विकासन्युज

नेपाल टेलिकमद्धारा ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक/एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।

कर फछ्र्योट ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन, बाँकी असुल गर्न ९ सदस्यीय समिति गठन

काठमाडौं । अर्थसमितिले कर फछ्र्योट ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त ऐनका आधारमा सरकारले बारम्बार कर फछ्र्योट आयोग गठन गर्ने र राज्यलाई अर्बौ नोक्सानी गर्ने काम गरेको निष्कर्षसहित समितिले सरकारलाई उक्त ऐन खारेज गर्न निर्देशन दिएको हो । राजाले प्रत्यक्ष शासन गरेको पञ्चायती कालमा बनेको उक्त ऐन व्यवसायमा लागेको राजपरिवारका सदस्य, नातेदार, राजालाई खुशी बनाएर राजश्व नतिरी व्यापार गर्ने व्यापारी, प्रधानमन्त्री तथा मन्त्रीको आडमा कर नतिरी व्यापार गर्नेहरुलाई निश्चित अवधिपछि कर माफी दिने उदेश्यले २०३३ सालमा कर फछ्र्योट ऐन बनेको थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि पनि सोही ऐनको प्रयोग गर्दै सरकारले पटक पटक कर फछ्र्योट आयोग गठन गरि कर मिनाहा गर्दै आएका थिए । पटक पटक अर्थमन्त्री भएका डा रामशरण महतले यो ऐनको सबैभन्दा धेरै प्रयोग गरी राज्यलाई ठूलो क्षति गराएका थिए । पछिल्लो समय उनले नै गठन गरेको कर फछ्र्योट आयोगले ठूला र शक्ति केन्द्रमा प्रभाव पार्ने कम्पनीहरुलाई करिव २१ अर्ब रुपैयाँ कर छुट दिने निर्णय गरेको थियो । उक्त निर्णय विवादमा परेपछि सो आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल  फरार छन् भने सदस्य सचिव चूणामणि शर्मालाई अन्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा हालेको छ । शर्मा विगत ढेड महिनादेखि जेलमा थुनिएका छन् । अर्थसमितिले विवादीत कर बक्यौता असुली गर्न संसाद्हरु रहेको ९ सदस्यीय राजश्व छली तथा कर असुली उपसमिति गठन गरेको छ । त्यसमा गौरा प्रसाई, दिपक कुईकेल, रत्न शेरचन, सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, जगदीश्वर नरसिंह केसी, शक्ति बस्नेत, श्रीकान्ति पासी र श्रीप्रसाद जबेगु सदस्य रहेका छन् । समितिले २ महिना भित्र अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ । समितिका सभापति प्रकाश ज्वालाले आयकर ऐन २०५८ लागु भएपछि गठन भएका तीन वटै कर फछ्र्याेट आयोगका काम कारवाहीको अध्ययन गर्न उप समिति गठन गरिएको बताए । कर फर्छ्योट आयोगको कर्तुत : देशको ढुकुटीमाथि महाअपराध, कसले कति कर छुट पाए ? सूचिसहित

अग्नि ग्रुपको नयाँ क्षेत्रीय कार्यालय ईटहरीमा, शोरुम तथा सर्भिस सेन्टरको स्थापना

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जकाटु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ईटहरी स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा दिने कम्पनीको प्रतिवद्धता रहेको छ । शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले साउन २ गते गरेका छन् । अर्जुन शर्माले “कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा” उल्लेख गरेका छन् । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

सेयर बजारमा हरियाली, नेप्सेले नाघ्योे १६०० अंक

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७४/७५ शुरु भएको भोलिपल्टको सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से दोहोरो अंकले बढेर १६०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक २० दशमलब ५८ अंकले बढेर १६०६ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको सेयर बजारमा ६९ करोड ४३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको छ । सोमबारको बजारमा १५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सोमबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, उत्पादनमूलक, होटल र बैंकिङ समूहको परिसूचक क्रमशः २९, २७, २६ र २१ अंकले उकालो लागेका छन् ।

सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढ्यो

काठमाडौं । सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ । विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायत लगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती सेवनमा उल्लेख्य मात्रामा कमी आएको तथ्य बाहिर आएको छ । ती वर्गका नयाँ पुस्ता अर्थात् युवामा सुर्तीजन्य पदार्थको पहुँच कम हुँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको प्रतिवेदनले जनाएको छ । अमेरिकन क्यान्सर सोसाइटीका आर्थिक र स्वास्थ्य नीति अनुसन्धान विभागका उपाध्यक्ष जेफ्री ड्रपीले भने, “सुर्तीजन्य पदार्थमा १० प्रतिशतमात्र कर वृद्धि गर्दा यसको उपभोगमा चारदेखि आठ प्रतिशतसम्म घटेको देखियो ।” अध्ययनमा समेत संलग्न रहेका अनुसन्धानकर्ता ड्रपीले सुर्तीजन्य पदार्थमा करको दायरा बढाउँदा स्वास्थ्यको समग्र बजेटमा वृद्धि भएको देखिएको जानकारी दिए । पछिल्लो समय नसर्ने रोगअन्तर्गत सुर्तीजन्य पदार्थ सेवन आफैँमा मा गम्भीर रोगका रुपमा विकसित हुँदै गएको छ । यसको सेवनले शरीरका प्रत्येक कोषमा असर पुर्याउँछ । क्यान्सर, रक्तचाप, क्षयरोग, निमोनिया, मस्तिष्काघात, हृदयघात जस्ता रोगका प्रमुख कारक तत्वका रुपमा सुर्तीजन्य पदार्थ विकसित भइराखेको छ । उपाध्यक्ष ड्रपीले जनस्वास्थ्यको प्रमुख समस्या एवं विभिन्न रोगको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ सेवन नै देखिएको जानकारी दिए। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका लागि विश्वभर काम गर्दै आएको सिंगापुरस्थित दी युनियनले विश्व स्वास्थ्य सङ्गठनसित मिलेर गरेको अध्ययन अनुसार नेपालमा प्रत्येक दिन ४२ देखि ६८ जना तथा वर्षमा १६ हजार देखि २५ हजार जनासम्मको अकालमा मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ सेवन नै भइराखेको देखिएको थियो । दी युनियनका उपक्षेत्रीय निर्देशक प्रा डा तारासिंह बम निम्न तथा मध्यम वर्गमा सूक्ष्म मृत्यु साइलेन्ट किलरका रुपमा सुर्तीजन्य पदार्थ सेवन विकसित भइराखेको बताउँछन् । उनीप्रश्न गर्छन् -“क्यान्सर अस्पताल खोल्नुप¥यो भनेर बहस हुन्छ, रोग नै लाग्न नदिन किन नीति निर्माता र सरकारको ध्यान जाँदैन ।” तेइस वर्षमा पनि कर त बढेन, विनियोजित रकम पनि ‘फ्रिज’ अर्थमन्त्रालयले सन् १९९३ मा पहिलोपटक चुरोटको प्रतिखिल्लीमा एक पैसा थप कर लगाउन सुरु गरेको थियो । यसको प्रभावकारी कार्यान्वयन भएपछि पछिल्लो वर्ष दुई पैसा करको दायरा बढाएको थियो तर यसपछि हालसम्म करमा वृद्धि भएको छैन । अतिरिक्त करबाट स्वास्थ्य सेवा कर कोषमा वर्षेनी रु १२ अर्बभन्दा बढी रकम संकलन हुने गर्छ । संकलित रकममध्ये गत आवमा अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु ४० करोड मात्र विनियोजन गरेको थियो । सो रकममध्ये रु चार करोड खर्च हुन नसकेर ‘फ्रिज’ भएको थियो । “गैरसरकारी संस्थालाई जनचेतना जगाउनका लागि दिइने सो रकम कार्यविधि बन्न नसक्दा फ्रिज भएको हो, कार्यविधि अन्तिम चरणमा पुगेको छ, आगामी वर्ष रकम फ्रिज हुँदैन” – नव नियुक्त स्वास्थ्य सचिव डा किरण रेग्मीले भने । करबाट आएको ७५ प्रतिश रकम क्यान्सर रोग र बाँकी रकम हृदयघात लगायत अन्य रोगको उपचारका लागि मन्त्रालयले आफ्ना अस्पताललाई अनुदान दिने गर्छ । उनले भने – “चुरोटको खिल्लीमा लगाउने करमा वृद्धि गर्नुपर्छ । यसका लागि अब मन्त्रालयले गृहकार्य सुरु गर्ने छ । यसले निम्न तथा मध्यमवर्गीय