अब ‘सीपीए’ पढाइ नेपालमै, विद्यार्थी विदेश जानुपर्ने बाध्यताको अन्त्य : विगेन्द्रलाल श्रेष्ठ

प्राइम कलेजका कलेजका प्रिन्सिपल विगेन्द्रलाल श्रेष्ठ । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । काठमाडौंको नयाँ बजारमा रहेको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतको केपीएमजी कम्पनीसँग सहकार्य गर्दै कलेजले सीपीए टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेको हो । विश्वव्यापी रूपमा मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्न विदेश जानुपर्ने नेपाली विद्यार्थीको बाध्यता अन्त्य गर्दै नेपालमै सुरु गर्न लागिएको सीपीए कार्यक्रम के हो ? विद्यार्थीले  सीपीए कसरी पढ्न सक्छन् ? हामीले कलेजका प्रिन्सिपल विगेन्द्रलाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश : प्राइम कलेजले नेपालमा पहिलो पटक सुरु गरेको सीपीए के हो ? सीपीए एक अन्तराष्ट्रिय रूपमा मान्यताप्राप्त प्रमाणपत्र हो । नेपालीमा यसलाई ‘प्रमाणित सार्वजनिक लेखापाल’ भनिन्छ । यो एक पेशागत प्रमाणपत्र हो, जसले वित्तीय रिपोर्टिङ, अडिट, कर व्यवस्थापन, र लेखापरीक्षणजस्ता विषयमा विशेषज्ञता जनाउँछ । सीपीए पास गरेपछि व्यक्ति वित्तीय तथा लेखा क्षेत्रमा व्यावसायिक सेवा प्रदान गर्न योग्य हुन्छ । यो कलेजले त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजर दिऊँ भन्ने उद्देश्यले यो वर्षदेखि सञ्चालन गरेको हो । सीपीए नेपालमा सञ्चालन गर्न किन आवश्यक छ ? नेपालमा अकाउन्टिङ, फाइनान्समा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अहिले नेपालमा पनि विभिन्न अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थासँगको साझेदारी बढ्दै गएको छ । विश्वका विभिन्न कम्पनीका कामहरू नेपालमै बसेर गर्नुपर्ने अवस्था आइरहेको छ । यस्तो अवस्थामा किन यसको फाइदा हामीले नलिने, नेपाली विद्यार्थीलाई नेपालमै बसेर यो कोर्स पढ्ने सुविधा किन नदिने भनेर नै हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं । याे कार्यक्रम कस्ता विद्यार्थीले पढ्न पाउँछन् ? याे कोर्स पढ्नका लागि विद्यार्थीका लागि केही शैक्षिक योग्यता र मापदण्ड छन् । कोर्सका लागि विद्यार्थीले लेखा, व्यापार प्रशासन, अर्थशास्त्र, वित्तलगायतका विषय लिएर ब्याचलर्स पास गरेको हुनुपर्छ । प्राइम कलेजले लेखा, व्यापार प्रशासन, अर्थशास्त्र, वित्त लगायतका विषयमा स्नातक तह उत्तीण गरी स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । कोर्स पढ्न कति समय लाग्छ ? सीपीए कोर्स सक्न कति समय लाग्छ भन्ने कुरा विद्यार्थीमा भर पर्छ । सामान्यतया सीपीएको चारवटा खण्ड एफएआर, एयुडी, आरइजी र बीइसीका लागि तयारी गर्न ६ महिना देखि २ वर्ष लाग्न सक्छ । विद्यार्थीले आफ्नो तालिकाअनुसार यी खण्डहरू पुरा गर्न छुट्टाछुट्टै समयमा परीक्षा दिन सक्छन् । जसले गर्दा तयारीको समय फरक पर्न जान्छ । नियमित परीक्षा दिने मिहिनेत गर्ने विद्यार्थीले करिब १ वर्षमा तयारी गर्न सक्छन् भने काम गरिरहेका व्यक्तिहरूले थप समय लिन सक्छन् । परीक्षाको तयारी गर्न सामान्यतया ६ महिना देखि २ वर्षसम्म लाग्न सक्छ । धेरै देशमा सीपीए प्रमाणपत्र पाउनका लागि परीक्षा उत्तीर्ण गर्नुको साथै १–२ वर्षको व्यावसायिक अनुभव पनि आवश्यक हुन्छ । जसले लेखापरीक्षण, वित्तीय रिपोर्टिङ वा सम्बन्धित क्षेत्रमा कामको अनुभव दिन्छ । समग्रमा, यदि सबै शर्तहरू पूरा गर्नु पर्छ भने सीपीए बन्न करिब ५–७ वर्ष लाग्न सक्छ । मास्टर्स र यो कोर्स एकै साथ पढ्न मिल्छ वा यो कोर्स छुट्टै गर्नुपर्छ, के हो ? दुईवटै मोडालिटी छ । विद्यार्थीहरू एमबीएस सुरु गर्ने बेलामा उहाँहरूको चार सेमेस्टर हुन्छ । सीपीएको तयारी जुन कलेजले सुरु गर्न लागेको छ यसमा पनि चारवटै सेमेस्टर पास गर्नुपर्ने हुन्छ । विद्यार्थीले एमबीएस पनि पढ्न र साथै तयारी कक्षा पनि लिन सक्छन् । तर अहिले भने जसले अगाडि नै मास्टर्स सकिसकेका छन् वा अरू कलेजमा पनि हुनुहुन्छ भने उहाँहरू पनि यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । सीपीएकाे सुरुवात कहाँबाट भएकाे हाे ? यसले अकाउन्टिङ कसरी गर्ने, अडिटिङ कसरी गर्ने, फाइनान्सको रिपोर्ट कम्पनीले सार्वजनिक गर्छ, त्याे ठिक छ कि छैन भनेर भेरिफाइ गर्छ । यसको सुरुवात अमेरिकाबाटै भएको हो । तर अहिले सीपीएको एडप्सन धेरै देशमा भएको छ । यसमा कतिपय देशले केही कुरामा लोकलाइज पनि गरेको छ । नेपालको सन्दर्भमा कम्पनीहरूलाई अवश्यकता छ/छैन, आउँदो दिनमा यो कुरा पनि हेर्न सक्नुहुन्छ । केपीएमजी इन्डियाले पनि परीक्षा सुरु गरेको चार वर्ष जति भयो । चार वर्षमा उनीहरूकाे विकास देख्नुभयो नि । नेपालमा पनि धेरैजना विद्यार्थी यो क्षेत्रमा आउन खोजिरहनुभएको छ । यो कोर्सअन्तर्गत विभिन्न लेखा, वित्तीय र व्यवसायसम्बन्धी विषयहरूको अध्ययन गरिन्छ । यी विषयहरू लेखापालक क्षेत्रमा काम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्छन् । सामान्यतया सीपीए कोर्समा वित्तीय सिद्धान्त, लेखा नीति, खर्च व्यवस्थापन, आय व्यवस्थापन, लेखापरीक्षण प्रक्रिया र नियमनलगायतका विभिन्न कुरा अध्ययन गर्नुपर्ने हुन्छ । नेपालमै