विकासन्युज

विद्यार्थीमा वित्तीय साक्षरता बढाउन राष्ट्रिय वाणिज्य बैंक सक्रिय

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन् । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगबारे सचेतना बढाउन सके प्रत्येक व्यक्तिले उपलब्ध स्रोतको सदुपयोग गर्दै अधिक लाभ लिन सक्ने उल्लेख गरे । उनले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रसम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय वाणिज्य बैंकले वित्तीय साक्षरता अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताए । बढ्दो सूचना प्रविधिको प्रयोगसँगै वित्तीय क्षेत्रमा चुनौती पनि थपिँदै गएको उल्लेख गर्दै उनले देशव्यापी रूपमा सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे । प्रमुख कार्यकारी अधिकृत खनालले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्राप्त हुने शंकास्पद लिंक नखोल्न र ‘सित्तैमा पैसा’ दिने प्रलोभनमा नपर्न सबैलाई आग्रह गरे । सुरुवातमा सानो लाभ देखाएर पछि ठूलो रकम माग्ने ठगी प्रवृत्तिबाट सचेत रहन उनले सुझाव दिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय साक्षरताको सुरुवात विद्यालयबाट हुँदै घरघरमा विस्तार हुनुपर्ने आवश्यकता औँल्याए । बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा तथा विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डे सहभागी थिए । राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी वीकका अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सामाजिक–सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ग्लोबल मनी वीक प्रत्येक वर्ष मार्च १६ देखि २२ तारिखसम्म विश्वभर मनाइन्छ ।    

८ महिनामा झण्डै २ खर्बको निर्यात, आयातको तुलनामा बढ्यो

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँबराबरको आयात भएको थियो । यो अवधिमा आयात १२.५४ प्रतिशतले बढेको छ ।  यो अवधिमा कुल १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन कुल व्यापारको २०.८३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । समीक्षा अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेको छ ।  यो अवधिमा कुल वस्तु व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ हुँदा वैदेशिक व्यापार घाटा भने १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।     

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा चैत्र ८ गते आयोजित एक समारोहबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी तथा कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चाङ्ग तिथि र तारिख समावेश गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्गनिर्देशन गर्ने सञ्चालक पदाधिकारी, कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, सेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका थिए । उनले आगामी दिनमा कम्पनीलाई अझ सशक्त बनाउँदै नवीन प्रविधिको अधिकतम प्रयोगमार्फत ग्राहक सेवाको गुणस्तर थप प्रभावकारी बनाउने योजना ल्याइने बताए । साथै सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।   

८ महिनामा करिब ११ खर्ब व्यापार घाटा, भारत र चीनसँग मात्रै ८ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहारेको छ ।    भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले  १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।  पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।       गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र ५ खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ।  त्यस्तै, छिमेकी मुलुक चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र ९८ करोड ३३ लाखको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा बेहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौं स्थानमा छन् । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग रू तीन करोड ३३ लाख र आइसल्याण्डसँग २ करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा  ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।  त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु,  २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा रू ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।  त्यस्तै, ९ अर्ब ४९ करोड, ६१ लाखको अलैंची,  ६ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, ६ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, ४अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ साढे ५ करोड घाटामा

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको देखिएकाे छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । जबकि अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६० हजार रुपैयाँ घाटामा थियो । तर, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले वार्षिक तथ्यांकमात्र हेरेर संस्थालाई घाटामा रहेको निष्कर्ष निकाल्न नमिल्ने जानकारी दिए । उनका अनुसार महासंघको आय संरचना तीन वर्षे चक्रमा आधारित भएकाले प्रत्येक वर्ष नाफा-घाटा फरक देखिन सक्छ । ‘हाम्रो घाटा-नाफा भन्ने हुँदैन । सदस्यकाे नवीकरण चुनावी वर्षमा गर्ने अभ्यास छ । सदस्यता नै हाम्रो मुख्य आम्दानी हो, जुन हरेक वर्ष उठ्दैन,’ उनले भने, ‘कुनै वर्ष आम्दानीभन्दा खर्च बढी देखिए पनि समग्र अवधिमा संस्था घाटामा हुँदैन ।’  महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सदस्यता शुल्क संकलनको ढाँचाका कारण यस्तो अवस्था देखिएको हुन सक्ने बताए । ‘सदस्यता शुल्क प्रायः निर्वाचन वर्षमा एकै पटक उठ्छ । त्यसैले कुनै वर्ष घाटा र अर्को वर्ष नाफा देखिनु स्वाभाविक हो,’ उनले भने ।  तर, विगतमा महासंघ कुनै पनि वर्ष घाटामा गएको अनुभव आफूसँग नरहेको उनले सुनाए । ‘संस्थाले धान्ने गरी खर्च गर्नुपर्छ । खर्च धान्न नसक्ने हो भने कसले दिन्छ ?,’ उनले भने, ‘सामान्यतया संस्था घाटामा हुँदैन । निर्वाचनको वर्ष सबै व्यवस्थापन हुन्छ । तर, विगतमा कुनै पनि वर्ष महासंघ घाटामा थिएन ।’ उनका अनुसार महासंघका एशोसिएट सदस्य संख्या उल्लेख्य रूपमा बढेको छ र हाल करिब १ हजार ९ सय पुगेको छ । प्रतिवर्ष २० हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था रहे पनि अधिकांश सदस्यले तीन वर्षको शुल्क एकैपटक बुझाउने गरेका छन् ।  महासंघले सदस्यता शुल्कबापत १ करोड ७९ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८६ लाख ९० हजार रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । उत्पत्तिको प्रमाणपत्र आयबापत ३ करोड ४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष यो २ करोड २२ लाख ७९ हजार रुपैयाँ थियो । यस्तै, अनुदान आय घटेर २ करोड ५५ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष ४ करोड ९३ लाख ९० हजार रुपैयाँ थियो । वित्तीय आम्दानी पनि घटेर १ करोड १२ लाख २३ हजार रुपैयाँमा झरेको छ । जबकि अघिल्लो वर्ष १ करोड ९० लाख ८४ हजार रुपैयाँ वित्तीय आम्दानी थियो । अन्य आम्दानी ४९ लाख ३६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ५१ लाख ८८ हजार रुपैयाँ थियो। समग्रमा महासंघको कुल आम्दानी घटेर ९ करोड ४३ हजार रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्ष १० करोड ४६ लाख ३२ हजार रुपैयाँ थियो । खर्चतर्फ, महासंघले कर्मचारी खर्चमा ४ करोड २३ लाख ८० हजार रुपैयाँ बेहोरेको छ, जुन अघिल्लो वर्ष ५ करोड १७ लाख १८ हजार रुपैयाँ थियो । कार्यक्रम खर्च ३ करोड ६३ लाख ८४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ५ करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो ।  अघिल्लो वर्ष २ करोड ६ लाख ५४ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च गत वर्ष बढेर २ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार गैर-प्रशासनिक खर्च ५५ लाख ८९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ३८ लाख ७४ हजार रुपैयाँ थियो । महासंघका अनुसार गत वर्ष विविध खर्च ५७ लाख २ हजार रुपैयाँ, प्रदेश उद्योग वाणिज्य संघतर्फ १ करोड ७ लाख १० हजार रुपैयाँ तथा बिदा व्यवस्थापनतर्फ १ करोड २७ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गत वर्ष महासंघको कुल खर्च घटेको छ । गत वर्ष महासंघले १३ करोड ७७ लाख ५१ हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि अघिल्लो वर्ष १४ करोड ४३ लाख ९३ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  महासंघले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ९ लाख रुपैयाँ सेयर लगानी गरेको छ भने एनएमबि बैंकमा ३ करोड रुपैयाँ निक्षेप राखेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