परिवारका स्वास्थ्यमा सकारात्मक असर पार्ने छ, यो अध्ययनबाट पुष्टि भइसक्यो ।” सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले कानून पालना गरेनन् सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनका बाहिरी खोल र्यापिङ्मा ९० प्रतिशत नकारात्मक चित्र अंकित नगरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न नहुने बाध्यात्मक प्रावधान छ । स्वास्थ्य मन्त्रालयले लागू गरेको सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी नियमावलीको सो प्रावधानलाई अझै सूर्य नेपाल कम्पनीले पालना नगरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत ईश्वर कोइरालाका अनुसार नेपालमा तीन वटा मात्र चुरोट उत्पादन गर्ने उद्योग छन् । अन्तःशुल्क कार्यविधि, २०७० अनुसार त्यस्ता उद्योगले चुरोटका आकार र सुर्तीजन्य पदार्थ खैनी, गुट्खा, पानका ग्राम अनुसार उत्पादन इजाजत लिएका हुन्छन् । “हामीले सुर्तीजन्य पदार्थका उत्पादनमा स्टिकर लगाउनुपर्ने प्रावधानलाई कडाइ गरिएजस्तै र्यापिङलाई पनि कडाइ गर्छौं”- उनले भने । नेपालमा सुर्तीजन्य पदार्थको नकारात्मक असरका बारेमा लामो समयदेखि पैरवी गर्र्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द सुर्तीजन्य पदार्थमा करको दायरालाई ७० प्रतिशतसम्म पुर्याउनुपर्ने औँल्याउँछन् । उनी भन्छन् – “सुर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन सकिएमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।” विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य देशलाई सुर्तीजन्य पदार्थको करमा ७० प्रतिशत पु¥याउन सुझाव दिएको छ तर अहिलेसम्म नेपालले यस्तो करमा २८ प्रतिशतभन्दा माथि पुर्याउन सकेको छैन । चालू आवमा पनि सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र अन्तःशुल्क कर पुर्याएको छ । समन्वयको अभाव गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समन्वयको अभावमा सुर्तीजन्य पदार्थ सम्बन्धी ऐन-नियममा उल्लेखित प्रावधानको समेत प्रभावकारी कार्यान्वन हुन सकेको छैन् । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ तर अहिले पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइराखेको देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरी सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरका बारेमा थप जनचेतना जगाउन आवश्यक भएको बताउँछिन् । सांसद रामहरि खतिवडा भन्छन् – “सुर्तीजन्य पदार्थ सेवनले दैनिक ४२ देखि ६८ जनाको अकालमा मृत्यु हुने विषयलाई सरकार र राजनीतिक दलले संवेदनशील रुपमा लिनुपर्छ । समाधानको उपाय खोजी गरिनुपर्छ ।” रासस

नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ । शाह यसअघि  एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।

स्वदेशी लघुवित्तको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको सो मात्राको सेयर सूचिकृत गराएको हो ।

युनाईटेड फाइनान्सको थप ४ नयाँ शाखा विस्तार

काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडले आफ्नो थप ४ नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सले झापाको दमक र विर्तामोड, इलामको इलाम बजार र सुर्खेतको विरेन्द्रनगरमा गरी जम्मा ४ वटा शाखा संचालनमा ल्याएको हो । काठमाडौंको दरवारमार्गमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले यी ४ शाखाहरु विस्तार गरी शाखा सङ्ख्या १५ पुर्याएको छ ।