विकासन्युज

कांग्रेस नेता डा. कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।      मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहेका डा. शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राखे ।   

गुल्मीको हिमालय मावि केन्द्रमा २२ प्रतिशत मत खस्यो, कुल ५५ प्रतिशत खस्ने अनुमान

काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत धुर्कोटको हिमालय मावि केन्द्रमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ । मतदान अधिकृत विवेक खनालले दिएको जानकारी अनुसार ६४८ मत खसिसकेको छ।  बिहान ७ बजेबाट सुरु भएको मतदान अत्यन्तै शान्तिपूर्ण रूपमा चलिरहेको मतदान अधिकृत खनालले जानकारी दिए ।  स्थानीय मतदातासमेत रहेका एमाले नेता खिमानन्द भण्डारीले पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।  यस केन्द्रमा जिल्ला निर्वाचन अनुगमन टोलीले समेत अनुगमन गरिसकेको छ ।  नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारीका अनुसार हिमालय मावि वस्तु मतदान केन्द्रमा अहिले भएको मतदानको ट्रेन्डलाई हेर्दा करिब ५५ प्रतिशत मत खस्ने सम्भावना रहेको छ । यस केन्द्रमा २८ सय २६ मतदाता रहेका छन् ।  

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् ।   तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेका हुन् ।  मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान

चितवन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले मतदान गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।     मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै  जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए ।     'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ', उनले भने, 'मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।'     उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा  सहयोग गर्न आह्वान गरे ।  मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि  मतगणना गरिने उनले जानकारी दिए ।       मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने  अनुमान गरिएकोे बताए  ।   

प्रधानमन्त्रीको उम्मेदवार हुँदा मजा आयो, अवसर दिनुस् ५ वर्ष सुशासनमा काम गर्छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् । उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर आफूलाई राजनीतिक पूर्णता पाएको समेत बताएका छन् । पहाड र काठमाडौंका बारेमा जानेको भए पनि मधेसका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको बताए । उनले त्यहाँको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरू पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिए । सभापति थापाले भने, ‘त्यसलाई त बाहिर बाहिरबाट हेरिन्थ्यो नि त अहिले त बस्तीमा गइयो हेरियो उनीहरूसँग बसियो । सर्लाही ४ ले मलाई राजनीतिक पूर्णता दियो ।’ उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न सकेको पाठ त्यहीँ गएर मात्र सिकेको बताए । उनले सरकारमा बस्दै गर्दा अरूको बजेट काटेर भए पनि मधेसको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए । उनले भने, ‘अबौँ पैसा लागोस् । बरु मन्त्रालय काटौँ । मैले त्यहाँ गएर के देखेर आएँ भने मान्छे अहिले पनि यस्तो अवस्थामा पनि बसिरहेको रहेछ भन्ने कुरा थाहा थिएन भन्ने पनि एकदमै लज्जाको विषय हो ।’ उनले उम्मेदवार मात्रै हुँदा र प्रधानमन्त्री हुँदाको जिम्मेवारी बोधबारे छोटो प्रतिक्रिया दिए, 'मजा आउँदो रहेछ ।' मतदान गरेपछि गगन थापाले भने, ‘मैतीदेवीको मतदान केन्द्रमा मतदान गर्दा प्रतिनिधि सभाको पहिलो निर्वाचनमा सुप्रभा घिमिरे दिदीलाई मत गरेको थिएँ । त्यसपछि निरन्तर उम्मेदवार म आफैँ थिएँ । मेरो मत आज साँझ मेरा लागि गणना हुँदैन । यो मेरो लागि नयाँ अनुभव भयो । मलाई के कुरामा खुशी लागेको छ भने जसरी मलाई यो ठाउँमा एउटा युवा हुँदै गर्दा खेरी यहाँका मेरा अभिभावकहरूले, मेरा साथीभाइहरुले बडो मायाका साथ मलाई एउटा काम गर्ने जिम्मेवारी दिनुभयो । आज मैले अलि माथिल्लो उमेरमा गइसके पछाडि मैले त्यो बेलाको मेरै उमेरको सचिन तिमल्सेनालाई आज मेरो मताधिकार प्रयोग गरेर हिजो मैले काम गर्ने जिम्मेवारी पाएको जस्तै गरी जिम्मेवारीमा पुग्ने गरी त्यो अधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको छ ।’   सर्लाही ४ को दुई वटा मतदान केन्द्रमा सामान्य झडप भएको भन्ने प्रसङ्गमा सभापति थापाले भने, ‘दुई वटा मतदान केन्द्रमा सामान्य तनावको स्थिति भएको रहेछ । उहाँहरू तुरुन्तै बसेर छलफल भइसक्यो भन्नुभएको छ । मैले प्रशासनको साथीहरूलाई पनि हिजो भनेको छु यो भन्दा अगाडि यो निर्वाचन क्षेत्रमा जस्तोसुकै ट्रयाक रेकर्ड भएको भएता पनि यो पटक निर्वाचनको दिनसम्म आइपुग्दा कुनै पनि घटना भएको छैन । सबै जनाले भन्नुभएको छ पहिलो पटक तपाई यहाँ आइसकेपछि एकदमै सभ्य ढंगले प्रचारप्रसार भएको छ । प्रोभोक गर्ने कोसिस नभएको होइन बेलाबेलामा प्रोभोक गर्ने कोसिस गर्नुभयो । मैले प्रोभोक हुनु हुँदैन भन्दै आएँ । आज पनि म त्यो हुन दिन्न । मलाई के विश्वास छ भने अलिअलि तनावको स्थिति भयो भने त्यसलाई सम्हाल्छौँ । किनकि नेपाली कांग्रेस पार्टी त्यहाँको मूल पार्टी हो । हामीले त्यो घटना हुन नदिने कुरामा हाम्रो भूमिका हुनुपर्छ हामी गर्छौँ ।’  काठमाडौं-४ का मतदाताले के भनिरहेका छन् त भन्ने प्रश्नमा सभापति थापाले भने, ‘मैले त्यस्तो अन्तरक्रिया गर्न त पाएको छैन । केहीसँग बुथमा भेट्दा यो भन्दा पहिला तपाईंलाई मत हालेको अहिले सचिनलाई मत हाल्दैछौँ भन्नुभयो । कति जनालाई चाहिँ सर्लाही ४ को चिन्ता छ । सर्लाहीमा चुनावी प्रचारमा हिँडिरहँदा प्रत्येक दिन १०-१२ जना जानुभयो । मलाई खुशी पनि लाग्यो । यहाँका साथीहरू पुग्दा खुशी लाग्यो । कति मतदाता रिसाउनु पनि भएको छ । म त परिवार बढाउन गएको हो । मैले यो बसाई छोडेको त होइन । मैले व्यक्तिगत अनुभव गर्न आवश्यक थियो । यहीको राजनीति गरेँ । मैले सरकारमा जाँदा संसदमा बस्दा मेरो सोचाइ बदलिनु पर्छ ।’ उनले मधेश गएर धेरै सिकेको समेत बताए । सभापति थापाले भने, ‘मलाई आफूलाई फराकिलो बनाउनका निम्ति मधेस जानुपर्ने थियो । अहिले गइसके पछाडि गएको १०-१२ दिनमा मैले के कुरा महसुस गरेँ भनेदेखि मलाई काठमाडौंबाट यत्रो वर्ष राजनीति गर्दै गर्दा खेरी मलाई मधेसका बारेमा जुन ज्ञान छ जानकारी छ भन्ने थियो मलाई त केही प्रतिशतमात्र रहेछ । त्यो भित्रको समाजको विविधता, त्यहाँभित्रका समस्या, संरचना, त्यहाँभित्रका यति धेरै कुराहरू । अहिले मैले ती सबै कुरा बुझेर त्यसको प्रतिनिधित्व गर्न पाउने अवसर गर्दै गर्दा खेरी मैलै राष्ट्रका लागि निर्वाह गर्ने भूमिका अझ बढी छ ।’ उनले अगाडि भने, ‘मैले `को यत्रो वर्ष अनुभव गरेँ । पहाडको अनुभव मसँग जति पनि छ । मधेसको अनुभव गर्ने कुरामा पूर्ण खुशी छु । हाम्रो विविधता भएको देश हो । विविधता भएको देशमा मैले लिने नीतिहरूले, मैले लिने निर्णयहरूले म यस्तो पोजिशनमा छु अब मैले सबैतिर समान दृष्टिकोण कोर्नसक्छु । मलाई पहाडको कुरा पनि थाहा छ । शहरको कुरा पनि थाहा छ । गाउँको कुरा पनि थाहा छ । मधेस नगएको भए मैले यति कुरा भन्न पाउने थिइन ।’

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान

काठमाडौं । धनुषा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आज बिहान ७ बजेदेखि मतदान कार्य उत्साहजनक रूपमा शुरु भएको छ । लोकतन्त्रको महापर्वमा सहभागी हुन यस क्षेत्रका मतदाताहरू बिहानैदेखि मतदान केन्द्रहरूमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।  मतदानको वर्तमान अवस्था र वातावरण धनुषा–३ का विभिन्न मतदान केन्द्रहरूमा पुग्दा मतदाताहरूमा ठूलो उत्साह देखिएको छ । विशेषगरी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडासहित ग्रामीण भेगका मतदान केन्द्रहरूमा पनि मतदाताहरूको लामो लाइन लागेको छ । तराईको सामान्य गर्मीका बाबजुद पनि युवा, महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरू समेत मतदानका लागि उत्सुकताका साथ लाइनमा बसेका देखिन्छन् ।  

महासंघका अध्यक्ष ढकालले काठमाडौंको विशालनगरबाट गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए । उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शि नेतृत्व पाउने अपेक्षा व्यक्त गरे । त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने उनको विश्वास छ । अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताए । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उनको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन आग्रह गरे ।