२१ ठाउँमा अन्तर्घात भएर पराजित भइयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षामा पार्टीभित्रकै अन्तर्घातका कारण धेरै निर्वाचन क्षेत्रमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणअनुसार कम्तिमा दुई दर्जन नजिकका क्षेत्रमा आन्तरिक असहयोग निर्णायक कारक बनेको देखिएको हो । पार्टी प्रवक्ता देवराज चालिसेले सानो मतान्तरले गुमाइएका क्षेत्रहरूमा संगठनभित्रको असन्तुष्टि र समन्वय अभाव प्रमुख कारणका रूपमा देखिएको बताए । उनका अनुसार ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा आन्तरिक असहयोग नै मुख्य जिम्मेवार रहेको निष्कर्ष पार्टीले निकालेको छ ।  कांग्रेसले पराजय भोगेका २१ निर्वाचन क्षेत्रमा आन्तरीक असहयोगकै कारण पार्टीका उम्मेदवारहरु पराजित भएको चालिसेले जानकारी दिए । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको उनले उल्लेख गरे ।  अझ ठूलो, ५ हजारदेखि १० हजारसम्मको अन्तरले हारिएका स्थानहरूमा भने अन्तर्घात, कमजोर चुनावी रणनीति र विपक्षीले निर्माण गरेको प्रतिकूल न्यारेटिभले कांग्रेसले पराजय भोगेको हो चालिसेले बताए ।   

१२३ विद्यालयका एक लाखभन्दा बढी विद्यार्थीलाई खानेपानी उपलब्ध गराउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।  चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे । 'नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं', अध्यक्ष चौधरीले भने, 'यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।' बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवद्र्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।  यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ ।  नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।  अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव र घरायसी ढलको निकासका कारण पानीका स्रोतहरुमा प्रायः आर्सेनिक, फलाम र हानिकारक किटाणुको संक्रमण हुन्छ । जसले गर्दा बालबालिकाहरु असुरक्षित पेय पदार्थसँग सम्बन्धित बढ्दो स्वास्थ्य जोखिमहरुको सामना गर्न बाध्य हुन्छन् ।     

रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने, बालेनलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र शीर्ष नेतृत्वबीच भएको सातबुँदे सहमति कार्यान्वयनतर्फ अघि बढेको छ । पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह बालेनबीच भएको सहमति कार्यान्वयन गर्नेगरी विधान संसोधन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।  पूर्वसहमति अनुसार शाहलाई संसदीय दलको नेता बनाउने गरी विधान संसोधन गर्न उक्त बैठक बोलाइएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १२ गते केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।  सर्वसम्मति भएपछि दलको विधान संशोधन गर्न जरुरी नहुने महामन्त्री बुर्लाकोटीले बताए । गत पुस १३ गते भएको सात बुँदे सहमतिअनुसार लामिछाने पार्टीको सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा शाहलाई अघि सार्ने समझदारी बनेको थियो । सोही सहमतिअनुसार अहिले संसदीय नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको हो । महामन्त्री बुर्लाकोटीका अनुसार सातबुँदे समझदारीमा पार्टीभित्र कार्यकारी नेतृत्व र संसदीय नेतृत्वलाई छुट्टाछुट्टै रूपमा अघि बढाउने रणनीति तय गरिएको छ । यसअनुसार पार्टीको समग्र संगठनात्मक जिम्मेवारी सभापति लामिछानेकै नेतृत्वमा रहनेछ भने संसदभित्रको नेतृत्व शाहले सम्हाल्नेछन् ।