विकासन्युज

हकप्रद र बोनसबाट एनबी इन्सुरेन्सले एक अर्ब पूँजी पुर्याउने

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले हकप्रद र बोनसबाट आगामी असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउने निर्णय गरेको छ । उक्त निर्णय असार ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय अनुसार इन्सुरेन्सले आर्थिक वर्ष २०७४/२०७५ को अन्तिमसम्ममा ८० प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस सेयर वितरण गरेर कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ । हाल इन्सुरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालै जारी गर्दै रहेको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ । उक्त पूँजीमा कम्पनीले फेरी ८० प्रतिशत(१०ः८०) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने उक्त पूँजीमा कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले ४ करोड ८६ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । सो मात्राको बोनस वितरण पश्चात कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

३७ वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमतिपत्र, हेरौँ क-कसले पाए ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आव २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ । गत आवको प्रारम्भमा बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको १४.७० मेगावाट क्षमताको पलाँखु खोला जलविद्युत् आयोजनालाई अनुमतिपत्र प्रदान गरेको थियो भने सो आवको अन्तिममा गत जेठ अन्तिम साता बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको ६.६ मेगावाट क्षमताको रुदी खोला बी जलविद्युत् परियोजनालाई अनुमतिपत्र दिएको थियो । अनुमतिपत्र दिइएका आयोजनामध्ये सबैभन्दा ठूलो परियोजना ४०० मेगावाट क्षमताको गाली गण्डकी कोबाङ रहेको छ । मुस्ताङमा आयोजना स्थल रहेको सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले निर्माण गर्नेछ । माथिल्लो वलेफी ३६ मेगावाट, लिपिङ खोला १६ मेगावाट, माथिल्लो सोलु खोला १८ मेगावाट, मकरी गाड १० मेगावाटले पनि निर्माणको अनुमतिपत्र प्राप्त गरेका छन् । यस्तै सिद्धकाली हाइड्रोपावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी, सिन्धुज्वाला हाइड्रोपावर प्रवद्र्धक रहेको ४३ मेगावाटको नेशम खोला, ३७ मेगावाटको राहुघाट मंगाले, १० मेगावाटको माडी भोर्लेटार र ८ मेगावाटको अपर नौगाडले पनि अनुमतिपत्र पाएका छन् । विभागका अनुसार ४८ मेगावाटको खिम्ती दोस्रो, १२ मेगावाटको रुरु, ५२ मेगावाटको माथिल्लो लाप्चे खोला, ४३ मेगावाटको आँखु खोला, सात मेगावाटको दरमखोला, १५ मेगावाटको सवाखोला, २३ मेगावाटको बलेफी, ४४ मेगावाटको सुपर मादी र ५४ मेगावाटको मध्य तमोर पनि निर्माण अनुमतिपत्र प्राप्त गरेका छन् । अनुमतिपत्र लिएका केही आयोजना निर्माणको चरणमा र कतिपयले वित्तीय व्यवस्थापन गरेर निर्माण शुरु गर्ने तयारीमा रहेका विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । तीमध्ये १३५ मेगावाट क्षमताका १४ आयोजना आव २०७३/७४ मा सम्पन्न भएका थिए । चालु आवमा प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया निर्माण सम्पन्न हुने छ । निजी क्षेत्रमा नदी प्रवाहमा आधारित करिब ३०० मेगावाट बराबरका आयोजना पनि सम्पन्न हुने छन् । तर हिउँदमा ती आयोजनाबाट उत्पादन हुने विद्युत्को मात्रा न्यून रहने छ । सरकारको बास्केटमा हालसम्म १२८ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता चार हजार २१ मेगावाट छ । सरकारले एक हजार २४८ मेगावाट क्षमताका आयोजनाको अध्ययन सम्पन्न गरेको जनाएको छ भने सात हजार १३६ मेगावाट क्षमताका ५५ आयोजना अध्ययनको चरणमा छन् । रासस

