पूर्वराष्ट्रपति भण्डारीले गरिन् मतदान, भनिन्- लोकतन्त्रका लागि जनमत लिइनु सकारात्मक
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।
पूर्वअर्थमन्त्री प्रकाश शरण महतले मतदान गरे
काठमाडौं । प्रकाश शरण महतले बिहीबार नुवाकोट जिल्लाबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महतले पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। पूर्व अर्थमन्त्री समेत रहेका उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेको बताए । उनले मतदान केवल अधिकार मात्र नभई लोकतन्त्रप्रतिको कर्तव्य पनि भएको उल्लेख गर्दै सचेत नागरिकका रूपमा सबैलाई मतदान गरेर आफ्नो आवाज व्यक्त गर्न आग्रह गरे ।
कुवेतमा इरानी ड्रोन आक्रमणबाट अमेरिकी ६ सैनिकको निधन
काठमाडौं । कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो। सैनिकहरूको परिवारका अनुसार भवन कन्टेनर शैलीको थियो र त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था थिएन । आक्रमण भएको स्थान वरिपरि तेल ट्याङ्क, रिफाइनरी र पावर प्लान्ट रहेको बताइएको छ । पेन्टागनका अनुसार आक्रमण ड्रोनबाट भएको हो र अमेरिकी रक्षा सचिवले एयर डिफेन्सले सम्पूर्ण सुरक्षा गर्न नसकेको बताए । यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा प्रतिकारात्मक हवाई आक्रमण गरेको छ। यस घटनाले अमेरिकी सेनाको सुरक्षाबारे चिन्ता बढाएको छ।
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेकी छिन् । उनले आम मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भनिन्, ‘आदरणीय दिदीबहिनी तथा दाजु भाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।’ प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरिन् ।
पूर्वमन्त्री जनार्दन शर्माले गरे मतदान
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले आफ्नो जित सुनिश्चित भएको बताए । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । रुकुम पश्चिममा उनको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे रौतहटबाट मतदान
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटकाे गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । ४ वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
प्रचण्डले गरे मतदान, रुकुमपूर्व जाँदै
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए । संयोजक दाहालले भने, ‘समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।’ प्रचण्डले आफूलाई भने भोट हाल्न पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । बिहीबार बिहानै मतदान गरेका प्रचण्ड त्यसपछि रुकुम पूर्व जिल्ला जाने तयारीमा रहेका छन् । उनी उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
एमाले महासचिव पोखरेलले गरे मतदान
काठमाडौं । शङ्कर पोखरेलले बिहीबार तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा (एमाले) का महासचिवसमेत रहेका पोखरेल दाङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनले बिहान मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । देशभर आज प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।