विकासन्युज

१२ लाख २२ हजार रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न

पोखरा । पोखरा लेखनाथ महानगरपालिका-१७ स्थित छोरेपाटनमा रु १२ लाख २२ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । व्यवस्थापिका-संसद् विकास समितिका सभापति एवं कास्की निर्वाचन क्षेत्र नं ३ का सभासद् रवीन्द्र अधिकारीमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपैयाँ र बाँकी स्थानीय जनश्रमदान परिचालन गरी सो खानेपानी योजनाको निर्माण सम्पन्न भएको हो । पोखरा–२२ पुम्दीभुम्दीस्थित वेदगैराको स्रोतबाट लगभग चार किमी लम्बाइको साढे एक इन्ची प्लास्टिकको पाइप विस्तार गरी ल्याइएको उक्त योजनाबाट विभिन्न टोलमा नौवटा सार्वजनिक धारा जडान गरेर खानेपानी सुविधा पुर्याइएको नमूनाटोल, शीतलपथ तथा अमलेमार्ग खानेपानी उपभोक्ता समितिका सल्लाहकार दानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार रानीवन क्षेत्रमा रु ३५ लाखको लागतमा एक लाख २० हजार लिटर क्षमताको पानीट्यांकी निर्माण गरी छोरेपाटनस्थित सिद्धार्थ राजमार्गको उत्तरी भेगका बासिन्दाको घरघरमा निजी धारा जडान गर्ने योजना रहेको छ । रासस

दुई कम्पनी मर्ज पश्चात लुम्बिनी विकास बैंकको कारोबार शुरु

काठमाडौं । दुई कम्पनी मर्ज पश्चात लुम्बिनी विकास बैंकले मंगलबारदेखि सेयर कारोबार शुरु गरेको छ । यस बैंकले भिबोर सोसाइटी बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी मर्ज गरे पश्चात सेयर कारोबार शुरु गरेको हो ।

लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको सो मात्राको सेयर मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । सेयर सूचिकृत भएपश्चात कम्पनीले सेयर कारोबार शुरु गर्ने छ ।

श्रीखण्डको व्यावसायिक खेती

डडेल्धुरा । जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए । उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन् । “जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,” उनले भने । नर्सरीमा ५०० बिरुवा उमार्नुभएका जोशीले प्रतिबिरुवा रु ३०० का दरले बिक्री गर्न थालेका छन् । उनले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गरेका हुन् । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ । श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय भएका छन् । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् । “बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,” अजयमेरुकी राजेश्वरी भट्टले भनिन् । श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ । रासस

विशालबजारको वार्षिक साधारणसभा साउन ३१ गते, साउन १० गतेदेखि बुक क्लोज

काठमाडौं । विशालबजार कम्पनीको ३४औँ वार्षिक साधारणसभा आगामी साउन ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन १० गतेदेखि साउन ३१ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त सभा सम्बन्धि निर्णय साउन ९ गते बसेको कम्पनीको १३०४औँ बैठकले गरेको हो । कम्पनीको सभा काठमाडौंको प्रदशनी मार्ग, भृकुटी मण्डपमा हुने भएको छ । सभामा कम्पनीको अध्यक्षबाट प्रस्तुत हुने संचालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीको आर्थिक वर्ष २०७०/२०७१ र २०७१/२०७२ को वासलात, आय विवरण, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ३ करोड ९६ लाख कित्ता सेयर नेपाल सरकारको अर्थ मन्त्रालयका नाममा कायम गर्ने प्रयोजनका लागि कम्पनीको अधिकृत पुँजी चार अर्ब एक करोड रुपैयाँ कायम गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । साथै, सोही अनुरुप जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने कम्पनीले जनाएको छ । साभाले हालै कम्पनीमा नियुक्त भएका चार्टर्ड एकाउन्टेन्ट पूर्णेश्वर श्रेष्ठको नियुक्तिलाई अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

भूकम्पपीडितलाई रकम वितरण

खोटाङ । भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा रु ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल आठ हजार ४४३ लाभग्राही रहेको यो जिल्लामा पुरानो संरचनाअनुसार दुर्छिम र चिप्रिङ गाविसबाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो । तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजनाका निर्देशक ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । “उनीहरुको हकमा सच्याउने काम भइरहेको छ,” उनले भने – “प्राविधिक कुरा मिल्नासाथ वितरण गरिन्छ ।” पहिलो किस्ता बापतको रकम आगामी कात्तिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौँ र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको बताइएको छ । कम प्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबी समेत गरिएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन सकेको छैन । रासस

सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता ६०३ रुपैयाँ

काठमाडौं । मंगलबार सानिमा माई हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको शतप्रतिशत(१००%) हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६०३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ ।

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३/७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उनले बताए । मृत्यु हुनेमध्ये तीनजना चितवनका र एकजना तनहुँका थिए । गत असार महिनामा मात्रै १३७ जनाको रगत परीक्षण गर्दा पाँचजनामा यो रोगको संक्रमण देखिएको थियो भने अघिल्लो वर्षको सोहि अवधिमा ३१ जनामा यसको संक्रमण देखिएको थियो । आव २०७२/७३ मा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको थियो । साउन महिना लागेपछि संक्रमण बढ्दो छ । गत एक सातामा १३ जनामा रोगको संक्रमण देखिएको केसीले बताए । भरतपुर अस्पतालमा आठजना, नारायणी सामुदायिकमा चारजना र बकुलहर अस्पतालमा एकजनामा संक्रमण देखिएको हो । ती अस्पतालमा ५४ जनाको रगत परीक्षण गरिएको थियो । यसैबीच जिल्लामा स्क्रब टाइफस रोग पत्ता लगाउन गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । केसीका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिएको छ । माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको संक्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने हुन्छ । यसको नियन्त्रणका लागि विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग संक्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजय झाले जानकारी दिए । रासस