बसेर विश्वका कम्पनीका काम गर्न सकिन्छ । यही अवसरका लागि हामीले ठाउँ उपलब्ध गराएका हौं । यसको पढाइ अनलाइनमार्फत हुन्छ ? नेपालमा पहिलो पटक एकेडेमिक रूपमा यो कलेजले सीपीएको कोर्स सुरु गरेको हो । नेपालका विद्यार्थीले पहिलो पटक अध्ययन गर्न पाउने भएका छन् । याे पढाइ भर्चुअलरूपमै हुन्छ । केपीएमजीसँग यसको धेरै ज्ञान छ । विश्वका ठूलठूला कम्पनीमा उसँग काम गरेको अनुभव छ । भारतका विज्ञहरू हुनुहन्छ, उहाँहरूले अध्यापन गराउनुहुन्छ । समय समयमा प्रत्यक्ष विद्यार्थीसँग मिलेर पनि उहाँहरूले सिकाउने काम गर्नुहुन्छ । केही विद्यार्थीहरू भारतमै गएर अध्ययन गरेको पनि पाइन्छ । यसो गर्दा उहाँहरूले विभिन्न चुनौती पनि खेप्नुपर्‍याे । पहिलो पटक कति विद्यार्थी भर्ना गर्ने योजना छ ? अहिले यो कलेजले भखरै सम्झौता गरेको छ । अब हामी यो वर्षदेखि भर्ना सुरु गर्छाैं । सुरुमा हामीले यसको गुणस्तरलाई ध्यान दिँदै धेरै विद्यार्थीलाई भर्ना नगराएर ३० जना विद्यार्थी लिएर कोर्स सुरु गर्ने योजनामा छौं । तर पछि दिनमा राम्रो हुँदै गयो भने विद्यार्थीको संख्या थप्छौं । सीपीए पढेपछि विद्यार्थीकाे भविष्य ढुक्क हाे ? यो कोर्स केपीएमजी आफैले तयार पारेको हो । यो कार्यक्रमलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने विषयमा उसले नै सहयोग गर्दै आइरहेको छ । विद्यार्थीलाई पास गराउने मात्र उद्देश्य होइन । यो क्षेत्रमै भविष्य निर्धारण गराउन के गर्ने भन्नेबारे हामीले सोचेका छौं । भर्चुअल कक्षालाई नै जाेड दिने विचारमा हाे ?  भारतमा मात्र सीपीए पढाइ हुँदैन । अहिले साउथ एसियाबाटै धेरैजना भर्चुअल कक्षा लिन्छन् । अहिले हामी पनि त्यस्तै गर्ने छौं । बिस्तारै कक्षाकोठाभित्र शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने वातावरण सिर्जना गर्ने योजना छ । एउटा सेमिस्टरमा एउटा भिजिट गर्ने छन् । विद्यार्थीले परीक्षा कसरी दिन्छन् ? नेपालमा पढ्ने विद्यार्थीले परीक्षा दिन भारतमै जानुपर्ने बाध्यता छ । विद्यार्थीहरूले नजिकका अन्तर्राष्ट्रिय परीक्षा केन्द्रमा गएर परीक्षा दिनु पर्छ । नेपालबाट परीक्षा दिनु पर्ने देशहरूमा भारत, दुबई, सिंगापुर वा अन्य देशमा रहेका परीक्षा केन्द्र समावेश हुन्छन् । हाम्राे यहाँ पनि परीक्षा केन्द्र छ । वर्षमा एक पटक परीक्षा हुन्छ तर त्यसमा पनि कुन समयमा गर्ने भन्ने हुन्छ । त्यसका लागि हामीले सहयोग गर्छौं । चार्टर अकाउन्टेन्ट (सीए)मा कुनै एक विषय लाग्दा पूरै विषयको परीक्षा दिनुपर्छ, के सीपीएमा पनि त्यस्तै हो ? विद्यार्थीहरूले चारवटा फरक फरक भाग (खण्ड) मा परीक्षा दिनुपर्छ । यी चार परीक्षा एफएआर, एयुडी, आरइजी र बीइसी छुट्टाछुट्टै मितिमा परीक्षा दिन सकिन्छ । विद्यार्थीले आफ्नो समयअनुकूल परीक्षा मिति छनोट गर्न सक्छन् । प्रत्येक परीक्षा खण्डमा कम्तीमा ७५ प्रतिशत अंक प्राप्त गर्नुपर्छ । विद्यार्थीले एक पटक पास गरेको खण्डको १८ महिनाको समयावधि हुन्छ । जसको भित्र बाँकी खण्डहरू पनि पास गर्नुपर्छ । यदि समयभित्र सबै खण्ड पास भएन भने पास गरिएको खण्डको नतिजा समाप्त हुन्छ र फेरि परीक्षा दिनु पर्छ । असोसिएसन अफ चमर्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (सीसीए) चार्टर्ड एकाउन्टेन्ट् (सीए) र सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) मा के फरक छ ? असोसिएसन अफ चमर्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (सीसीए), चार्टर्ड एकाउन्टेन्ट् (सीए) नेपालमा सुनिरहने शब्द हो । धेरै विद्यार्थी यसमा अध्ययन पनि गरिरहेका छन् । तर सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) नेपालको हकमा केही नयाँ हो । यो अमेरिका, अस्ट्रेलियालगायतका कम्पनीमा काम गर्न चाहनेहरूका लागि फाइदाजनक छ । यसको मुख्य फाइदा भनेको छोटो समयमै कोर्स पुरा हुनु हाे । चार्टर्ड एकाउन्टेन्ट(सीए) यसको विपरीत छ । जुन नेपालमा भारतको आइक्यानद्वारा नियन्त्रित छ । यो पास गर्न लामो समय लाग्छ । त्यस्तै, असोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस् (सीसीए) जुन यूकेमा आधारित छ । यो कोर्स पुरा गर्न २ देखि ३ वर्ष लाग्छ । यो कलेजको काम पढाइदिने मात्र हो कि कुनै रोजगारको अवसर सिर्जना गराइदिने पनि हो ? हाम्रा काम शिक्षा दिनुसँगै हामीकहाँ रहेका क्षमतावान विद्यार्थीलाई अन्तराष्ट्रिय एक्सपोज उपलब्ध गराउनु पनि हो । यसमा हामीले केपिएमजीसँग सहकार्य गरिरहेका छौं । नेपालमा पनि विभिन्न कम्पनीहरू छन् । जसलाई दक्ष कामदार आवश्यक परेको हुन्छ । यस्तो अवस्थामा हाम्रा विद्यार्थीहरूलाई अवसर सिर्जना गराइदिन्छौं । यो विषय पढेका विद्यार्थीलाई कामको अवसर कति छ ? नेपालमा पनि होइन, विश्वस्तरमै यो विषय पढेका विद्यार्थीलाई कामको अवसर धेरै छ । अकाउन्टिङ फाइनान्समा भविष्य बनाउन चाहनेहरूलाई राम्रो छ । अहिले संसारमै कम्पनीहरू बढिरहेका छन् । यसलाई व्यवस्थापन गर्न, अडिट गर्न दक्ष कामदरको आवश्यकता पर्छ । हाम्रै नेपालको कम्पनीमा पनि सीपीए पढेको विद्यार्थी कोही छ भनेर सोधिरहेका हुन्छन । कतिपय कम्पनीलाई हामीले त्यस्ता व्यक्ति उपलब्ध पनि गराएका छौं । यसैको आवश्यकतालाई मध्यनजर गर्दे हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं । अहिले धेरैजसाे कलेजलाई विद्यार्थी पाउन गाह्रो भएको छ, तपाईंहरूले नयाँ कार्यक्रम थपिरहनुभएको छ, कस्तो छ कलेजमा विद्यार्थीको चाप ? हाम्रो कलेजमा अहिले ब्याचलर्स र मास्टर्स लेभलका कार्यक्रमहरू भइरहेका छन् । अहिले विद्यार्थी नपाउने समस्या छैन । कलेजलाई विद्यार्थी अनि अभिभावक दुइटैले विश्वास गर्छन् । तर पछिल्लो समय एउटा विद्यार्थीको समूह छ जसलाई बाहिर जान मन पर्छ । यसलाई राम्रो नराम्रो दुइटै रूपमा लिन सकिन्छ । मैले के पढ्ने ? कहाँ पढ्ने ? यो उनीहरूको अधिकार पनि हो । अहिले धेरै जस्तो कलेजलाई ब्याचलर्समा विद्यार्थी पाउन गाह्रो नै छ । तर हाम्रो कलेजमा सञ्चालन भइरहेका ७ वटा कार्यक्रममा आवश्यक सीट संख्या पुरा भइरहेको छ । हामीले कलेजमा आउने विद्यार्थीलाई पढाइमात्र विभिन्न कम्पनीसँग सहकार्य गरेर काम गर्ने अवसर पनि प्रदान गरिरहेका छौं । तपाईं एउटा कलेजको प्रिन्सिपल भएको नाताले अहिलेको नेपालको शैक्षिक अवस्था शिक्षा प्रणालीलाई कसरी हेर्नुभएको छ ? नेपालको शिक्षा प्रणाली राम्रो छ । बच्चालाई मिहिनेत गर्नुपर्छ भन्ने सिकाइन्छ यो राम्रो कुरा हो । अलिकति नयाँपुस्ता अहिले आइरहेका छन् । अहिलेका विद्यार्थीको विदेश मोह बढेको छ । तर, नेपालका शैक्षिक संस्थाले नयाँ कार्यक्रम ल्याउन सक्यो भने बाहिर जाने विद्यार्थीलाई हामीले यही रोक्न सक्छौं । अहिलेका विद्यार्थी निकै क्षमतावान छन् । शिक्षा भनेको पढ्ने मात्र होइन, यसले समाज कस्तो बनाउने, कस्ता व्यक्ति उत्पादन गर्ने भन्नेमा पनि भूमिका खेल्छ । विशेष गरी प्रविधिलाई जोड दिँदै यस्ता कुरामा ध्यान दिएर शिक्षा दिन सुरु गरियो भने नेपाली विद्यार्थी नेपालमै बस्छन् र पढ्छन् पनि । अन्त्यमा सीपीए कर्यक्रमबारे के भन्नुहुन्छ ? सीपीए हाम्रो इनिसिएटिभ पनि हो । विश्वस्तरमा पढाइ भइरहेको यो कोर्स पढ्ने अवसर नेपालमै दिन्छौं भनेर जुन हामीले आफ्नो विद्यार्थीलाई प्रमिस गरेको छौं, यो पुरा गर्छौं । जो नेपालमै हुनुहन्छ, जसलाई यो कोर्स गर्न मन छ, उहाँहरूका लागि हामीले एउटा प्लेटफर्म दिएका छौं । अब यो कोर्स गर्नकै लागि नेपालीहरूले बाहिर जान पर्दैन । हामीले नेपालमै कोर्स गर्न पाउने अवसर दिएका छौं ।

‘अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना’

काठमाडौं । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्लेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीस वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका छन् । राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश : कोषले २९औं वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ । साधारणसभाले के सन्देश दिएको छ ? कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ । यो कोषको २९औं साधारणसभा हो । साधारणसभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ । कोषले नियमित रुपमा आफ्ना सेयरधनीहरूलाई उचित प्रतिफल दिँदै आएको छ । एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९/८० वितरण गरेको बोनस सेयरपश्चात कोषको चुक्ता पुँजी छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अहिले कोषले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ? कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेका कार्यक्रमरूमा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन् । कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरुको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छ भने सार्वजनिक संस्थान र अन्य सङ्गठित संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ । यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिहरुमा समेत कोष संलग्न रहेको छ । सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ? कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ । कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ । हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन् । सेवाग्राहीबाट सङ्कलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरुलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ । सहभागीलाई ऋणको किस्ता भुक्तानीलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन प्राथमिकताका साथ कार्य भइरहेको छ । सहभागीहरुलाई डिजिटल परिचयपत्र दिनेतर्फ समेत कोषले कार्य गरिरहेको छ । कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ? गत आवको असार मसान्तसम्म कोषमा २४९ अर्ब रुपैयाँ कोष मौज्दात जम्मा भएको छ । सो समयमा कोषको लगानी २४३ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानीमा रहेको छ । करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छभने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ । सरकारी ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ । यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ । लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील रहेको छ । कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ? कोषका