जीवन बीमा कम्पनीको बजार २० प्रतिशतले बढ्यो, नेपाल लाइफको बजार हिस्सा ३१ प्रतिशत(सूचिसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बजार २० प्रतिशतले बढेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २० प्रतिशतले बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम(बीमा शुल्क) संकलन गरेका हुन् । यीनै कम्पनीहरुले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम मात्रै संकलन गर्न सकेका थिए । ९ वटा बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १२ अर्ब प्रिमिय संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशत बढि प्रिमियम संकलन गरेको हो । कुल प्रिमियममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै हिस्सा ३१ प्रतिशत ओगट्न सफल भएको हो । धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा दोश्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । यो कम्पनीले ८ अर्ब ८० करोड रुपैंयाँ प्रिमियम संकलन गरेको हो । यसले आफ्नो बजार २५ प्रतिशतले वृद्धि गरेको देखिन्छ । त्यस्तै, तेश्रो धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा नेशनल लाइफ इन्स्योरेन्स स्थापित भएको छ, जसले ४ अर्ब ९५ करोड प्रिमियम संकलन गरेको हो । नेशलन लाइफ इन्स्योरेन्सक कम्पनीले आफ्नो बजार हिस्सा २९ प्रतिशतले बढाएको देखिन्छ । जीवन बीमा कम्पनीहरुले आफ्नो बजारलाई ८ प्रतिशतदेखि २९ प्रतिशतसम्म विस्तार गर्न सफल भएका छन् । राष्ट्रिय बीमा संस्थानको बजार ८ प्रतिशतले बढेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २९ प्रतिशतले बजार बढाएको छ ।

बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा

काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् । यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ । अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।  

ग्लोबल आइएमई क्यापिटलमा खाता खोल्नेलाई एक लाखको दुर्घटना बीमा सित्तैमा

काठमाडौं । ग्लोबल आइएमई क्यापीटलले नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्ने भएको छ । यस योजना अन्तर्गत क्यापीटलले नयाँ खाता खोल्ने र खाता नविकरण गर्ने ग्राहकलाई १ लाख रुपैयाँको दुर्घटना बीमा सित्तैमा गरिदिने भएको छ । यो योजना साउन ८ गते देखि खोलिने खाताहरुमा लागु हुनेछ । सोको लागि ग्लोबल आइएमई क्यापीटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमा खोलिने सम्पूर्ण हितग्राही खाताहरुमा निम्न बमोजिम लागू हुने क्यापिटलले जनाएको छ । यस क्यापीटलले मर्चेन्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई क्यापीटलले मर्चेन्ट बैंकिङ्गका सेवाहरु निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिस्ट्रार, अण्डर राईटी, निक्षेप सदस्य, पोर्टफोलियो व्यवस्थापन र योजना ब्यवस्थापक अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्दै आएको छ ।

घर जग्गाबाट करिब २१ करोड राजस्व, अनलाइन सेवाका कारण राजस्वमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड ७५ लाख राजस्व असुली भएको छ । संकलित राजस्व लक्ष्यको तुलनामा ३७ प्रतिशतले बढी हो । सरकारले गएको आवमा १४ अर्ब ४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले एलआरआईएमएस अनलाइन प्रणाली लागू गरेपछि राजस्वमा उच्चतम वृद्धि भएको विभागका निर्देशक शुशील प्रसाद आचार्यले बताए । नगरपालिका थपिएको, पुँजीगत लाभकरमा अनुसन्धान गरी यथार्थ कारोबार गर्नलाई प्रोत्साहन तथा अनुगमन गरेकाले राजस्वमा वृद्धि हुँदै गएको हो । हाल नेपालमा २ सय १७ वटा नगरपालिका रहेको छ । सरकारले गत वर्ष नगरपालिका विस्तार गरेको हो । एलआरआईएमएस अनलाइन प्रणाली हाल उपत्यकाका सबै मालपोत कार्यालयका साथै अन्य कार्यालयमा लागू भएको छ । विभागले चालू आवमा ३९ वटा मालपोत कार्यालयमा सो सेवा विस्तार गर्ने रणनीति बनाएको छ । ‘प्रणाली सञ्चालनमा आएपछि करछली क्रियाकलापमा न्यूनिकरण आएको छ,’ उनले भने । गएको वर्ष संकलित राजस्व अघिल्लो वर्षको भन्दा करिब ६० प्रतिशत बढी हो । अघिल्लो वर्ष विभागले १३ अर्ब ७ करोड ६७ लाख राजस्व संकलन गरेको थियो । विभागले घरजग्गा दस्तुर, जग्गाको मोल, राफराफ तथा पूर्जा विक्री , फूटकर दण्ड  जरिवाना तथा रोक्का शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये सबैभन्दा बढी घरजग्गा दस्तुरबाट बढी राजस्व संकलन भएको छ । गएको वर्ष सरकारले सो शीर्षकबाट १९ खर्ब ३१ करोड राजस्व असुुली गरेको छ । अघिल्लाे वर्ष उक्त शीर्षकबाट ११ अर्ब ९३ करोड राजस्व असुली गरेको थियो ।

मुसाका छाउरा नछिर्ने दरबारमा २४ लाख नागरिकले पाइला टेके, राज्य कोषमा आयो २१ करोड

काठमाडौं । “कस्ता–कस्ता कहाँ गए मुसाका छाउरा दरबार” भन्ने उखान नेपाली जनजिब्रोमा अझै लोकप्रिय छ । तर लोकतान्त्रिक गणतन्त्रले त्यहि दरबारमा सर्वसाधारणको सहज पहुँच स्थापित गरिदिएको छ । एक दशक अघिसम्म सर्वसाधारणका लागि सपनाको बिषय बन्ने नारायणहिटी दरबारमा आज नागरिक सहजै जान पाउँछन र घुम्न पाउँछन् । दशक अघिसमम्म नागरिकले दरबारभित्र पाइला टेक्न दशैंको टिका कुर्नै पर्ने दरबारमा अहिले दैनिक हजारौं नेपालीले निर्वाध अवलोकन गरिरहेका हुन्छन् । जसरी १० बर्षमा बागमति नदिमा धेरै पानी बग्यो ठिक त्यसरी नै कुनै समय नागरिकको स्वैर कल्पनामा सिमित नारायणहिटी दरबारमा जनताको ठुलै पंक्तिले अवलोकन गरिसकेको छ । बि.सं २०६५फागुन १६ गतेदेखि नागरिकका लागि एकादेशको कथाकै रुपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालय बनाएर खुल्ला गरिएको थियो । ९ बर्षमा नारायणहिटी संग्रहालयको २४ लाख ९५ हजार ९ सय ५१ नागरीकले अवलोकन भ्रमण गरिसकेका छन् । र यो सबै लोकतान्त्रिक गाणतन्त्रले मात्रै सम्भव भएको हो । बि.सं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको ६ वर्ष पछि वि.सं २०६५ सालबाट सर्वसाधारणको लागि खुल्ला गरिएको हो । उक्त संग्रालय सामान्य खालको संग्रहालय मात्र नभएर शाह वंशको घर पनि हो । अन्य संग्रहालय भन्दा बिलकुलै फरक किसिमको तथा धेरै तथ्य लुकेको संग्रहालय हो । नारायणहिटीमा प्रवेश गर्दा नेपालीहरुले १ सय रुपैयाँको टिकट काट्नु पर्छ भने विद्यार्थीहरुले २० रुपैयाँमा प्रवेश गर्न पाउने व्यवस्था छ । त्यसैगरी सार्क राष्ट्रका पर्यटकहरुले २ सय ५० रुपैंयाँ तिनुपर्ने हुन्छ भने अन्य राष्ट्रका नागरिकले ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, ३ वर्ष मुनिका बालबालीकालाई भने निःशुल्क प्रवेशको सुबिधा छ । संग्रहालयमा जान पाउने कल्पना पनि गर्न नसकिने पहिलाको अवस्थालाई पार गर्दै अहिले संग्रहालयमा प्रवेश गर्न पाउने व्यवस्था आउँदा अचम्म पनि लाग्ने गरेको बताउँछन् अवलोकनकर्ता । नारायणहिटी दरबारमा ५२ वटा कोठा भएता पनि सर्वसाधारणको लागी १९ वटा कोठा मात्र खुल्ला गरिएको छ । त्यस बाहेक बगैँचा र त्रिभुवन सदनको अतिरिक्त अवलोकन पनि गर्न पाइन्छ । संग्रहालयमा जिल्लाको नाम अनुसार कोठाको वर्णन गरिएको छ ।तत्कालिन राजपरिवार सदस्यहरुले मन पराएका जिल्ला र ठाउँहरुका आधारमा कोठाहरुको नामाकरण गरिएको थियो र हाल पनि सोही अनुसारको व्यस्था कायम छ । नेपालको तत्कालिन राज परिवारको जीवनशैली तथा रहनसहनको बारेमा बुझ्न पनि नारायणहिटी संग्रहालयको भ्रमण अनिवार्य हुन आउँछ । दरबारको कोठाहरु निकै नै आकर्षक ढङ्गले सजाइएता पनि भत्किएका पुर्वाधारहरु भने बनाउन सरकारले पैसा खर्च गर्न नसकेको बताउँछन् नारायणहिटी संग्रहालयका उपसचिव रोहित कुमार ढुङ्गाना । उनको भनाई अनुसार भवन निर्माण गर्न सुरु गरेको धेरै समय बित्दा पनि निर्माण कार्य अधुरै रहेको छ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनकर्ता बढ्नुको साथै देशको आर्थिक अवस्थामा पनि सुधार आएको देख्न सकिन्छ तर रकमको परिचालन भने निर्माण कार्यमा लगानी हुन सकेको देखिँदैन । उक्त संग्रहालयमा टिकट बिक्रीबाट २० करोड ९९ लाख २८ हजार ९ सय ९० रुपैयाँ बराबरको रकम उठ्ने गरेको छ भने पार्कीङ्गबाट १३ लाख ४८ हजार ३ सय ३० रुपैँया उठ्ने गरेको छ । वि.