरक्षित स्थानमा शिविर खडागरी बसोबास समेत मिलाइएको र सो स्थानमा महिलामाथि हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षाकर्मीसमेत परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका कलस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। यसका यस क्षेत्रमा क्रियाशील सामाजिक तथा पेशागत संघ, संगठनले पनि बाढीपीडितका लागि संकलन गरेको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउँदै आएको पाइन्छ । केही सामाजिक संस्था भने आफैँ बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् ।  

कैलाश विकास बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने

काठमाडौं । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । याे समयमा बैंकले  बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने याेजना ल्याएकाे छ । बैंकले बजार मूल्यकाे ५० प्रतिशत सम्म एक वर्षाकाे कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ ।    

सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दे

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन लगायत अन्य वित्तीय विवरण पारित गर्न सूर्याले भदौ २७ गते नवौ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिले पारित गरेपछि चुक्तापुँजी निश्कासन गर्ने तयारी सूर्याको छ । आर्थिक वर्ष ०७२/०७३ को नाफाबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत अर्थात ६ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीको चुक्तापुँजी ६५ करोड ६२ लाख ५० हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी ७२ करोड रुपैयाँ पुग्ने छ । सूर्या  गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ ।  जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ । बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ  ।  

सनराईज बैंकले २० जना कृषि प्राविधिकलाई नियुत्त गर्ने, आइतबार भर्ना खुलायो

काठमाडौं । सनराईज बैंकले कृषि क्षेत्रको आर्थिक तथा व्यवसायिक प्रवद्र्धन गर्न लगानी विस्तार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न दिएको निर्देशनअनुसार सनराईजले अधिकृत स्तरका कृषि कर्जा साहयकलाई नियुक्त गर्ने भएको छ । बैंकले आइतबार २० जना कृषि कर्जा साहयकलाई रोजगारी दिन भर्ना खुलाएको छ । राष्ट्र बैंकले कुल कर्जाको कृषिमा न्युनतम १० प्रतिशत लगानी हुनुपर्ने निर्देशन जारी गरेपछि बैंकले कृषिमा लगानी विस्तार गर्न नयाँ कृषि अधिकृत नियुक्त गर्न भर्ना खुलाएको बैंकले जनाएको छ । प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मलाई पदास्थापन गर्ने बैंकको योजना छ । कृषिको प्राविधिक ज्ञान र कृषि कर्जाको अनुभव भएकाले दरखास्त हाल्न सक्ने छन् । भदौ १८ गते भित्र निवेदन दिने बैंकले भनेको छ । बैंकले देशभर ७० वटा शाखा कार्यलयबाट बैंकिङ सेवा दिदै आएको छ । गत वर्ष बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ ।