कसमस डेभलपमेन्ट बैंकको २३ प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश पारित
काठमाडौं, २८ पुस । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस सेयर दिने निर्णयलाई पारित गरेको छ । साथै, बैंकले सेयरधनीलाई ६ लाख २४ हजार ९३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावलाई बुधबार बसेको बैंकको छैठौं बार्षिक साधारण सभाले पारित गरेको हो । आर्थिक वर्ष २०७२/०७३ मा बैकले १ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । संस्थापक शेयरधनीहरुको समुहमा ५१ प्रतिशत शेयर कायम राखि सो समुहको वाँकी ९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिणत गर्ने बैंकले जनाएको छ । बैंकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकका अध्यक्ष प्रा. डा. टेकनाथ ढकालले जनाएका छन् । हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोर खा बजार हरमटारीमा प्रधान कार्यालय, आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जानकारी दिएको छ ।
सेयर बजारमा सामान्य सुधार, खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य करिब ३५३ रुपैयाँ रहेको छ । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् । बजारमा कारोबार भएका होटल समूह र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक करिब १० अंकले उकालो लागेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः ३० र २ अंकले ओरालो लागेका छन् ।
३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे, गत वर्षभन्दा १५ हजार सात सय बढी
मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । “सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भने, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् । गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रासस
बिहीबार मात्रै ७८ लाख ८५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ ।
हुण्डीबाट पैसा पठाउने नेपाली कामदारलाई तत्कालै फिर्ता बोलाउनुपर्छः ढुंगाना
भिष्मराज ढुंगाना, प्रमुख-विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक हुण्डी व्यवसाय मुलुकका लागि घातक हो । तर हुण्डीमुक्त मुलुक पनि कुनै छैन । सबैले हुण्डी घटाउने प्रयास गर्ने हो । सबै मुलुकमा सिंगल डिजिटको हुण्डी हुन्छ नै । तर हामी कहाँ ३८ प्रतिशत पैसा हुण्डीबाटै आउँछ । पाकिस्तानमा कुनै समयमा ६० प्रतिशत पैसा हुण्डीबाट आउँथ्यो । उनीहरुले विभिन्न तरिका अपनाएर अहिले त्यो मात्रा घटाएका छन् । हामीले पनि हुण्डी निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएका छौं । बैंक तथा वित्तिय संस्थाबाट रेमिट्यान्स ल्याउनेदेखि रेमिटेन्स कम्पनी पनि खोलेका छौं । यति हुँदा पनि केहि मुलुकबाट हुण्डी धेरै भित्रिरहेको छ । दक्षिण कोरिया गएका नेपाली कामदारले ९४ प्रतिशत रकम हुण्डीबाट पठाउँछन् । ६ प्रतिशत पैसा मात्रै फर्मल च्यानलबाट आइरहेको छ । इराजयलबाट पनि हुण्डी नै धेरै आउने गरेको हाम्रो अध्ययनले देखाएको छ । लेबनानबाट पनि हुण्डी धेरै हुने गरेको छ । यी मुलुकमा हुण्डी रोक्ने प्रयास गर्ने हो भने हुण्डीको मात्रा धेरै नै कम हुन्छ । हुण्डी घटाउन केन्द्रिय बैंकको मात्रै भूमिका हुन्न । जस्तो कोरियाबाट बर्षेनी ४२ अर्ब रेमिट्यान्स आउनुपर्ने तर २ अर्ब मात्रै आउँछ । कोरिया सरकारले स्विकृत दिएको ठाउँमा नेपाल सरकारले पठाएका मानिस कोरिया जान्छन् । नेपाल र कोरिया सरकारको नियमनमा उनीहरु कोरियामा काम गर्छन् । तर तिनै मानिसले हुण्डीबाट पैसा पठाउँछन् । नेपालीलाई कोरिया पठाउँदा नै रेमिट्यान्सबाट पैसा नपठाए फर्काइदिन्छौं भनेर नेपालमै सम्झौतामा हस्ताक्षर गराउनु पर्छ । हरेक महिना उनीहरुको रिपोर्ट हेर्नु पर्छ । रेमिटेन्सबाट पैसा नपठाए फर्काउने काम गर्नु पर्छ । हामीले श्रम मन्त्रालयसँग पनि पटक पटक छलफल गरिसकेका छौं । श्रम मन्त्रालय पनि सकारात्मक देखिएको छ । केहि मानिसले