म्याग्दीकाे स्थानीय तहमा आर्थिक खर्च अपारदर्शीः ८ करोड ५५ लाख बेरुजु
म्याग्दी । जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बेनी नगरपालिकामा दुई करोड आठ लाख, रघुगङ्गा गाउँपालिकामा एक करोड ७० करोड ८२ हजार, धवलागिरीमा एक करोड ५७ लाख आठ हजार, मालिकामा एक करोड ३० लाख ५७ हजार, मङ्गलामा एक करोड २५ लाख ९३ हजार र अन्नपूर्ण गाउँपालिकामा ६२ लाख ८७ हजार बेरुजु देखिएको छ । आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गरेको, नदीजन्य बस्तु कम दररेट राखेर बेचेको, उपभोक्ता समितिहरुले लगेको पेस्की फस्र्याैटमा बेवास्ता गरेको र विद्यालयमा हाजिर नगरेका शिक्षकलाई तलब दिएको जस्ता टिप्पणी प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनले सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले प्रवेश शुल्क वापत उठाएको रु.३७ लाख ५८ हजार असुल गर्न बेनी नगरपालिकालाई निर्देशन दिएको छ । प्रवेश शुल्क र सहयोग रसिदको कूल रकमको २५ प्रतिशत कुण्ड समितिले नगरपालिकालाई उपलब्ध गराउने भनेर भएको सम्झौता अनुसारको रकम असुल्न निर्देशन दिएको हो । आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण प्रतिवेदन अनुसार कुण्डले उल्लेखित शीर्षकबाट ८४ लाख ३५ हजार र २०७६/७७ को प्रमाणित आर्थिक विवरणअनुसार ६५ लाख ९६ हजार आम्दानी गरेको थियो । गण्डकी प्रदेश आर्थिक ऐन, २०७६ अनुसार रोडा, ढुङ्गा, गिट्टी, वालुवाको प्रति क्युबिक फिट चारका दरले कर सङ्कलन गर्ने उल्लेख भएको तर मालिका गाउँपालिकाको त्योभन्दा कम दरमा कर सङ्कलन गरेको पाइएको छ । प्रति क्युबिक दुईको दरले कर सङ्कलन गरेको र मूल्य अभिवृद्धि कर बाहेक १३ लाख १८ हजार कम आय प्राप्त हुनु उचित नभएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको एउटा माध्यमिक विद्यालयमा २०७५ साउन ६ गतेदेखि २०७६ पुष ४ गतेसम्म कार्यरत नरहेका शिक्षकको नाममा माग भएको ११ लाख ९९ हजार निकासा दिएको छ । उक्त रकममध्ये तीन लाख १३ हजार असुल भएको र नपुग आठ लाख ८६ हजार असुल गर्न निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ । तर प्रतिवेदनले विद्यालय र शिक्षकको नाम भने खुलाएको छैन् । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बागलुङ–बेनी सडक र बेनी–दरबाङ सडक आयोजनाका ठेकेदारलाई निर्माण कार्यको मूल्य समायोजन गर्दा फरक सूचकाङ्क राखेर भुक्तानी गरेको २१ लाख ३८ हजार असुल उपर गर्न पनि प्रतिवेदनले सम्बन्धीत पक्षलाई निर्देशन दिएको छ । यसैगरी बेनी–दरबाङ र बेनी–गलेश्वर सडक निर्माण कार्यको सम्झौतामा मोविलाइजेशन पेस्की कट्टा गरिसकेपछि बील रकममा मूल्य समायोजन गर्ने उल्लेख भएकोमा पेस्की कट्टा नगरी मूल्य समायोजनमा ३७ लाख ८९ हजार बढी भुक्तानी गरेको देखिएकाले असुल गर्न भनेको छ । यसैगरी बेनी अस्पतालको २४ करोड २२ लाख ७२ हजारको लेखा परीक्षण गर्दा ३७ लाख ३४ हजार बेरुजु देखिएको छ । म्याग्दीको सदरमुकामसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको ९३ करोड ६८ लाख ४६ हजार बजेटको लेखा परिक्षण गर्दा ९९ लाख २६ हजार अथवा एक दशमलव शून्य छ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । म्याग्दीका कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले जिल्लामा कागजात र प्रक्रिया नपुगेको बेरुजुको अवस्था धेरै तथा अनियमित र असुल गर्नुपर्ने