योजनाहरुमध्ये धेरैजसो योजनहरु राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो । यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरुले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा रहेको छ । यस योजनामा न्यूनतम पाँच सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था रहेको छ । उहाँहरुले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरुको इच्छाअनुसार मासिक पेन्सनका रुपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ । यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुआतदेखि नै स्थानीय निकायसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौंँ । यसैगरी, वैदेशिक रोजगारमा रहनुभएका र वैदेशिक रोजगारमा जानुहुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचारप्रसार गर्ने, उहाँहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ । सबै नेपालीहरुले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकाङ्क योजना पनि हो । लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता फरकफरक संस्था आवश्यक थियो र ? यी संस्थाहरुको कतिपय कार्य समान प्रकृतिका भए पनि यी संस्थाहरु भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका हुन् । यी संस्थाहरुले हाल सञ्चालन गर्दै आएका केही कार्यहरु मिल्दाजुल्दा प्रकृतिका छन् । पछिल्लो समय कतिपय प्रसङ्गमा यी संस्थाहरुलाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि आउने गर्दछ । सञ्चय कोष राष्ट्र सेवक कर्मचारीहरुसँग लक्षित रहेको छ । सामाजिक सुरक्षा कोष भने औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कार्यमा रहेको छ । लगानी कोषले भने विशिष्टीकृत ढङ्गले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम/योजना सञ्चालन गरेर स्वेच्छिक प्रकारको अवकाश योजनाहरु सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारीहरुका लागि योगदानमा आधारित सावधिक जीवन बीमा कोष सञ्चालन गर्ने र पुँजी बजारको विकासका लागि आवश्यक कार्य गर्ने गर्दछ । यी तीनवटै संस्थाहरु नेपाल सरकारको समेत स्वामित्व भएका संस्था भएकाले आवश्यकताका आधारमा नै स्थापना भएका हुन् । कोषले लगानी विविधीकरण गर्न सकेन भन्ने कुरामा यहाँ के भन्नुहुन्छ ? कोषमा योगदान गर्नुहुने सहभागीको पैसालाई कोषले लगानी गर्दा सतर्कताका साथ जोखिम रहित ढङ्गले लगानी गर्नु पर्दछ । यसरी गरिने लगानीबाट उचित प्रतिफल समेत प्राप्त हुने गरी लगानी गर्नुपर्दछ । कोषका सहभागीहरु राष्ट्रसेवक कर्मचारी, संघसंस्थामा काम गर्ने कर्मचारीहरु क्रमिक रुपमा अवकाश हुँदै जानुहुन्छ । अवकाश कोष सञ्चालन गर्ने संस्थाले उहाँहरुलाई नियमित रुपमा भुक्तानी गर्ने गरी तरलताको व्यवस्थापन पनि गर्नुपर्दछ । यो भन्नाले मुद्धती निक्षेपमा धेरै रकम राख्नुपर्छ भन्ने पनि होइन । तर, मुद्दती निक्षेप पनि आवश्यक भएको क्षेत्र हो । कोष सामु लगानीलाई थप विविधिकरण गर्नु पर्ने चुनौतीहरु रहेको छ । हाल औसतमा ५२ प्रतिशत जति रकम मुद्दती निक्षेपमा रहेको छ । यसलाई विविधीकरण गर्नेतर्फ कोषले योजना बनाई कार्य अघि बढाएको छ । खासगरी सरकारी पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन आवश्यक नीतिगत सुधारका लागि कार्य भइरहेको छ । यसैगरी विशिष्टीकृत कोष र पुँजी बजारमा लगानी बढाउन कोष लागि परेको छ । अर्थात् कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ? कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ । विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ । नेपालको परिवेशमा हेर्दा हाल जलविद्युत्को क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ । अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ । ‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ । लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा रहेको छ । उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ । यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत कोषको रहेको छ । कोषलाई सेवाग्राहीले कसरी लिने ? सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीहरुलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस/प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ । सहभागीहरुलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ । कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीहरु तथा अन्य संघसंस्थाका कर्मचारीहरुका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानु भएका दाजुभाइ दिदीबहिनीहरुलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । अन्त्यमा के भन्न चाहनुहुन्छ ? नागरिक लगानी कोषले सहभागीहरुको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतको लागि विभिन्न अवकाश योजनाहरु सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीहरुले कोषको योजनामा सहभागिता जनाइसक्नु भएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका, एवं कृषि पेसामा रहनुभएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्दछु । यसैगरी, नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीहरुलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोषप्रति विश्वास गर्दै यसका योजनाहरुमा सहभागी हुन सबैमा पुनः आग्रह गर्न चाहन्छु । रासस

‘बैंकिङ क्षेत्र छिट्टै बाउन्स ब्याक हुन्छ, लाभांश सोंचेअनुसार पाइन्छ’

सुनिल केसी बैंकिङ क्षेत्रमा परिचित नाम हो । वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्ष बनेर काम गरिरहेका केसी एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । केसी एनबीएको अध्यक्ष भएकै समयमा बैंकिङ क्षेत्रले ठूलो सकस भोगिरहेको छ । विशेषगरी कोरोना महामारीपछि सिर्जित मन्दीको चपेटामा बैंकिङ क्षेत्र पनि पर्‍याे । अहिले बैंकिङ क्षेत्रले खासै राम्रो पफर्मेन्स गर्न सकिरहेको छैन भने सेयरधनीहरूले पनि अपेक्षाअनुसारको प्रतिफल पाउन सकेका छैनन् । ऋणीले ऋणको माग नगर्दा बैंकरहरू ग्राहक खोज्न घरमै जानुपर्ने स्थितिको सिर्जना भएको छ । यो परिस्थितिमा बैंकरले के कसरी काम गरिरहेका छन् ? बैंकिङ क्षेत्रको यो सकस कहिलेसम्म रहला ? सेयरधनीले कहिले पाउलान् अपेक्षा गरेअनुसारको प्रतिफल ? बैंकिङ क्षेत्रमा भविष्य खोजिरहेको युवाजगतले अब कसरी अगाडि बढ्ने ? यी र यस्तै जिज्ञासाको जवाफ खोज्न हामीले सीईओ केसीसँग विकास वहस गरेका छौं । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश : बैंकिङ क्षेत्रको अहिलेको माहोल कस्तो छ ? उकुसमुकुस भएको धेरै वर्ष भयो । नकारात्मकता बढेको छ । यसलाई विस्तारै सकारात्मकतर्फ डोर्‍यायाे भने माहोल राम्रो हुन सक्छ । कोभिड–१९ महामारीका कारण विश्वभरि नै शताब्दीको ठूलो संकट आइपर्‍याे । महामारीले मनोविज्ञानमा असर परेको छ । त्यसबाट बाहिर आउँदा सकारात्मक सोंचतर्फ अघि बढ्नपर्ने हुन्छ । अहिले जुनसुकै पेसा व्यवसाय र क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छ । कुनैबेला ‘ग्ल्यामरस’ क्षेत्रका रूपमा चिनिएको बैंकिङ क्षेत्र र बैंकरहरू पनि खत्तमै हुन् भनिन्छ । तपाईंले पनि समाजमा नकारात्मकता बढेको र माहोल त्यतैतिर लागेको भन्नुभयो । यसको जड के रहेछ ? संधै समय समान रहँदैन । उतारचढावहरू भइरहन्छ । सरकारी बैंकबाहेक नेपालको बैंकिङ युवा अवस्थामा छ । । सरकारी बैंक छाडेर हेर्ने हो भने निजी बैंकहरू सञ्चालनमा आएको ४० वर्षमात्रै पुगेको छ । यस अवधिमा नेपाल बैंकिङ क्षेत्रका लागि केही राम्रा काम पनि भएका छन् । २०४६/४७ सालपछि बैंकिङ वृद्धि उल्लेख्य बढेको देखिन्छ । यस अवधिमा समग्र अर्थतन्त्रले पनि गति लियो । अर्थतन्त्रमा बैंकिङ क्षेत्रको ठूलो योगदान छ । थुप्रै बैंकहरू सञ्चालनमा आउँदा धेरै परिवर्तन पनि आयो । तर, पछिल्लो समय अप्ठ्याराे परिस्थिति आउँदा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्नु स्वाभाविक हो । बैंकिङ क्षेत्र आफैले एक्लै केही गर्न सक्दैन । बैंकको पफर्मेन्स निजी क्षेत्र वा व्यावसायिक क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहन्छ । जनताको आवद्धता र सरकारसँग पनि नजिकको सम्बन्ध हुन्छ । त्यसैले बैंकिङ क्षेत्र र अर्थतन्त्रबीच एकआपसमा सम्बन्ध रहन्छ । तैपनि गत वर्ष बैंकिङ क्षेत्रले ४० अर्ब कर तिरेका छन् । आफ्नो तर्फबाट गर्न सक्ने काम बैंकिङ क्षेत्रले गरिरहेको छ । अप्ठ्याराे परिस्थितिका कारण नकारात्मक भाष्य निर्माण भएका हुन् । यो राम्रो विषय होइन । तर, समयअनुसार विस्तारै कम हुँदै जान्छ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भूतप्रभावी कानुन बलपूर्वक लागू गरेपछि बैंकहरूले ४० अर्ब कर तिरे । त्यसमा पनि महालेखाको टिप्पणी, कानूनी र करका विवाद थिए । बैंकरहरूले अदालतमा मुद्दा हाले पनि हारे । यो घटनालाई स्मरण गर्दा कसरी समीक्षा गर्नुहुन्छ ? सर्वाेच्च अदालतले निर्णय गरेको विषयमा धेरै प्रतिक्रिया दिनु उपयुक्त हुँदैन । सरकारले गरेको यो निर्णयले सकारात्मक सन्देश दिँदैन । विदेशी लगानी (एफडीआई) कम आएको सन्भर्दमा नीतिगत अस्थिरता हुँदा समस्या आउँछ । यस्तो हुँदा विदेशी लगानीकर्तामा सही सन्देश जाँदैन । किनभने नेपाल जस्तो देशले धेरै अगाडि बढ्नुपर्ने र धेरै वृद्धि गर्नुपर्ने छ । जसको लागि ठूलो पुँजीको आवश्यकता पर्छ । नेपालमा लगानी गर्न योजना बनाएका लगानीकर्ताका लागि नीतिगत अस्थिरता सही सन्देश गएको छैन । भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । थप बहस गर्ने भन्दापनि सरकारले भविष्यमा यस्ता निर्णय गर्नुहुँदैन । यहाँबाट धेरै पाठ सिक्नुपर्ने हुन्छ । यदि त्यो रकम हामीसँग हुन्थ्यो भने थप लगानी गरेर धेरै प्रभावकारी काम गर्न सकिन्थ्यो । सरकारको ढुकुटीमा त्यो रकम गइसकेपछि कहाँ लगानी भयो भन्ने विषयले पनि अर्थ राख्छ । एनएमबी बैंकमा विदेशी लगानीकर्ता एफएमओ छ । विदेशी लगानीकर्तामा नकारात्मक सन्देश गयो भन्नुभयो । एफएमओको प्रतिनिधिले यो घटनालाई कसरी चित्रण गरे ? एनएमबी बैंकको सबैभन्दा ठूलो सेयरधनी एफएमओको करिब १४ प्रतिशत लगानी छ । एफएमओले भिन्न बैंकिङ, अर्थतन्त्रमा सहयोग पुग्नेगरी नवीकरणीय ऊर्जा, स-साना एसएमईज कर्जामा लगानी गर्न प्रोत्साहन गरिरहन्छ । लगानी गरेपछि सम्बन्धित देशको नियामकले लागू गरेका नियम पालना