रेमिट्यान्सको शुल्क धेरै भयो भनेर हुण्डी बढेको भन्ने गरेका छन् । त्यसमा कुनै सत्यता छैन् । हुण्डी गर्नेले डलर वा अन्य मुद्राको सटही दर नै धेरै दिने गरेकाले हुण्डी प्रोत्साहित भएको हो । रेमिट्यान्स कम्पनीले डलरको भाउ १०६ दिए भने हुण्डी वालाले १०८ रुपैंयाँ दिन्छन् । १०८ मा डलर किनेर नेपाल सामान ल्याउनेहरुलाई ११२ रुपैंयाँमा बेच्छन् । त्यस्तो पैसा नेपालमा १५ प्रतिशत कर छलेर समान भित्र्याउन प्रयोग गर्छन् । हुण्डीलाई निरुत्साहित गर्न कसले कुन मात्राको पैसा कसरी ल्याएका छन र कहाँ खर्च गर्छन भनेर हेर्ने गरेका छौं । त्यो भन्दा ठुलो अध्ययन हालसम्म गरेका छैनौं । अहिलेसम्म विदेशबाट समान ल्याउनका लागि मात्रै पैसा लैजान दिने गरेका छौं । विदेशमा उद्योग खोल्न वा लगानी गर्न भने अहिलेसम्म दिने गरेका छौनौं । तर पनि नेपालबाट केहि पैसा हुण्डीका रुपमा जाने गरेको अनुमान छ । त्यस्तो फेला पर्यो भने चाँही हामी कारवाही गर्छाै । त्यस्ता सूचना दिनेलाई २० प्रतिशत पुरस्कार दिने चलन छ । हामीले हुण्डीबाट पैसा पठाउनु अपराध हो भनेर त भनेका छौं तर त्यो पर्याप्त छैन् । बैंकिङ साक्षरताका कार्यक्रममा पनि विद्यार्थीलाई हुण्डीबारे बताउने गरेका छौं । विदेश जाने नेपालीलाई अभिमुखिकरणमा पनि दुई दिनसम्म हुण्डीबारे जानकारी दिने गरेका छौं । हुण्डी रोक्न प्रयासहरु भएका छन तर पर्याप्त देखिएको छैन् । हुण्डी गर्दा गर्दै कोहि समातियो भने त्यसलाई विदेशी विनियम अपचलन गरेको केस लाग्छ । त्यसलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार जति रकम हुण्डी गरेको हो त्यसको ३ गुणा जरिवाना र ३ देखि ४ बर्ष जेल सजाय हुन्छ । यस्तो केस राजश्व अनुसन्धान विभागले हेर्छ । उसैले अदालतमा मुद्धा हालेर कारवाही प्रक्रिया अघि बढाउँछ ।(कुराकानीमा आधारित)
लक्ष्मी बैंकले १८ प्रतिशत बोनस दिने, हकप्रद सेयर भर्ने र प्रोफेसनल विकास बैंकका सेयरधनीले पनि बाेनस पाउने
काठमाडौं, २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सेयर १८ दशमलब २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बुधबार बसेको १८३ औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल लक्ष्मी बैंकले प्रोफेसनल दियालोे विकास बैंकलाई खरीद (एक्वाएर) गर्ने प्रक्रियामा चलिरहेको छ । उक्त विकास बैंकलाई खरिद गरेपछि बैंकले १०० प्रतिशत(शतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ, जुन बैंकको साधारणसभाले पारित गरिसकेको छ । हकप्रद निष्कासन र दियालाे विकास बैंक खरिदपछि मात्र बैंकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई बोनस वितरण गर्ने छ । त्यसबेला कायम चुक्ता पूँजीसँग समायोजन गर्दा लक्ष्मीले घोषणा गरेको बोनस सेयर १८ दशमलब २९ प्रतिशत हुने बैंकले जनाएको छ । बोनस र हकप्रद पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्ने छ। गत असार मसान्तकाे पुँजीकाे अाधारमा भने बैंकले दिने बाेनस सेयर ३८ प्रतिशत भएकाे जनाएकाे छ ।
सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, माघ २० गतेदेखि बुक क्लाेज
काठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पारित गर्नको लागि बैंकले आगामी फागुन ५ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी माघ २० गते कम्पनीको बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ९८१ रुपैयाँमा कारोबार भएको थियो ।
सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं, २८ पुस । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा कायम चुक्ता पूँजीको ३० प्रतिशत (१ः०.३० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको निष्कासन गर्न लागेको हो । बैंकले उक्त सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहिबार सम्पन्न सो नियुक्ति सम्बन्धी सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् । साथै, बैंकको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।