विकासन्युज

‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना पूरा गर्न सबैसँग समान अवसर नहुने यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको जनाएको छ । बैंकका अनुसार कसैका लागि सामान्य देखिने विद्यालय झोला यी बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो । अभियानमार्फत विद्यार्थीहरूलाई झोला मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशासमेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुशीले सामग्री प्राप्तिभन्दा पनि 'अब म पनि सक्छु' भन्ने आत्मविश्वास झल्किएको बैंकको भनाइ छ । यस अभियानअन्तर्गत बैंकले शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदरसमेत गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकेको जनाएको छ ।  

ट्राफिक प्रहरीको कारबाहीमा परे १७५ राइड सेयरिङ सवारीसाधन

काठमाडौं । अफलाइन रूपमा सञ्चालन हुँदै जथाभावी पिक एन्ड ड्रप गर्ने राइड सेयरिङ सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १७५ वटा सवारीसाधन कारबाहीमा परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अनलाइन अनुमति बिना अफलाइन रूपमा सवारी सञ्चालन गर्ने तथा जथाभावी पिक एन्ड ड्रप गर्ने चालकलाई कारबाही गरिएको जनाएको छ । मापदण्डअनुसारका सवारीसाधन नभएको, सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने देखिएकाले कडाइका साथ निगरानी तथा कारबाही गरिएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।

कामना सेवा विकास बैंक र होटल अशोकाबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अकोमोडेसन तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको  छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।

सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा चैत्र ८ गते बसेको दोस्रो केन्द्रीय कार्य समिति बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो । पुस २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीहरूको चयन गरी कार्यसमिति गठन गरिएको नाडाले जनाएको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन् । त्यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक रहेका छन् । संस्थागत सदस्यहरूमध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् भने साधारण सदस्यहरूमध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह सदस्य रहेका छन् । अध्यक्षबाट दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यमा चयन गरिएको छ । यसैदिन अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका थिए ।

भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक, घरभरि तीव्र गतिको इन्टरनेट उपलब्ध हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई उच्च गति र स्थिर कनेक्टिभिटी अनुभव प्रदान गर्ने उद्देश्यले उक्त सेवा बजारमा ल्याएको जनाएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै एउटै घरमा धेरै उपकरण एकैपटक सञ्चालन गर्नुपर्ने आवश्यकता बढिरहेको सन्दर्भमा नयाँ प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ । पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने वाइफाइ ६ ले लेटेन्सी न्यून बनाउँदै एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ तथा कार्यालयसम्बन्धी काम सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने बताइएको छ । भायानेटले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाइ ६ प्याकेज उपलब्ध गराएको छ । कम्पनीका अनुसार २५० एमबीपीएस गतिको वार्षिक योजना भ्याटसहित १३ हजार ८ सय रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक योजना लिने ग्राहकलाई थप एक महिना इन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । घरको सबै कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउने उद्देश्यले कम्पनीले भ्याटसहित ३ हजार ५ सय रुपैयाँमा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ । मेस प्रणालीले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरमा समेत स्थिर सिग्नल उपलब्ध गराउने कम्पनीको दाबी छ । पुराना ग्राहकलाई लक्षित गर्दै भायानेटले अपग्रेड प्रक्रिया पनि सरल बनाएको छ । हालका प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्कमा पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार ४के भिडियो स्ट्रिमिङदेखि बिना अवरोध अनलाइन गेमिङसम्म आधुनिक डिजिटल आवश्यकतालाई ध्यानमा राखेर सेवा डिजाइन गरिएको हो । सेवाबारे थप जानकारी वा जडानका लागि ग्राहकले ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा पुग्न सक्नेछन् ।   

स्ट्रबेरी किलोको ३५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २० आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ७५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु १००, परवर (तराई) प्रतिकिलो रु १२०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु १००, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ५५, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ७०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु ३००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३५०, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

हिमालयन रिइन्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजीनामा

काठमाडौं । हिमालयन रिइन्योरेन्सका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन् । गोल्छाले गत फागुन २५ गते राजीनामा दिएको कम्पनीले जनाएको छ ।  कम्पनीको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिए । गोल्छा कम्पनीका संस्थापक अध्यक्षसमेत हुन् । उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन ।  कम्पनीको सञ्चालकमा शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता, राजीव मोर, सुभेछा खरेल र सुवास झुनझुनवाल रहेका छन् ।

नेप्सेमा एकै दिन ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन र माउन्टेन इनर्जी नेपालको बोनस सेयर सूचीकृत भएका हुन् ।  सिद्धार्थ बैंकको ५ प्रतिशत बोनस बापत ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनस वापत ४३ लाख ५९ हजार ६६३ कित्ता, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस वापत ६१ लाख ४५ हजार ४८५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । यस्तै, नेशनल लाइफको ४ प्रतिशत बोनस बापत २१ लाख ८९ हजार ९५ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस बापत ३ लाख कित्ता र माउन्टेन इनर्जीको २० प्रतिशत बोनस बापत ५२ लाख ५ हजार ४३१ कित्ता सेयर सूचीकृत भएको हो ।