एनएमबी बैंकद्धारा ट्राफिक व्यवस्थापनका लागि मानवरहित हवाई विमान प्रदान
काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरे । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ । महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयं सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिए । रासस
पुननिर्माणमा जगदम्बा सिमेन्टको हातेमालो
काठमाडौं, २९ पुस । जगदम्बा सिमेन्टले “आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माण कर्मी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोटमा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य पुन निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा कम्पनीका व्राण्ड मेनेजर जगन्नाथ दाहालका अनुसार यस्ता संदेशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुन निर्माणको यो महा-अभियानमा लागी पर्ने बताएका छन् । कार्यक्रमका सभापति रोशन पाठकले हरेक निर्माणकर्मीले जोड्ने ईट्टा, इट्टाले नै संरचनाको आयु निर्धारण गर्छ र संरचनाको दिगोपनले नै देश सम्मृद्ध हुने बताएका छन् । उक्त कार्यक्रममा २०० भन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैर–सरकारी संस्था उच्च पदस्त व्यक्तिहरुको सहभागीता रहेको थियो ।
एक करोडमा बन्दैछ रानीपोखरीको बालगोपालेश्वर मन्दिर, ६ करोड २९ लाखमा नयाँ स्वरुप
काठमाडौं, २९ पुस । पुरातत्व विभागले एक करोड खर्चेर रानी पोखरीको बालगोपालेश्वर मन्दिर बनाउने भएको छ । काठमाडौं महानगरपालिकासँग भएको पुर्व सम्झौता अनुसार विभागले एक करोडको लागतमा आधुनिक निर्माण सामग्रीको प्रयोग बिनै बालगोपालेश्वर मन्दिर निर्माण गर्न लागेको हो । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेका अनुसार विभागले यसै साता ठेक्का आव्हान गर्दैछ । ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेकोे छ, यहि साता ठेक्का निकाल्छौं’, विभागका सिडिई घिमिरेले भने । काठमाडौं महानगरपालिकाले यस अघि नै ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुर्ननिर्माण अघि बढाएको थियो । तर सिमेन्ट, छड र नयाँ निर्माण सामग्री प्रयोग गरेको भन्दै युनेस्कोले आपक्ति जनाएको थियो । युनेस्कोको आपक्ति पछि बालगोपालेश्वर मन्दिर भने पुरातत्व विभाग आफैंले बनाउन लागेको हो । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं ।’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।
सेवाग्राहीलाई साझा यातायातमा बीस प्रतिशत छुट, शनिबारदेखि लागू हुने
काठमाडौँ, २९ पुस । साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमाडौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो । सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौंदेखि वीरगन्जसम्म यसअघिको ४९० रुपैयाँ बाट घटाएर ३९२ रुपैयाँ, भैरहवाको ५१० रुपैयाँ ट ४०८ रुपैयाँ र पोखराको ३९० रुपैयाँबाट ३१२ रुपैयाँ कायम गरिएको छ । साझाले २०७० वैशाखदेखि १६ वटा र २०७३ मङ्सिर १२ गतेदेखि ३० वटासमेत गरी ४६ वटा बसमार्फत काठमाडौं उपत्यकामा सेवा पुर्याउँदै आएको जनाएको छ । साथै साझाले दसैँको अवसरमा गत असोज १६ गतेबाट उपत्यका बाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौंदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणवस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ । साझाले उपत्यका बाहिरका चार रुटमा आठवटा बस सञ्चालन गर्दै आएको थियो । आगामी दिनमा सेवा विस्तार गरी सुविधा सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ । रासस
नेप्से परिसूचक ३२ अंकले वृद्धि, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार
काठमाडौं, २९ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलब ४१ अंकले बढेर अन्तिम दिन १४७९.८६ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएता पनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । साताभर जम्मा एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १४८ कम्पनीको एक करोड ३३ हजार सात सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । प्रतिशतका आधारमा उक्त कारोबार रकम गत साताको भन्दा १९ दशमलब ७४ प्रतिशत कम हो । गत साता १४७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८,५५१ कारोबारबाट दुई अर्ब १६ करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरका ४५ लाख ४९ हजार एक सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । बजारमा होटल र विकास बैंक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ दशमलब ६७ अंकले उकालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक, जलविद्युत र वित्त समूहको परिसूचक क्रमशः ३८.२३, २८.४९ र २५.६२ अंकले उकालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ४१ र ०.२६ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहका परिसूचक भने सामान्य अंकले बढेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७.३४ अंकले बढेर ३१९.९६ अंकमा आईपुगेको छ । यस साता सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।इन्स्योरेन्सको १३ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी नविल व्यालेन्स फण्ड १ को २५ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ ।
भृकुटीमण्डपमा नेपाली मोह, दैनिक बिक्छन् १५ सयदेखि २ हजार जोर जुत्ता
