काठमाडाैका मेयरले सुरु गरे घरदैलो अभियान, बृद्धभत्तादेखि डाक्टर र नर्ससेवा घरघरमै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् । शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् । शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एकएक जना सहभागी छन् । महानगर पालिकाका अनुसार बिहीबार मेयर शाक्यले सात जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई जनही १२ हजार रुपैयाँ भत्ता पनि वितरण गरेका छन् । पहिलो चरणमा असार मसान्तभित्र महानगर अन्तर्गतग ८० वर्ष नाघेका ५ सय ९६ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य जाँच गराउने योजना मेयर शाक्यको छ । अन्नपूर्ण पोस्टबाट।
नेपालीलाई शरण दिन नकिने अमेरिकी अदालतका फैसला
न्यूयोर्क । अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट)ले यस्तो फैसला गरेको हो । अमेरिकामा राजनीतिक शरण (एसाइलम) सम्बन्धी मुद्दाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्छ । अदालती फैसला नजिरका रुपमा स्थापित हुन्छ । कान्तिपुर दैनिकबाट ।
साउदीले कामदार र गोठलाहरुकाे मानव अधिकार हनन गरेकाे कतारकाे अाराेप
काठमाडौं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले बताए । साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । साउदीमा भएका कतारीहरू आफ्नो मुलुक फर्किसकेका छन् । ‘साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन्,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूलाई कतारमा आउन नदिइएको छैन ।’ कतारमा ऊँट र बाख्रा पालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, उँmट, भेडाबाख्राको गोठ छ जसमा कतार पुगेका कामदारलाई उनीहरूले साउदीमा लिएर जाने गरेका छन् । साउदीले गत साता साउदी र कतारको सीमा आसपास भएका कामदार र ऊँटलाई भने डिपोर्ट गरिदिएको थियो । बोर्डरबाट निकै टाढा र भरुभूमिका भित्री भागहरूमा कार्यरत कामदार भने बिचल्लीमा छन् । ती कामदारलाई खानाको समेत अभाव भएको मुर्रीले जनाए । कान्तिपुर दैनिकबाट ।
आधा दर्जन च्यालन थप्दै डिसहोम, दशैंसम्ममा नयाँ च्यानल आइसक्ने
काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ । यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो । दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको डिसहोमका महाप्रवन्धक कल्याण अधिकारीकारीले जानकारी दिनुभयो । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो । सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ । यो कम्पनलिे भूभी, स्पोस्र्ट, इन्टरटेन्मेन्टे, म्युजीक च्यानल थपको आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । यसले बाँकी च्यानल भने संचानलको तयारी गर्दै अगाडि जाने जानकारी पनि दिएको छ । नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे टीभी च्यानलले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन लागेकाे बताएकाे छ । च्यानल सबै मनाेरन्जनात्मक हुने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
एकै दिन पाँच करोडको दही विक्री, एकैदिन साढे २ लाख लिटर बिक्यो
काठमाडौं । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ । असार १५ मा दहि र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । माग अघिक हुने गरेकोले ठूला उद्योगीलाई असार १५ भ्याइनभ्याइ हुने गरेको छ । असार १४ देखि नै आम उपभोक्ताले दहिको माग गर्ने गरेका छन् । माग बर्षेनी बढ्दै जाँदा कच्चा दूधको अभावमा माग पूरा गर्न गाह्रो परिरहेको उद्योगि व्यवसायीको भनाइ छ । अनौपचारिक रुमा भने दहिको कारोबार ६ करोड रुपैयाँ भन्दा बढीले भएका पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
सेयर बजारमा ब्रोकरको सिण्डिकेट, राज्यलले कर माग्दा बजार नै बन्द
काठमाडौं । नियमति कारोबारका लागि खुलेको सेयर बजारमा विहिबार भने कारोबार हुन सकेन । नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको हो । आन्तरिक राजस्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै बिहीबार शेयर कारोबार बन्द गरेका हुन् । आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयले कर उठाउने पत्र पठाएको विरोधमा नेपाल स्टक दलाल संघको बिहीबार बिहान आपतकालिन बैठक बसेको थियो । बैठकले धितोपत्र कारोबार उैन २०६४ मा उल्लेख नभएको मूल्य अभिवृद्धि कर सरकारले लगाउन ताकेता गरेकाले बिहीबार सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले ब्रोकर कमिशन मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न दिएको निर्देशनको अवज्ञा गर्दे कारोबार नै बन्द गरेका हुन । सरकारले भने १५ दिन भित्रै यस अघि नतिरेको सबै भ्याट र त्यसको जरिवाना, थप दस्तुरसहित तिर्न आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
चुणामणि शर्मासँग अख्तियारले माग्यो ३ अर्ब २ करोड धरौटी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन घर फरछ्यौट आयोगका सदस्य सविच तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मासँग ३ अर्ब २ करोड धरौटी मागेको छ । १२५ वटा फाइलको अध्ययन हुँदा ९ अर्ब १० करोड अनियमितता भएको देखिएको आयोगले जनाएको छ । तत्कालिन कर फरछ्यौट आयोगका तीन सदस्यलाई बराबर धरौटी मिलान गर्दा शर्माको भागमा ३ अर्ब २ करोड परेको हो । आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाल भने अझै परार छन् । शर्माले ३ अर्ब २ करोड रुपैंयाँ धरौटी बुझाएमा तारेखमा छोड्न सकिने आयोगले जनाएको छ । अख्तियारले शर्मालाई जेठ १९ गते पक्राउ गरी हिरासतमा राखेको छ ।
नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास
काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल-अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याएको सहयोगको सराहना पनि गरे । राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । रासस