१२३ विद्यालयका एक लाखभन्दा बढी विद्यार्थीलाई खानेपानी उपलब्ध गराउँदै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे । 'नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं', अध्यक्ष चौधरीले भने, 'यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।' बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवद्र्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ । यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ । नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ । अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव र घरायसी ढलको निकासका कारण पानीका स्रोतहरुमा प्रायः आर्सेनिक, फलाम र हानिकारक किटाणुको संक्रमण हुन्छ । जसले गर्दा बालबालिकाहरु असुरक्षित पेय पदार्थसँग सम्बन्धित बढ्दो स्वास्थ्य जोखिमहरुको सामना गर्न बाध्य हुन्छन् ।
रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने, बालेनलाई संसदीय दलको नेता बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र शीर्ष नेतृत्वबीच भएको सातबुँदे सहमति कार्यान्वयनतर्फ अघि बढेको छ । पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह बालेनबीच भएको सहमति कार्यान्वयन गर्नेगरी विधान संसोधन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । पूर्वसहमति अनुसार शाहलाई संसदीय दलको नेता बनाउने गरी विधान संसोधन गर्न उक्त बैठक बोलाइएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १२ गते केन्द्रीय समिति बैठक आयोजना गरिएको छ । सर्वसम्मति भएपछि दलको विधान संशोधन गर्न जरुरी नहुने महामन्त्री बुर्लाकोटीले बताए । गत पुस १३ गते भएको सात बुँदे सहमतिअनुसार लामिछाने पार्टीको सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा शाहलाई अघि सार्ने समझदारी बनेको थियो । सोही सहमतिअनुसार अहिले संसदीय नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको हो । महामन्त्री बुर्लाकोटीका अनुसार सातबुँदे समझदारीमा पार्टीभित्र कार्यकारी नेतृत्व र संसदीय नेतृत्वलाई छुट्टाछुट्टै रूपमा अघि बढाउने रणनीति तय गरिएको छ । यसअनुसार पार्टीको समग्र संगठनात्मक जिम्मेवारी सभापति लामिछानेकै नेतृत्वमा रहनेछ भने संसदभित्रको नेतृत्व शाहले सम्हाल्नेछन् ।
स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग, मधुमेह र रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण
पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् । नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नगराई बसेका भेटिएपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए । 'सामान्यतया स्वस्थ देखिने मानिसमा नसर्ने रोगका लक्षण फेला परेका छन्', घिमिरेले भने, 'हामीले गत वर्षदेखि नसर्ने रोग पहिचानको अभियान सञ्चालन गरिरहेका छौँ । यसमा उल्लेख्य मात्रामा बिरामी भेटिएका छन् ।' उनका अनुसार यहाँका स्वास्थ्य संस्थाले विवाह, भोजभतेरलगायत सामाजिक/धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । स्थानीयहरू स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि जाने गर्नाले पनि नसर्ने रोग भयावह बन्दै गएको घिमिरेको बुझाइ छ । 'नियमित स्वास्थ्य परीक्षण नगर्ने चलनका कारण नसर्ने रोगले थप समस्या सिर्जना गरिसकेको हुन्छ । सोही कारणले नियमित स्वास्थ्य परीक्षणमा स्थानीयलाई अग्रसर गराउने उद्देश्यले खोज पड्तालकार्यक्रम सञ्चालन गरिएको हो', उनले भने । गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए । त्यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन नगाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत छुट्टै ‘क्लिनिक’ सञ्चालनको व्यवस्था गरी स्थानीय स्वास्थ्य सङ्स्थाको पहुँचमा नरहेका नागरिकलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आइएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए । नसर्ने रोगको खोज पड्तालका क्रममा यहाँका चार जनामा कालाजार र छ जनामा क्षयरोग फेला परेको छ । सामान्यतया कालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा कम हुने भए पनि चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतना कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोज पड्तालकार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेले जानकारी दिए । उक्त कार्यक्रमले बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको उल्लेख गर्दै उहाँले सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट पनि बचेका धारणा राखे । गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत नसर्ने रोगका बिरामी फेला गरेका बताउँदै पालिकाले नियमित रूपमा स्वास्थ्य परीक्षण, खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको जानकारी दिए । रासस
३६ करोडमा सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु
गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो । उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो । सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताए । सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिनेछ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।
ललितपुरको हरिसिद्धिमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुर महानगरको हरिसिद्धिस्थित होसना इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । त्यस्तै, घाइते हुनेहरूमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर, दाङकी १९ वर्षीया सुमा कुमाल र सल्यानकी २७ वर्षीया शान्ति कुँवर रहेका छन् । उनीहरूको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
छुट्टै बैठक बोलाउने तयारीमा देउवा पक्ष, होटलमा के भयो छलफल ?
