विकासन्युज

रवि लामिछानेको चुनाव खर्च पौने १० लाख, कुन शीर्षकमा कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा पौने १० लाख रुपैयाँ खर्च गरेका छन् । लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च गरेका हुन् ।  उनले मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१ रूपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको खर्च विवरणमा उल्लेख छ । उनले खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्ठी भेला गर्दा १ लाख ८० हजार खर्च भएको उल्लेख गरेका छन् ।    

कामना सेवा विकास बैंकद्वारा २०८३ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आधुनिक प्रविधिलाई मध्यनजर गर्दै बैंकले यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको छ । यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्न बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । उक्त क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन् । बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसबाट डिजिटल माध्यममा क्यालेन्डर प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । 

१२ किलो २३० ग्राम गाँजासहित ३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् । यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार  पक्राउ गरिएको हो ।   

मटरकोसा किलोको ३५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ३५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ५०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु १२०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २८०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २३०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ६०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १३०, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

फक्सवागनले ५० हजार रोजगारी कटौती गर्ने

काठमाडौं । जर्मनीको मोटर कम्पनी ‘फक्सवागन’ले सन् २०३० सम्म जर्मनीमा करिब ५० हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ ।  फक्सवागनका प्रमुखले भने, ‘सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब ५० हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा ३५ हजार रोजगारी घटाउने सहमति भइसकेको थियो । अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ ।’  कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ । फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन् । प्रमुखले पत्रकार सम्मेलनमा थपे, ‘स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन् । यसले हामीमाथि दबाब बढाउनेछ। हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ ।' विशेषज्ञहरूले फक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दिगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् । यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने योजना बनाएको छ ।

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथ, न्यूनतम २ हजार ९९९ रुपैयाँ

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिलमापारीको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । ‘हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ । पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुश्मा बजार, बाग्लुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी  पोखरा फर्कन्छन्,’ उनले भने । प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम् २ हजार ९९९ रुपैयाँदेखि ३ हजार ९९९ रुपैयाँ, ४ हजार ९९९ रुपैयाँ र ५ हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनको भनाइ छ ।  पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्व अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगत गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् । 

राष्ट्र सङ्घमा नेपालको प्रस्ताव पारित, विश्वका विभिन्न मुलुकले लागू गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ ।  संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु  मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ । राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले  यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए । 

दाउन्नेमा ५ वटा सवारी एकापसमा ठोक्किए, ८ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किदा ८ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।  दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका-६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट-७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् ।  त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका-४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका-१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका-४ लिवाङका उदीराम विष्ट, धरान-१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका-२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका-५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका-७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन् ।  घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।