प्रशिक्षणको अभावले विद्युतीय सवारीमा जोखिम बढ्दै, आफ्नै मापदण्ड आवश्यक
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग बढ्दाे छ। ईभीको प्रयोग तीव्र गतिमा बढिरहेका बेला यसको सुरक्षा, नियमन र मापदण्डबारे बहस चुलिएको छ । विशेषगरी ब्याट्रीमा आगलागीको जोखिम र चालकको भूमिकाबारे विभिन्न आशंकाहरू उठिरहेका छन् । तर, यो भ्रमबारे यातायात विज्ञहरू भने ईभी आफैमा सुरक्षित भएको दाबी गर्छन् । नेपालमा विदेशी मापदण्डअनुसार नै ईभी भित्रिने गरेको र सुरक्षामा खासै समस्या नरहेको विज्ञहरूले बताएका छन् । उनीहरू आफ्नै राष्ट्रिय मापदण्डको आवश्यकता रहेको बताउँछन् । सडक विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवका अनुसार नेपालमा विद्युतीय गाडी आयात गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिन्छ । संयुक्त राष्ट्रसंघको इकोनोमिक कमिसनले संसारभरि अटोमोबाइलसम्बन्धी मापदण्ड बनाउने र सोहीअनुसार गाडीको एप्रुभल सर्टिफिकेट, टेस्ट रिपोर्ट तथा जिओपी (प्रमाणीकरण) जस्ता कागजातहरू माग गर्ने उनले जानकारी दिए । ‘जुन गाडी अन्य देशमा चल्न योग्य हुन्छ, त्यो नेपालमा पनि स्वाभाविक रूपमा चल्न योग्य हुन्छ । जहाँजहाँ सञ्चालन अनुमति नपाउने गाडी छ, त्यो नेपालमा पनि चल्न पाउँदैन,’ यादवले विकासन्युजसँग भने । ‘यो चेक होइन, सिधै प्रमाणिकरण हो । वाहन उत्पादन भएको देशमै आधिकारिक निकायले प्रमाणित गरेर पठाएकाले नेपालमा फेरि दोहोरो परीक्षण गरिँदैन । त्यही अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कागजातका आधारमै नेपालले इन्ट्री स्वीकृत गर्छ,’ उनले थपे । सुरक्षामा समस्या छैन ईभीको सुरक्षामा कुनै समस्या नभएको यातायात विज्ञ तथा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेल दाबी गर्छन् । उनका अनुसार इभी आफैमा असुरक्षित हुने कुनै कारण नै छैन । यसको सेफ्टी स्तर पनि निकै राम्रो छ । दुर्घटनाका धेरै घटनाहरूलाई उनले चालकको अनुभवहीनता र ईभीका विशेषतासँग जोडेर हेरेका छन् । ‘नयाँ भएकाले चलाउन नजान्दा विभिन्न समस्याहरू देखिन्छन् । ईभी गाडीले झ्याप्पै स्पिड पकड्छ । गियर नहुने भएकाले कतिपय परिस्थितिमा नियन्त्रण गुम्ने सम्भावना बढी देखिन्छ,’ उनले विकासन्युजसँग भने, ‘मेरो बुझाइमा ईभी अनकन्ट्रोल हुने यही कारण हो ।’ मंसिर १६ गते केशरमहल क्षेत्रमा ईभीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका थिए । बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा ईभी कार थियो । उक्त प्रसङ्ग जोडी गजुरेलले टिप्पणी गर्दै भने, ‘त्यो पनि चलाउन राम्ररी नजानेकाकै कारण भएको जस्तो लाग्छ ।’ ब्याट्रीमा आगलागीको जोखिम र भ्रम ब्याट्रीमा आगलागीको जोखिमबारे भ्रम फैलाएको गजुरेलको भनाइ छ । ‘ईभीको ब्याट्री पनि मोबाइल जस्तै हो । ८–१० वर्षपछि बदल्नुपर्ने सामान्य कुरा हो । आगलागीको जोखिमको कुरा गर्दा डिजेल/पेट्रोल गाडीका तुलनामा ईभीको ब्याट्रीमा समस्या धेरै कम देखिन्छ,’ उनले भने । विद्युत सर्ट हुने कुरालाई उनले अलग राख्दै ब्याट्रीमा पानी परे वा ठोक्किएर पड्किने सम्भावना भए पनि आफैमा त्यस्तो दुर्घटना हुने कारण नभएको स्पष्ट पारे । चार्जिङ स्टेशनको सुरक्षाबारे मोबाइल चार्ज गरेको जस्तै भएको उनले बताए । उनले असुरक्षित हुनुपर्ने केही कारण नभएको भन्दै ढुक्क हुन आग्रहसमेत गरे । आफ्नै मापदण्ड अपरिहार्य अहिले विदेशी मापदण्डकै भरमा ईभी सञ्चालन भए पनि नेपाललाई छुट्टै मापदण्ड आवश्यक रहेको कुरामा विज्ञहरू सहमत छन् । ‘हामीले मापदण्ड बनाएको छैनौं । विदेशकै मापदण्ड अनि सर्टिफिकेटको आधारमा हामीले गाडीहरू छुट्टाउने गर्छौं,’ गजुरेलले भने, ‘तर एकदमै आवश्यक छ । गाइडलाइन स्ट्यान्डर्ड त बनाउनै पर्छ ।’ सरकारले यसका लागि पहल गरिरहेको र बनाउने भनेर लागि परेको उनको भनाइ छ । उनका अनुसार कहिलेसम्म बन्ने भन्नेबारे टुंगो छैन । सडक सुरक्षा रणनीतिमा ईभी विशेष सेक्सन जोड्नुपर्ने आवश्यकतालाई पनि यातायात विज्ञ गजुरेलले महत्त्वपूर्ण मानेका छन् । ‘अघिल्लो संरचनामा ईभीको कुनै छुट्टै अवधारणा थिएन,’ उनले भने, ‘अब नयाँ ऐन–नियम बनाउनुअघि ईभीलाई अनिवार्य रूपमा समेट्नैपर्छ । ’ विद्युतीय गाडीका चालकका लागि विशेष प्रशिक्षण आवश्यक भएको उल्लेख गरे । उनले भने, ‘प्रशिक्षण त सबैले गर्नुपर्छ । अहिले नगरेका कारण नै समस्या देखिएको हो । ’ उनका अनुसार इन्धनबाट चल्ने गाडीका चालकहरू पनि आवश्यक परीक्षण र प्रशिक्षणको दायराभित्र आउनैपर्छ। नेपालमा विद्युतीय सवारी साधनको लहर बढिरहेका बेला यसको सुरक्षामा खासै चिन्ता लिनुपर्ने अवस्था नरहेको तर दिगो नियमन र सुरक्षाका लागि आफ्नै राष्ट्रिय मापदण्ड तथा चालक प्रशिक्षणको खाँचो रहेको उनको भनाइ छ।
महिन्द्राका गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले गर्याे ७.१३ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख रुपैयाँ र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०१६ मा कम्पनीले १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउटलेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
फक्सवागनको ठूलो दाउ : बजार जोगाउन १८६ अर्ब डलर लगानी गर्ने
काठमाडौं । फक्सवागन समूहले सन् २०३० सम्म १६० अर्ब युरो (१८६ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । उक्त घोषणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले गरेका हुन् । कम्पनीका दुई प्रमुख बजारहरू चीन र संयुक्त राज्य अमेरिकामा आएको ठूलो संकटको बीच यूरोपको शीर्ष अटो निर्माता खर्च कटौतीतर्फ उन्मुख भएको संकेत हो। वार्षिक रूपमा अपडेट गरिने फक्सवागनको पाँच वर्षे लगानी योजनाअनुसार कुल खर्च २०२५–२०२९ अवधिका १६५ अर्ब युरो र २०२४–२०२८ अवधिका १८० अर्ब युरोसँग तुलना हुन्छ । २०२४ लाई खर्चको शीर्ष वर्षका रूपमा लिइएको थियो । त्यसयता पोर्शे र अडी ब्रान्ड समेट्ने फक्सवागन अमेरिकाबाट आयातमा लगाइएका शुल्क र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाबाट दबिएको छ । यसले विशेषगरी पोर्शेको नाफामा ठूला असर पारेको छ किनकि पोर्शेले आफ्ना करिब आधा कार यिनै दुई बजारमा बेच्ने गर्छ । पोर्शेले आफ्नो विद्युतीय सवारीसाधन रणनीतिमा व्यापक कटौती गर्ने घोषणा पनि गरिसकेको छ । साप्ताहिक पत्रिका फ्याङ्कफुर्टर फ्रान्कफुर्टर आल्गेमाइन सोन्टाग्सायतुङसँगको कुराकानीमा ब्लुमेले नयाँ खर्च योजनाको केन्द्रबिन्दु ‘जर्मनी र यूरोप’ हुने बताए । उनले पोर्शेमा थप बचत कार्यक्रमबारेको छलफल २०२६ सम्म जारी रहने बताए । जनवरीदेखि पोर्शे सीईओ पद छोडेर केवल फक्सवागनको नेतृत्वमा ध्यान दिने ब्लुमेले जनाएछन् । उनका अनुसार अडीका लागि सम्भावित अमेरिकी प्लान्टको निर्णय वाशिङ्टनले दिने आर्थिक सहयोगको स्तरमा निर्भर हुनेछ । चीनमा पोर्शेको वृद्धि अपेक्षित नभए पनि ब्लूमेले फक्सवागन समूहभित्र स्थानीय उत्पादन सम्भव हुने बताए । साथै चीनका लागि छुट्टै डिजाइन गरिएको पोर्शे मोडेल भविष्यमा अर्थपूर्ण हुनसक्ने टिप्पणी गरे । फक्सवागन ग्रुपले २०२५ को तेस्रो त्रैमासिकमा १.३ अर्ब यूरो सञ्चालन घाटा दर्ज गरेको छ । विगत वर्षको सोही अवधिमा कम्पनीले २.७ अर्ब यूरो नाफा कमाएको थियो । कम्पनीका अनुसार घाटाको मुख्य कारण पोर्सेको विद्युतीय कार रणनीतिमा गरिएको पुनरावलोकन हो, जसअन्तर्गत आएको खर्च वृद्धि तथा एकमुष्ट खर्चले समूहको नतिजालाई ठूलो दबाबमा पारेको छ । यसबाहेक अमेरिकी आयातशुल्कले पनि फक्सवागनको व्यापार लागत उल्लेख्य रूपमा बढाएको बताइएको छ।