गर्नैपर्ने हुन्छ । विदेशी लगानी रहेका बैंकका लगानीकर्ता र भविष्यमा नेपालमा लगानी गर्ने योजना बनाएका लगानीकर्तामा कस्तो प्रभाव पर्‍याे भन्ने विषय महत्त्वपूर्ण रहन्छ । नीतिगत अस्पष्टता, फरक समयमा फरक नीति लागू गर्दा पर्ने असर ठूलो हुन्छ । यसले तत्काल असर देखिने भन्दा पनि दीर्घकालमा ठूलो असर पर्ने गर्छ । त्यतिबेला ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसपछि सहज वातावरण बनाएर विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन तथा पूर्वाधार सम्मेलन गर्नुपर्ने स्थिति आउँछ । १०/१२ अर्ब रुपैयाँ ठूलो रकम होइन । तर, त्यसको असर कति पर्छ भनेर अध्ययन विश्लेषण गर्नुपर्ने हुन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १८ वर्ष काम गर्नुभयो । एनएमबीमा जोडिनुभएको १६ वर्ष बढी भयो । ३४/३५ वर्षको बैंकिङ अनुभवलाई स्मरण गर्दा कति स्मरणीय रह्यो ? सन् १९९० मार्चबाट बैंकिङ करिअर सुरु गरेको हुँ । ३५ वर्ष फर्केर हेर्दा निकै लामो यात्रा पार गरेको जस्तो लागिरहेको छ । यस क्षेत्रमा रमाइलो मानेर काम गरेको हुँदा यति लामो समय कटेको लाग्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेर यहाँसम्म आइपुग्दा बैंकिङ क्षेत्रमा धेरै परिवर्तन भए । हामीले बैंकिङ अभ्यास गर्दा ३ वटा विदेशी लगानीका बैंक र ३ वटा सरकारी बैंकमात्रै थिए । उतिबेला ग्राहक बैंकमै धाउनुपर्थ्याे । बैंक खाता खोल्न पनि थुप्रै दिन लाग्थ्यो । सरकारी बैंक मात्रै हुँदा सामान आयात गर्ने वा निर्यात गर्न एलसी खोल्नुपर्‍याे भने एक महिना समय लाग्थ्यो । तीनवटा विदेशी लगानीका बैंक सञ्चालनमा आएपछि उनीहरूले विदेशमा भइरहेको राम्रो अभ्यासलाई नेपालमा भित्र्याए । त्यतिबेला सबै काम म्यानुअल हुन्थ्यो भने अहिले सबै काम अटोमेटेड कम्प्युटरबाट हुन्छ । बैंकका हिसाब क्याल्कुलेटर थिचेर गरिन्थ्यो । तर, कामको सिकाइ भने पक्का हुन्थ्यो । अहिले कुनै काम गर्नुपर्‍याे भने एआई र प्रविधिको सहयोगबाट गरिन्छ । त्यतिबेलाको समय हेर्दा बैंकिङ क्षेत्रले धेरै फड्को मारिसकेको छ । आधारभूत तहबाट गर्दै सिक्दै गर्दा नेपालको बैंकिङले धेरै फड्को मारिसकेको छ । तैपनि अझै त्यस किसिमको परिवर्तन आउन सकेको छैन । लामो यात्रामा धेरै उतारचढाव र चुनौति खेप्नुपर्‍याे । तर, मैले यात्रालाई नयाँ विषयवस्तुबारे सिक्ने अवसरका रूपमा लिएँ । धेरै सम्झौता गरें । यसले सन्तुष्ट बनाउँछ । ग्लोबल्ली बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आएका छन् । प्रविधिको विकास छिटोछिटो र नयाँनयाँ परिवर्तन भइरहेका छन् । ती प्रविधिसँग घुलमिल हुनुपर्ने चुनौती छ । पछिल्लो १०/१२ वर्षको अवधिमा विनाशकारी भूकम्प, नाकाबन्दी, ठूला आन्दोलन र कोरोना महामारी पनि भोग्नुपर्‍याे । कठिन समयमा पनि बैंकिङ क्षेत्र चलाउनुपर्ने बाध्यता थियो । कोरोना महामारीमा कर्मचारीसँग नजिक रहेर काम गर्‍याैं । कर्मचारीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दियौं । कर्मचारीको अथक मिहिनेतले सन् २०२१ मा फाइनान्सियल टाइम्स लण्डनले एशियाकै उत्कृष्ट बैंक अवार्ड एनएमबी बैंकलाई प्रदान गर्‍याे । बैंकिङ करिअरमा अप्ठ्याराे समयमा त्यो अवार्ड पाउनु ठूलो चुनौती थियो । किनभने नाफा र समस्याभन्दा पनि दीगो बैंकिङलाई अघि बढाउनुपर्ने चुनाैती थियो । त्यसैले कुनैपनि अप्ठेरो परिस्थितिमा डराएर पछि हट्नेभन्दा पनि संघर्ष गर्नुपर्ने हुन्छ । कर्मचारीको सकारात्मक सोंचबाट नै अवार्ड पाउन सकिएको हो । महत्त्वपूर्ण डिल गरेर उत्साहजनक भयो भन्नुभयो । कतिपय डिल बिग्रेका पनि हुन सक्छन् । कतिपय डिलले बैंकलाई घाटा पनि भएको हुनसक्छ । संस्था र समाजलाई नै गज्जब भएको कुनै त्यस्तो कुनै डिल छ ? सन् २०१६/१७ तिर नेपालमा होंसी सिमेन्ट उद्योग सञ्चालन गर्दा फरक तरिकाले ‘कन्सोर्टियम सिण्डिकेसन’ कर्जा प्रवाह गर्‍याैं । ५/६ वटा बैंक सहभागी भएर ठूलो सिण्डिकेसन लोन प्रवाह गरेका थियौं । नेपालका बैंकमात्रै नभएर संसारकै सबैभन्दा ठूलो बैंकसँग सहकार्य गरेर एफडीआई भित्र्यायौं । अहिले सिमेन्टमा नेपाल आत्मनिर्भर छ । त्यसमा योगदान गर्न पाउँदा खुसी लाग्छ । त्यसले पारेको सकारात्मक प्रभाव सम्झिनलायक छ । होंसी सिमेन्ट विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भए । विदेशी लगानी भनिए पनि घुमाउरो बाटो प्रयोग गरेर नेपालभित्रकै पुँजी परिचालन गरेको भन्ने थियो । खासमा के भएको थियो ? नेपालजस्तो देशमा ठूलो आकारको प्रोजेक्टमा लगानी ल्याउन सहज वातावरण हुनुपर्थ्याे । स्ट्रक्चर डिलले पनि त्यो वातावरण बनेको थियो । त्यसमा ल्याउनुपर्ने इक्विटी सबै ल्याएको थियो । बैंक अफ चाइना र अन्य चाइनिज बैंकको फाइनान्सियल ग्यारेन्टी लोन दिएको थियो । सबै जोखिम ती बैंकले लिएका थिए । चाइनिज कम्पनीले नै बीमा गरेको थियो । कुनै प्रोजेक्ट सफल हुन जोखिम समावेश हुनुपर्छ । अहिले सबै कर्जा तिरिसकेको छ । थोरै मात्रै तिर्न बाँकी छ । नेपाल वा विदेशको पुँजीभन्दा पनि स्वदेशमै ठूलो उद्योग स्थापना भएको छ, धेरैलाई रोजगारी दिएको छ भनेर हेर्नुपर्ने हुन्छ । उपभोक्ता र बैंकको कर्मचारीको पक्षबाट बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । २०४०/०५० को