कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गरेका छन् । यसैगरी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरे ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले गरे मतदान
काठमाडौं । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुन् । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।
कांग्रेस उपसभापति शर्माले गरे मतदान
झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत हुन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान सुरु
काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ७ बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हँुदैछ । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहले गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् । काठमाडौं महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ । बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक-एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरे । यस्तो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि भएको उनको अपिलमा उल्लेख छ । अपीलको पूर्णपाठ गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास लिएको छु । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु । निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्त्वपूर्ण हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ । राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक-एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो । यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । यो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि हो । कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिने गरिन्छ । जब नागरिकहरू आफ्ना अधिकारप्रति सचेत र जागरूक भएर मतदाताका रूपमा दर्ता हुनुहुन्छ र निर्वाचनमा सु-सूचित मतदाता भएर आफ्नो सहभागिता जनाउनुहुन्छ तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ । निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ सङ्कल्पित रहेकाले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चार माध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकामा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा बिहीबार आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्नु हुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु ।
प्रत्यक्ष १६५ र समानुपातिक ११० स्थानका लागि आज मतदान हुँदै
काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । यस्तै, १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।