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन शेरबहादुर देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको बुझिएको छ । आइतबार (आज) धुम्बाराहीस्थित एक होटलमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ । ‘ती छलफलहरुले आवश्यक ठाने केन्द्रीय समिति बैठक पनि बोलाउन सकिन्छ,’ डा. महतले भने । उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ । पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ । उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले चैत्र २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् । विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको डा. महतले बताए ।
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना
चितवन । कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना गरेको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नगरेपछि म्याद थप नगरी जरिवाना गरिएको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार रविना कन्ट्रक्सनले विसं २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएको थियो । सो मितिमा काम नसकिएपछि नगरपालिकाले चार पटक म्याद थप गरी अन्तिम २०८१ साल कात्तिक ३० गतेसम्म पुर्याएको थियो । खरिद ऐनमा म्याद सकिएपछि काम नसकिएमा जरिवाना लगाएर काम गर्न समय दिन मिल्ने प्रावधान रहेको छ । नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्दासमेत काम नगरेपछि कार्यपालिका बैठकले जरिवानाको निर्णय गरी नगर परिषद्बाटसमेत अनुमोदन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार नगरपालिकाको निर्णय चित्त नबुझाइ उच्च अदालत हेटौँडामा निर्माण व्यवसायीले मुद्दा दर्ता गराएका थिए । उनका अनुसार अदालतले मुद्दा खारेज गरेको छ । निर्माण कम्पनीले काम ९५ प्रतिशत सम्पन्न गरेको छ । ११ करोड ५६ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । कम्पनीलाई हालसम्म रु सात करोड भुक्तानी गरिएको छ । निर्माण व्यवसायीले नगरपालिकालाई १० प्रतिशत रकम कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ । चौलागाईंका अनुसार निर्माण कम्पनी मध्यस्थकर्ताकोमा छलफल गराउने प्रयासमा छ । छलफलपछि जरिवाना हटेमा बाँकी रकम पछि लिने गरी भवन हस्तान्तरण गर्ने तयारीमा कम्पनी छ । उनका अनुसार जरिवाना रकम बाँकी राखेर अरु रकम भुक्तानी गर्न नगरपालिका तयार छ । सो भवनमा जेनजी आन्दोलनको समयमा तोडफोड भएको थियो । निर्माण कम्पनीले बिमा दाबी गरेर मर्मत सम्भार सकेको छ । आफ्नो भवन बन्न ढिला भएपछि झण्डै ९ वर्षदेखि नगरपालिकाको कार्यालय भाडाको भवनमा बस्न बाध्य छ । रासस
एनआईसी एशिया क्यापिटलको वित्तीय सचेतना कार्यक्रम मेलम्चीमा सम्पन्न
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही अभियानलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा चैत्र ६ गते ‘मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ग्लोबल मनी वीक २०२६ को मुख्य थिम ‘स्मार्ट मनी टक्स’ मा आधारित प्रस्तुति दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानी विकास गर्ने तरिका, स–सानो बचतलाई सरल रूपमा लगानी गर्ने उपाय तथा वित्तीय अनुशासनको महत्वबारे विस्तृत जानकारी गराए । त्यसक्रममा बैंक खाता तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एसआईपी तथा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे समेत जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको पछिल्लो अवस्था सम्बन्धमा छलफल समेत गरिएको थियो । कार्यक्रममा रायमाझीले एएमएल/सीएफटी सम्बन्धी आधारभूत जानकारी तथा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सहभागीलाई अवगत गराएका थिए । अन्त्यमा विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीहरूको सक्रिय सहभागितामा मुद्रा तथा पूँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २२० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।