दशकमा व्यवसाय गर्ने मान्छे अहिले पनि व्यवसाय गरिरहेका छन् । तर, लगानीकर्ताको पक्षबाट हेर्दा पछिल्लो समय खस्किएको गुनासो छ । बैंकमा गरेको लगानीबाट प्रतिफल आएन भन्नुहुन्छ, किन ? सुरुमा बैंकमा लगानी गरेका लगानीकर्ताले सोंच्नै नसक्ने प्रतिफल पाएका छन् । विगत ५/१० वर्षको अवधिमा पुँजी वृद्धिका कारण प्रतिफल कम भएको हो । बैंकिङ क्षेत्रको नाफा ६०/६५ अर्ब रुपैयाँ छ । प्रत्येक बैंकको नाफा २/४ अर्ब छ । तर, अपेक्षाअनुसारको नाफा होइन । निजी क्षेत्र वा अन्य क्षेत्रबाट हेर्दा धेरै प्रतिफल दिने कम्पनी पनि छन् । त्यसैले बैंक मात्रै नाफामुखी भए भन्ने विषयमा सत्यता छैन । बैंकहरू आधारभूतरूपमा उचित प्रतिफल दिन सक्ने संस्था हुन् । अबको केही समयपछि परिस्थिति सहज हुने बित्तिकै उचित वा अन्य क्षेत्रसँग तुलना गर्न मिल्नेगरी प्रतिफल दिनेछन् । बैंकिङ क्षेत्रमा तपाईं जस्तै खारिएका व्यक्तिहरू छन् । नियामकले नजिकबाट धेरै विषयमा अभिभावकत्व गर्न खोजिरहेको जस्तो देखिन्छ । एक/डेढ वर्ष अगाडि निक्षेपको ब्याजदर १३ प्रतिशत पुग्यो । त्यो ब्याज घटेर ४/५ प्रतिशतमा झरेको छ । १५ प्रतिशत पुगेको कर्जाको ब्याजदर अहिले ७ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकको ब्याजदर सतप्रतिशत तलमाथि भयो । यो किसिमको अस्थिरता किन ? आजभन्दा २ वर्ष अगाडि संसारभर नै ब्याजदर बढेको थियो । संसारको सबैभन्दा ठूलो र विकसित अर्थतन्त्र भएको अमेरिकामा २०/२२ पटक ब्याजदर बढ्यो । साढे १ प्रतिशतभन्दा कम रहेको ब्याजदर साढे ५ प्रतिशतसम्म पुग्यो । अमेरिकामै यस्तो परिवर्तन आउँदा बेलायत, यूरोप, भारतमा समेत ब्याजदर बढेको थियो । त्यसैले अधिकांश देशमा ब्याजदर बढेका बेला नेपालमा पनि ब्याजदर बढेको हो । नेपालमा तरलता अभाव भएपछि ब्याजदर बढेको हो । निक्षेपको माग बढी भएपछि ब्याजदर बढ्नु स्वाभाविक हो । केन्द्रीय बैंकको नीतिगत व्यवस्थाले पनि ब्याजदर बढ्न मद्दत पुगेको हो । निक्षेपको ब्याजदर बढ्दा बजारको १० प्रतिशतभन्दा नबढ्ने नीति थियो । बैंकरबीचको भद्र सहमतिअनुसार ब्याजदर बढ्दा समग्र अर्थतन्त्रमा असर गर्छ भनेर धेरै माथि जान दिएको थिएन । त्यति हुँदाहुँदै पनि बढ्नेक्रम जारी रह्यो । त्यतिबेला आन्तरिक बाह्य दुबै दबाब थियो । ८/९ प्रतिशतमा लिएको कर्जाको ब्याज १३/१४ प्रतिशत पुग्दा कर्जाको किस्ता नियमित गर्न समस्या भयो । उद्योगी व्यवसायीका आफ्नै समस्या थिए । अहिले ७/८ प्रतिशत ब्याजदरमा कर्जा पाएर के गर्ने ? कुन दिन १५ प्रतिशत पुर्‍याउँछन् भन्ने संशय छ । त्यसको प्रभाव स्वरूप अहिले कर्जाको माग नआएको हो कि ? हामीले दिने दर दुई/तीन प्रकारको हुन्छ । कुनै ब्याजदर बजारको मागअनुसार बढ्दा बढ्ने जाने र घट्दा घट्ने हुन्छ । यस्तै स्थिर ब्याजदरमा कर्जा दिएपछि बजारमा जस्तोसुकै परिवर्तन आएपनि स्थिर ब्याजदरमा कुनै परिवर्तन आउँदैन । यस्तै आधार दरमात्रै परिवर्तन हुने र प्रिमियम दर स्थिर राख्न सकिने विकल्प पनि छ । बैंकको आधार दर परिवर्तन हुँदा मात्रै परिवर्तन हुन्छ । त्यसैले यस्तो संशय गर्ने ठाउँ छैन । पुँजी बजारमा वाणिज्य बैंकको सेयर मूल्य निकै कम देखिन्छ । किन यस्तो भएको होला ? म सेयर बजारको विज्ञ होइन । फण्डामेन्टल्ली कम्पनीको संरचना, लगानी, नेटवर्थ, व्यवसाय गर्न सकिने अवधारणालाई हेरेर मूल्य निर्धारण हुनुपर्ने हो । फण्डामेन्टल्ली ठिक भएका कम्पनीको सेयरले उचित मूल्य पाउनुपर्ने हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढेको र वितरणयोग्य नाफा प्रभावित भएको छ । त्यसको प्रभाव परेको पनि हुन सक्छ । तर, बैंकहरू बाउन्स ब्याक हुन्छन् । एनएमबी बैंकले कुनै समय उत्कृष्ट पफर्मेन्स गरेको थियो । पछिल्लो समय बैंकको स्पिड घटेको हो ? विगत ५/६ वर्षको तुलना गर्दा लाभांश वितरणमा एनएमबी बैंक टप फाइभ भित्रपर्छ । गत वर्ष हामीले दिएनौं । तर, त्यसअघिको अवधिलाई तुलना गर्ने हो भने बैंकले औसत १८/१९ प्रतिशत प्रतिफल दिएको छ । अर्थतन्त्र समस्यामा पर्दा विभिन्न किसिमका जोखिम भएपछि गत वर्ष व्यवसाय वृद्धि गरेनौं । त्यसैले गत वर्ष लाभांश नदिएपछि कमेन्ट गरेका हुन सक्छन् । तर, रणनीतिक हिसाबले अप्ठ्याराे परिस्थितिमा सबै विषय मिलाएर अघि बढ्नुपर्ने हुन्छ । दीर्घकालीन रणनीतिक हिसाबले कुनै समय हामीले नियन्त्रण भएर बस्नुपर्ने हुन्छ । दीगो बैंकिङ गरिरहँदा प्रतिफल मात्रै नभई अन्य पार्ट पनि हेर्नुपर्ने हुन्छ । बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, शिक्षामा लगानी गरेको छ । यी क्षेत्रबाट भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । त्यसैले सहज अवस्था आएपछि क्याचअप गरिहाल्छौं । त्यो समय कहिले आउला ? यही वर्ष पनि आउन सक्छ । गत वर्ष मात्रै वृद्धि नभएको हो । किनभने त्योबेला वृद्धि गर्ने समय पनि थिएन । नेपालको समग्र कर्जाको वृद्धि ५ प्रतिशत थियो । त्योभन्दा अगाडि ३ प्रतिशत थियो । २०/२५ प्रतिशत वृद्धि गर्नु स्ट्याण्डर्ड हो भनेर बजारको बुझाइ छ । बैंकिङ क्षेत्रमै वृद्धि छैन भने हामी मात्रै एक्लैले गर्न सक्ने अवस्था हुँदैन । तपाईंसँग ३५ वर्षको बैंकिङ अनुभव छ, बैंकिङ क्षेत्रका हरेक आरोहअवरोहरुको