बेरुजु कम रहेको बताए । नपुगेका कागजात पूरा गरेमा र असुल उपर गरेमा बेरुजु रकम घट्ने उनको भनाइ छ । समयमै काम हुन नसक्दा पनि बेरुजु रकम बढी देखिएको उनले बताए । उनका अनुसार केही नीतिगत समस्याका कारण पनि बेरुजु रकम बढ्न गएको हो । ‘केही समस्या अत्यावश्यक कानुन नबन्दा पनि भएका छन्, प्रदेश सरकारले गरेको निर्णयानुसार भुक्तानी गरिएको भत्तामा पनि बेरुजु देखिएको छ’, उहाँले भने, ‘नियमित गर्ने बेरुजुबारे सम्बन्धित निकायमा स्पष्टीकरण पेश गरिसकिएको छ ।’ विकास निर्माणको काममा ठेकेदार र उपभोक्ता समितिले गरेको ढिलाइले बेरुजु रकम बढी देखिएको जनप्रतिनिधिको भनाइ छ । अधिकांश काम आर्थिक वर्षको अन्तिम समयमा गर्ने भएकाले पनि समस्या देखिएको उनीहरूको भनाइ छ । आगामी दिनमा अनियमितता र बेरुजु घटाउनेगरी विकास निर्माण योजना अगाडि बढाउने उनीहरुको दावी छ । रासस
स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका
कर्णली । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो । नगर प्रमुख देवकुमार सुवेदीले पछिल्ला चार वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । ‘नियमित स्वास्थ्य कार्यक्रम सञ्चालनदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हामीले अथक प्रयत्न ग¥यौँ’, उनले भने, ‘प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरलाई बढी चुनौती थियो, अझै पनि छ, तै पनि हामीले योजनाबद्धरुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर भयावह अवस्था आउन दिएनौँ ।’ उनले स्वास्थ्य नीति, स्वास्थ्य ऐन र वार्षिक स्वास्थ्य योजनाका आधारमा नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरेको बताए । यसअघि जीर्ण स्वास्थ्यका सबैजसो भवन अत्याधुनिक शैलीमा पुनःनिर्माण भई सेवा सञ्चालनमा आइसकेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं १, २, ३, ४, ५, ६, ८, १०, ११ र १२ मा सहरी स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न भइसकेका छन् । तीमध्ये अधिकांश आफ्नै जग्गामा बनेका छन् । साविक कटकुवा स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गरेर त्यहाँ नगर कोभिड अस्पताल सञ्चालन गरिएको छ । प्रदेश सरकार र चौधरी गु्रपसँगको साझेदारीमा नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदैछ । नगर अस्पतालमा हाल मेडिकल अधिकृतले चिकित्सकीय सेवा प्रदान गरिरहेका छन् । लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । त्यहाँ प्रदेश अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकले बुधबार र शुक्रबार बिरामीको परीक्षण तथा उपचार गर्दै आएका छन् । लाटीकोइलीमै सङ्घीय सरकारले १५ शय्याको अस्पताल निर्माण योजना अघि बढाएको छ । नगरपालिकाले सेनेटरी प्याड वितरण, निःशुल्क गर्भवती जाँच, सुत्केरी जाँच गर्दै आएको छ । यसै वर्षदेखि ‘मायाको एप्स’ मार्फत गर्भवती, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्यवद्र्धक सूचना÷सन्देश एवं जानकारी प्रवाह गर्ने भएको छ । यहाँका ३० सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम, विद्यालय पढ्ने किशोरीलाई आइरन चक्की वितरण, महिलाको पाठेघर स्क्रिनिङ क्याम्प, सिकलसेल एनिमिया परीक्षण, गर्भवती, प्रसूति महिलालाई आकस्मिक उपचार सेवा, आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे सेवा, गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले कोभिड महामारीकै बीचमा पनि स्वास्थ्यका समग्र सूचक सकारात्मक देखिएको बताए । ‘नियमित कार्यक्रमदेखि कोरोना परीक्षण र खोप अभियानमा राम्रो सफलता पाएका छौँ’, उनी भन्छन्, ‘यही भदौ ११ र १२ गते विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिँदैछौँ, कोरोनाविरुद्धका सबै खोपहरु आधारभूत स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामार्फत प्राथमिकताको आधारमा लगाउने गरिएको छ ।’ उनका अनुसार नगरपालिकाले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार बिहान र दिउँसो कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको छ । त्यस्तै वडा नं १ देखि १६ सम्म समुदायस्तरमा समेत कोरोना परीक्षण, सङ्क्रमितको निगरानी र कीट वितरण भइरहेको छ । सङ्क्रमितको उपचारका लागि नगर अस्पताल, लाटीकोइली स्वास्थ्यचौकीलाई विशेषज्ञस्तरको सुविधा दिएर सञ्चालनमा ल्याइएको छ । जटिल प्रकृतिका बिरामीलाई तत्कालै प्रदेश अस्पताल रेफर गर्ने प्रभावकारी व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितलाई तत्काल उद्धार गर्न चौबिसै घण्टा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । रासस
गाउँपालिकामा अब चाँडै प्याराग्लाइडिङको व्यवसायिक उडान गर्नेछौं – अध्यक्ष राईसँगको अन्तर्वार्ता
प्रदेश १ अन्तर्गत खोटाङ जिल्लाको १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यो गाउँपालिका खोटाङ जिल्ला सदरमुकाम दिक्तेल (रुपाकोट मझुवागढी नगरपालिका) देखि दक्षिण भेगमा करिब ६७ दशमलव २ किलोमिटरको दूरीमा अवस्थित छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा यति वेला विकासको कामले तीव्ररूप लिएको छ । आफ्ना नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा पालिका लागिपरेको छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय सरकार बनेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएका विकास के–के हुन् ? हामी आउनु भन्दा पहिला त्यस्ता धेरै भौतिक संरचनाहरू पालिकामा थिएनन् । हाम्रो पालिकामा ७ ओटा वडा छन् । पहिलाको साबिक गाविस हुँदा केही सडकहरू निर्माण भएका थिए तथापि पनि यातायात सञ्चालन हुने अवस्था थिएन । हाल हामीले पालिकाकोप्रत्येक वडामा यातायात सञ्चालन हुन सक्नेसडक निर्माण गरेका छौं । जुन सडकहरू पक्की नभएर कच्ची छन् तर हिउँद र बर्खा दुवै समयमा यातायात सञ्चालन हुन्छ । हामी निर्वाचित भएर आउँदै गर्दा बस्ने एउटा ठाउँ थिएन, कहाँ काम गर्ने भन्ने परिस्थिति थियो । त्यस कारणले कार्यालको टुङ्गे नभएको, कोठाचौका समेत नभएको अवस्थाबाट पालिकाको विकास निर्माणको कामहरु अगाडि बढाएका थियौं । पालिकामा हामीले कार्यालय भवन निर्माणको कार्यबाट कामको सुरुवात गरेका थियौं । तर, हामीले स्थानीय तहको नेतृत्व समालेको करिव ४ वर्ष भएको छ ।यो बिचमा हामीले धेरै काम गरेका छौं । दीर्घकालीन महत्त्वको काम पनि धेरै सम्पन्न भइसकेका छन् । हामीले केही कामको सुरुवात गरेका छौं भने केही कामहरू सम्पन्न गर्ने चरणमा छौं । हामी आउँदै गर्दा हाम्रो पालिका अध्यारो थियो जहाँ बत्तिसमेत बलेको थियो तर हाल हामी सबै वडामा बिजुली पुर्याइ सकेका छौं । वडा नंं. ६ को केही भागमा बिजुली पुगेको छैन तर, यो वर्ष यस वडामा पनि केन्द्रीय प्रसारण लाइन पुर्याउने लक्ष्य राखेका छौं । हाम्रो पालिकामा खानेपानीको चरम अभाव थियो । तर, हाल हामीले खानेपानीको समस्यालाई पनि समाधान गरेका अवस्था छ । अब हाम्रो पालिकाका बासिन्दाहरू पानी पिउन नपाएर नै बसाइँ सर्नुपर्ने अवस्था छैन । हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष प्राथमिकता दिएर काम गरेका छौं । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर, दरबन्दी थिएन। ती विद्यालयहरू हामीले दरबन्दी मिलाउने काम गरेका छौं । गुणस्तर शिक्षालाई विशेष जोड दिएका छौं । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरेका छौं । पालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकीको स्थापना गरेका छौं । गाउँ स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा दिएका छौं । गाउँपालिकाको प्रशासनिक भवन ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ भने हाल उक्त भवन पनि सम्पन्न हुने चरणमा छ । ५ करोड ६२ लाख रुपैयाँको लागतमा साप्सु खोलामा मोटरेबल पुल निर्माण गरी सकेका छौं । हाम्रो पालिका प्राकृतिक नाकाबन्दीले घेरिएको छ । किनभने हाम्रो पालिकालाई एकातिरबाट दुध कोसी र अर्के तिर साप्सु खोलाले छेकेको छ । पर्यटन क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । १ सय ७६ मिटर अग्लो धिप्लुङ झरनालाई सौन्दर्यीकरण गर्ने काम गरिरहेका छौं । हाल हामीले झरनाको संरक्षण गरी पर्यटकलाई आकर्षण गर्नेतर्फ लागेका छौं । गत वर्ष हामीले २५ लाख रुपैयाँ खर्च गरी झरनाको केही भागलाई सौन्दर्यीकरण गरिसकेका थियौं । अहिले आन्तरिक तथा वाह्य पर्यटकहरू उक्त झरना हेर्नका लागि आउने गरेका छन् । हामीले वडा नं. ४ स्थित भूर्चूङ्गमा डाँडाबाट प्याराग्लाइडिङ परीक्षण उडान सम्पन्न गरिसकेका छौं । केही समयपछि पूर्वाञ्चल प्याराग्लाइडिङ कम्पनीको नामबाट व्यावसायिक रूपमा उडान हुने छ । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्वर जमिन भएको र आज भन्दा अगाडिदेखि नै हाम्रो गाउँपालिका सदरमुकामलाई पाल्ने पालिकाका रुपमा चर्चित छ । त्यसैले गाउँपालिकाकाले विशेष प्राथमिकताको साथ कृषि र पशुपालनको कार्यक्रमहरू अगाडि बढाएको छ । पालिकामा पशुपालनलाई व्यवसायीकरण गरेका छौं । कृषिको आधुनिकीकरण, विविधीकरण र व्यपारिकरणको कुरा पनि हामीले जोड दिएका छौं । यो एक वर्षमा पालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजना समेत राखेका छौं । पालिकामा सुन्तला, कागती, किवी, आँप आदिको पकेट क्षेत्र छुट्याईफलफूल खेतीतर्फकाम गरेका छौं । पालिकामा अलैँची पकेट क्षेत्र पनि छ । कृषि क्षेत्रको रूपान्तरण गर्न गाउँपालिका लागेको छ भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । पशुपालन र कृषि फार्महरूलाई अनुदान दिने र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीय स्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउबिजन पनि वितरण गर्दै आएका छौं । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट हाम्रो पालिकापनि अछुतो रहन सकेन । यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौं । गत वर्षको कोभिडले पालिकामा धेरै ठुलो असर पुर्याएन । तर, दोस्रो लहरको कोभिडबाट पालिका पनि निकै प्रभावित बन्न पुग्यो । निषेधाज्ञा गर्नुभन्दा अगाडि नै उपत्यका र विभिन्न सहरलाई खाली गर्नुभन्ने निति लियो त्यो ३ दिनको अवधिमा सहर बस्ने नागरिक गाउँ भित्र अत्यधिक प्रवेश गरे ।