काठमाडौं, २९ पुस । भृकुटीमण्डपको खुल्ला चौरमा निर्माण गरिएको अस्थायी ट्रसमा एउटा गेट छ । त्यो गेटबाट भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरुको संख्या ठुलै देखिन्छ । त्यो हो बिग सेल मेलाको प्रवेश र एक्जिट गेट । त्यहाँ पुस पुस १४ गतेदेखि नेपाली जुक्ता चप्पलको बिग सेल मेला लागिरहेको छ । मेलामा शिखर, कोशेली, बिएफ डिअर हिल, क्रसरोड, टाकुरा, सफ्टच, इजी, स्काई, फुटल्याण्ड, शुल्याण्ड जस्ता चर्चित नेपाली ब्राण्डका जुत्ता चप्पल पाइन्छन् । नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा दैनिक ३ देखि ५ हजार अवलोकन कर्ता आईरहेका छन् । मेला हेर्ने मात्रै आइरहेका छैनन् मानिसहरु, जुत्ता चप्पल किनिरहेका पनि छन् । ‘यहाँ आउने मध्ये ५० प्रतिशत भन्दा धेरैले जुत्ता किन्ने गरेका छन’, फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनका अध्यक्ष तथा कोशेली सुजका प्रबन्ध निर्देशक रबिन कुमार श्रेष्ठले भने । बिग सेल मेलामा निःशुल्क प्रवेशको सुबिधा उपलब्ध छ । १५० रुपैंयाँ देखि १० हजार रुपैंयाँ मूल्यका जुत्ता चप्पल रहेको भएपनि उपभोक्ताको रुचीमा भने एक हजार देखि १५०० मूल्यका जुत्ता पर्छन् । अधिकांश कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म छुट दिएका छन् । त्यसमा केहि कम्पनीले ७५ प्रतिशतसम्मको छुट समेत दिईरहेका छन् । मेलामा सहभागी सबै जसो कम्पनीहरुले जाडो यामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु ल्याएका छन् । मेलाको २ साता बितिसक्दा पनि उपभोक्ताहरुको चाप घटेको छैन् । नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु मेलाको प्रमुख उद्धेश्य भएको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाई बताउँछन् । नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको छ । शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर ब्राण्डले सहभागीता जनाएका छन् । मेलामा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ । नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सुबिधा पनि छ । राष्ट्रिय नाचघर जमलमा मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले द्रुत गतिमा सेवा विस्तार गरिरहेको छ । हाल महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा गरी ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ ।
बजारमा सुनको चरम अभाव, अडर लिन सकिदैन, तस्करलाई पोत्साहान गर्दै सरकार
काठमाडौं, २९ पुस । टंगालकी दुर्गा घिमिरे आफ्नी छोरीलाई सुनको चुरा बाला किन्न नक्सालस्थित देव कर्नर गइन् । उनलाई बजारमा सुन अभाव भएकाले एक महिनाभन्दा यता बाला बनाउन नसक्ने भनि फर्काइयो । कपनका रामबाबु आफ्नो छोराका पास्नीका लागि आवश्यक गहना बनाउन सुन पसल गएका थिए । उनले पनि आफ्नो छोराको साइजको बाला, मुन्द्रीलगायतका गहना नपाउपछि थोरै हो अडर लिइदिनुस् भने तर, व्यवसायीले सुन आउने निश्चित छैन, अडर लिँदा अपठ्यारो पर्छ भनि अडर लिएनन् । बजारमा सुन नभएको भन्दै स्थापित व्यवसायीहरुले ग्राहकलाई फर्काइ रहेका छन् भने साना तथा रातारात धनी हुन खोज्ने व्यवसायीले तस्करीकै सुन किनेर उल्टो उपभोक्तासँग बढी रकम असुली रहेका छन् । धेरै गहना पसलेहरुले ग्राहकहरु सुन किन्न जाँदा पनि शसकिंत भएर हेर्ने र उसलाई आवश्यता छ भनी थाहापाएपछि बढी मूल्य तिर्न बाध्य गराएर सुन विक्री गर्ने गरेका छन् । बजारमा सुनको चरम अभाव भएको छ । आयातित कोटाले बजार माग धान्न नसकेपछि बजारमा सुनको चरम अभाव भएको हो । पुस लागेदेखिनै अभाव हुन थालेपछि मसान्तसम्म आइपुग्दा सुन अभावका कारण व्यवसायीहरु गहनाको अडरै लिन नसक्ने अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बैंकहरुसँग सुन छैन, अडर लिन सकिएको छैन, ग्राहकहरुलाई त्यतिकै फर्काउनु परेको छ,’ सुन नपाएसम्म अडर लिन सकिदैन ।’ हाल बजारमा दैनिक ४५ देखि ५० किलोसम्म सुनको माग छ, तर सरकारी कोटा अनुसार १५ किलोमात्र सुन आउँछ, अनि कसरी बजार धान्न सकिन्छ, उनले प्रतिप्रश्न गरे । ‘दैनिक ५ देखि ७ किलोसम्म पुराना सुन आएपनि त्यतिले बजार धान्दैन,’ उनले भन्छन् ‘बजारमा अभाव भएको मौका तस्करहरुले छोप्ने गर्छन ।’ तस्करहरुलाई प्रोत्साहन सरकार आफैले गरिरहेको आरोप महासंघले लगाएको छ । औसतमा हामीलाई दैकि ३० किलो सुन आवश्यक पर्ने महासंघको हिसाव छ । जबजब बजारमा सुनको अभाव हुन्छ तबतब सुन तस्करहरु मौलाउँदै गएको र सुनको उनको भनाइ छ । ‘सरकारले सुन आयातको दीर्घकालीन उपाय व्यवसायी आफैलाई आवश्यकता अनुसार ल्याउन नछाडेसम्म तस्करीहरुले यसरीनै मौका छोपी रहने उनले बताए । यहि मौका छोपेर अहिले बजारमा प्रतितोला सुनमै ३ हजार रुपैयाँभन्दा बढी लिएर कारोबार भइरहेको शाक्यले बताए । ‘धेरै आवश्यकता हुनेले सुन नपाएपछि र गहनाको लागि अडर समेत नलिएपछि उपभोक्ताहरु आफ्नो गर्जो टार्नको लागि बढी रकम तिर्न वाध्य भएका हुन् ।
ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्स्पो हुँदै, मोबाइल खरिदमा विभिन्न छुट र उपहार
काठमाडौं, २९ पुस । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन यो योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिएका छन् । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामी कहाँ नियमित आउने गर्दछन्,” उनले भने, “यो अंग्रेजी नयाँ वर्षमा सबै मोबाइल खरिदकर्ताहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।”