अनुभव गर्नु भएको छ, अबको एक/दुई दशक बैंकिङ क्षेत्र कसरी अगाडि बढ्ला भनेर अनुमान गर्न सक्नुहुन्छ । बैंकिङ क्षेत्रमा आवद्ध भइरहेका र नयाँ आउने युवापुस्तालाई तपाईंको राय के छ ? नेपालको बैंकिङ युवापुस्तामा छ । बैंकिङलाई अन्य क्षेत्रसँग तुलना गर्ने हो भने ४० वर्षमा कमैले छलाङ मारेका छन् । यो क्षेत्र सबैभन्दा धेरै पारदर्शी छ । नियामकको दायराभित्र छ । सुशासनको स्ट्याण्डर्ड अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्रमा उत्कृष्ट छ । पछिल्लो समय विभिन्न उतारचढाव आएपनि बैंकिङ क्षेत्र धेरै अप्ठ्याराे परेन । नेपालको बैंकिङ क्षेत्र भारतबाहेक दक्षिण एशियामै राम्रो छ । किनभने अप्ठ्याराे स्थितिमा पनि हामीले उत्कृष्ट पफर्मेन्स गरिरहेका छौं । जलविद्युत, आईटी क्षेत्र र पर्यटन लगायतमा ठूलो सम्भावना छ । यी सबैलाई हेर्ने हो भने नेपालले अबको १० वर्षमा ८/१० प्रतिशतको आर्थिक वृद्धि गर्न सक्छ । त्यसैले नेपालको बैंकिङमा सम्भावना थुप्रै छन् । बैंकिङ क्षेत्रले डिजिटाइजेशनमा ठूलो लगानी गरेको छ । अझै लगानी भइरहेको छ । पारदर्शी, नियामक वातावारण, सुशासनमा काम गर्नेलाई बैंकिङ करिअर राम्रो नै छ । बैंकिङले आफ्नो जीवन मात्रै परिवर्तन गर्ने नभई अरूको जीवनमा पनि परिवर्तन गर्ने क्षेत्र हो । यो व्यापार गर्ने क्षेत्र होइन । बैंकिङ क्षेत्रमा १८ लाख ऋणी, ५ करोड बढी निक्षेप खाता छन् । उनीहरूसँग डिल गर्दा सन्तुष्टसँग आनन्दमय छ । वास्तविक रूपमा सही बैंक छनोट गरेर आफ्नो जीन्दगीलाई नै अर्काे तहमा पुर्‍याउन मद्दत पुग्छ । कसैको जीवनमा परेको सकारात्मक प्रभावले छुट्टै किसिमको अनुभूति दिन्छ । तरु, व्यापार गर्छु र पैसा कमाउँछु भन्नेलाई अन्य क्षेत्र पनि छन् । सुनिल केसी जस्तो बन्न पाए हुन्थ्यो, वाणिज्य बैंकको सीईओ बन्न पाए हुन्थ्यो भनेर आकांक्षा राख्ने युवा धेरै हुन सक्छन् । बैंकको टप लेभलमा पुग्छु, सीईओ बन्छु भन्नेलाई तपाईंको सल्लाह के हुन्छ ? बैंकिङ अभ्यास विश्वासको व्यवसाय हो । एनएमबी बैंकमा साढे २ सय अर्बको हाराहारीमा निक्षेप छ । २० लाख ग्राहक छन् । ती ग्राहक पूर्व ताप्लेजुङदेखि दार्चुलासम्मका हुन् । उहाँहरू विश्वासले बैंकमा आवद्ध हुनु भएको हो । बैंकको टप पोजिसनमा पुग्न सबैभन्दा पहिला इन्टिग्रीटी, इथिकल अभ्यास, हार्ड वर्क, सिकिरहने बानी हुनुपर्छ । यो व्यवहार भएका जोपनि सीईओ बन्न सक्छ । किनभने रकेट साइन्स होइन बैंकिङ क्षेत्र । नेपाली बैंकरले असाध्यै राम्रो गरेका काम के-के हुन् ? बैंकरले बैंकिङ क्षेत्रलाई व्यावसायिक रूपमा हाँकेर विश्वास कायम गरेका छन् । कुनै न कुनै हिसाबमा नेपालीहरू बैंकमा जोडिएका छन् । तर, जनताको भरोसालाई बैंकिङ क्षेत्रले टुट्न दिएको छैन । यही नै सबैभन्दा ठूलो काम हो । किनभने अन्य देशमा बैंक डुबेका उदाहरण पनि छन् । तर, नेपालको बैंकिङ क्षेत्रले हालसम्म ठूलो दूर्घटना भोगेको छैन । भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता ठूला संकट पनि टारेर आएको छ । बैंकिङ क्षेत्रलाई यहाँसम्म पुर्‍याउन ५० हजार कर्मचारीको ठूलो योगदान छ । सबैभन्दा राम्रोसँग सञ्चालित नियामक राष्ट्र बैक छ । अभिभावकको भूमिका राम्रो पाएको छ । गर्न नसकेका कामहरू के हुन् ? यो भन्दा उचाइमा जान सकिन्थ्यो होला । अन्तर्राष्ट्रिय रूपमा जान सकेका छैनौं । आन्तरिक रूपमा मात्रै व्यवसाय गरिरहेका छाैं । डिजिटलमा अझै फड्को मार्न बाँकी छ । बैंकिङ क्षेत्रको वृद्धि हुँदा अर्थतन्त्रलाई के प्रभाव परेको छैन । २० प्रतिशतका दरले बैंकको ग्रोथ हुँदा अर्थतन्त्र ४ प्रतिशतको हाराहारीमा मात्रै बढिरहेको छ । जसरी अर्थतन्त्रको वृद्धि हुनुपर्थ्याे, त्यसरी हुन सकेको छैन । नेपालका बैंकहरूले ट्रेड फाइनान्समा मात्रै लगानी गरे । छिटो नाफा जहाँबाट आउँछ त्यहाँ मात्रै लगानी गरे । अनुत्पादक क्षेत्रमा मात्रै गए । उद्यमी अप्ठ्याराे परेको बेला बचाउनुपर्नेमा उल्टै धितोको धनसम्पत्ति जफत गर्नेतर्फ केन्द्रित भएको आरोप पनि लाग्छ नि ? नेपालको अर्थतन्त्र व्यापारमा आधारित छ । सबै वस्तु आयात गर्नुपर्छ । त्यो बैंकका लागि बाध्यात्मक अवस्था पनि हो । तर, त्यतिमात्रै नभएर ६०/७० अर्ब रुपैयाँ जोखम मोलेर खोलामा लगानी गरेका छन् । यसमा बैंकिङ, राष्ट्र बैंक, निजी क्षेत्रको पनि योगदान छ । हाम्रो पहिलो धर्म निक्षेपकर्ताको बचत सुरक्षित गर्नु र मागेको बेला फिर्ता गर्नु हो । निक्षेपको अभाव भएपछि बैंकरहरू निक्षेपकर्ता खोज्दै निक्षेप ल्याउनुपर्ने र बढी पैसा भएपछि उद्यमी खोज्दै कर्जा दिनुपर्ने अवस्था छ । अहिले पनि ऋण लिनूहोस् भनेर उपभोक्ताको घरघरमा बैंक जान थालेका छन् । यही ट्रेण्डमा अबको ५/१० वर्ष कस्तो रहला ? सुरुवातमा खाता खोल्न तीन/चार दिन लाग्थ्यो भने एलसी खोल्न महिनादिन कुनुपर्ने थियो । तर, अहिले ग्राहक बैंकमा नआई बैंक आफै घरघरमा पुगेका छन् । घरदैलोमा पुगेर व्यापार व्यवसाय गर्नुपर्ने अवस्था छ । डिजिटाइजेनको युग हो । अधिकांश काम मोबाइलबाटै हुने गरेका छन् । अहिले एआईले डोमिनेट गरिसकेपछि क्लाइन्टले के कस्तो खोजिरहेको छ भनेर हेर्न सकिन्छ । अब समय ग्राहकलाई के आवश्यकता छ भनेर बैंक आफैले अग्रसर हुनुपर्ने बेला आउँछ ।