पूर्वसभामुख घिमिरेले गरे मतदान
बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले बिहीबार (आज) झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन् । मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरे ।
गुल्मी–२ मा तीन घण्टामा १० प्रतिशत मत खस्यो
काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको तीन घण्टाभित्र करिब १० प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । हालसम्म करिब १० हजार मत खसिसकेको उनले जानकारी दिए । पौडेलका अनुसार यस निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार मतदाता रहेका छन् । सबै मतदान केन्द्रहरूमा मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको र मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए ।
'६५ प्रतिशत भन्दा बढी मत खस्छ, मतदान गर्न एकदेखि दुई मिनेट लाग्छ'
पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए । ‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ,’ उनले भने । उनका अनुसार मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ । सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न उनले आह्वान गरे । मतदान सम्पन्न भए लगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनको भनाइ छ । साथै उनले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए ।
मतदान गरेपछि मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले भने- देशले निकास पाओस्
काठमाडौं । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जन अपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौंको पुरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि उनले जनताको दैनिक जीवन र सुख दुःखमा सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वअध्यक्ष रेग्मीले भने, ‘मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुख दुःखमा ध्यान देओस् भन्ने जन अपेक्षा पूरा होस् ।’
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौंका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनको भनाइ छ । प्रजीअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।
कांग्रेस सभापति गगन थापाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए । ‘संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो,’ उनले भने । उनका अनुसार निर्वाचन हुने नहुने द्विविधाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुन् ।
कर्मचारीले मतदान गर्न नपाए ३ लाख बढी मत समानुपातिकमा खेर जाने
काठमाडौं । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरूको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ । मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामती कर्मचारी, प्रहरी, सेना लगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन् । यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन् । मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीहरूले गुनासाे गरेका छन् । कर्मचारीहरूलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए । यदि उनीहरूले मतदान गर्न पाएनन् भने ३ लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ । यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताए ।यद्यपि यो विशेष आयोगसम्म आउनु नपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए । उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो । काठमाडौंमा अलिअलि केही कुरा आएकाे छ । हाम्रा साथीहरूले सहजीकरण गर्दै हुनुहुन्छ । नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ । साथीहरू सहजीकरणमा जुटिरहनु भएको छ ।’ उनले सबैले मतदान नै गर्न पाउने कुराको निश्चित भने नभएको संकेत गरे । भट्टराईले भने, ‘के छ स्टाटस यताबाट हुन सक्ने जति सहयोग भएकाे छ । वास्तवमा यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतहरूलाई प्रमाणित गर्ने अधिकार दिइएको छ । यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरूले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’
प्रधानमन्त्री सुशीला कार्कीले खसालिन् मत, भनिन्- म अत्यन्त खुसी छु
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।’