सं २०६६ साल देखि देखि २०७३ असार मसान्तसम्ममा जम्मा रकम २१ करोड १२ लाख ७७ हजार ३ सय २० रुपैयाँ उठिसकेकोे देखिन्छ । दरबारमा खुल्ला गरिएको सि.सं २०६५ सालको समय देखि वि.सं २०७४ असार मसन्तसम्ममा अन्य मुलुकका पर्यटक ५८ हजार ९ सय ६७ , सार्क मुलुकका दर्शक १ लाख ४२ हजार ३ सय ६३ रहेका छन् त्यसै गरी नेपाली सर्वसाधारण २२ लाख ९४ हजार ६ सय २१ ले अवलोकन गरेका छन् । कसैले कल्पना नै नगरेको दरबार छिर्न पाउँदा सर्वसाधारण दंग छन् । पहिलाको समयमा दशैँमा मात्र राजाको हातबाट टीका थाप्न जान पाइने दरबारमा अहिले जुनसुकै समयमा पनि सबै मानिस भित्र छिरेर घुम्न पाउँदा आफुलाई गौरवाम्वित महसुस गरेको सर्वसाधारण बताउँछन् । राजाको पालाका पुर्व सई शिवहरी कार्कीले अवलोकनको क्रममा संग्रहालयका वस्तुहरु हराउँदै गएको बताए । जसमा बाघको जुँगा, गैँडा, माछा, बाघको नङ्ग्राहरु तथा बङ्गाराहरु हराएको बताएका छन् । त्यसैगरी, नारायणहिटी भारतका नागरिक भवेस कुमारले नारायणहिटी दरबारको संग्रहालय हेर्दा राज परिवारको शयन कक्ष, बैठक कोठा लगायतका कोठाहरु देख्न पाउँदा खुसि व्यक्त गरे । त्यसैगरी राजदरबारका पुर्व सिपाही जीत बहादुर चौँलागाईले दरबार फोहोर बन्दै गएको हुनाले सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । एक जुगमा एक दिन आएको परिवर्तनले नारायणहिटी दरबारमा जनताको सहज पहुँच स्थापित गरिदिएको हो । अब यसको यथोचित संरक्षण गरेर इतिहास बताउने र अर्थोेपार्जनका लागि पनि उत्तम विकल्पका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ ।        

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा झापाको गौरादहमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अाफ्नाे नयाँ उपशाखा झापा जिल्लाको गौरादहमा संचालन गरेको छ । इन्स्योरेन्सले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले सो स्थानमा नयाँ शाखा स्थापना गरेको हो । सो शाखाको औपचारिक उद्घाटन बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् । उक्त कार्यक्रममा कार्कीले उपशाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताएका छन् । साथै, उनले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताएका छन् । नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिँदै आएको छ । साथै, उनले चालु आ.व. भित्र मुलुकको ७५ वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताए । यसैगरि, उनले कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने बताए । कम्पनीले गत आ.व.२०७३।०७४ मा कुल बिमा शुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ, जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ हासिल गर्न सफल भएको छ । सो अवधिमा कम्पनीले कुल लगानी करिब ४७ अर्ब रुपैयाँभन्दा बढि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।