हाम्रो नागरिकमात्र पालिका भित्र प्रवेश गर्दैगर्दा उनीहरूसँगै कोभिड पनि प्रवेश गर्याे । हाम्रो नागरिकहरूलाई सुरक्षित गर्नको लागि धेरै कामहरू गरेका छौं । पालिकामा हामीले अस्थायी कोभिड अस्पताल पनि निर्माण गरेका छौं भने स्वास्थ्यकर्मी पनि व्यवस्थापन गरेका छौं तर त्यसले मात्रा कोभिड नियन्त्रण हुँन सकेन । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टीन, आइसोलेसन व्यवस्थापन देखि नागरिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रमहरू गर्यौं । पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा पालिकामा हालसम्म २ सय ८४ जनामा संक्रमित पुष्टि भएको छ । पालिकामा हालसम्म ७ सय ७३ जनाको परीक्षण भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट ३ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरू सहितको पर्चा छपाई आम जनताहरुलाई वितरण तथा माइकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्यौं । महामारीको नियन्त्रण गर्नको लागि हाम्रा सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, राजनैतिक पार्टीका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू खटिनु भएको थियो । तपाईंहरु निर्वाचित भएर आएको करिव ४ वर्ष पुरा भयो, चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् ? चुनावी बाचा लगभग पूरा भइसकेको छ । हामीले चूनावको बेला नागरिकलाई झुटो आश्वासन पनि देखाएका थिइनौं । हामीले गर्न सक्ने कामहरू जनतासँग बाचा गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । हामीले घोषणापत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । यस्तौ भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । तपाईंले जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नुभएको छ, यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता छन्, र संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? स्थानीय सरकार नागरिकको घर आँगनको सरकार हो । स्थानीय सरकारका आफ्नै कथा ब्यथा पनि छन् । हामी नागरिकको सेवामा समर्पित भएर समाजसेवामा लागिसकेको मान्छेहरूका लागि सूवर्ण अवसर थियो । दृष्टिकोणको कुरा गर्दा संघीय सरकार प्रक्रियामा जाने प्रयत्न गरिरहेको देखिन्छ । तर, प्रदेश सरकारले चाहिँ स्थानीय सरकारलाई तहको रूपमा नस्विकारेको जस्तो देखिन्छ । किनभने प्रदेशले स्थानीय सरकारको समन्वय बेगर नै बजेट विनियोजन गरेको देखिन्छ । योजनामा कसरी खर्च हुन्छ र त्यो कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा अहिलेसम्म स्थानीय सरकारको प्रमुख भएर पनि मलाई थाहा छैन । हाम्रो पालिकामा पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको देख्छु तर कसरी कार्यान्वयन भयो भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदैन । त्यसकारणले प्रदेश सरकारले गरेको जुन प्रकारको गतिविधि छ त्यो चाहिँ अत्यन्तै दुःख लाग्दो छ । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ? स्थानीय नागरिकको माग कस्तो हुन्छ भन्ने कुरा होइन, आम नेपालको माग नै स्थानीय नागरिकको माग हो । कच्ची सडक भएको ठाउँमा पक्की सडक चाहिएको छ । पुल नभएको ठाउँमा पुल चाहिएको छ । काठमाडौंमा जन्मेको नागरिक र खोटाङमा जन्मेको नागरिकको समान अधिकार हुन्छ । तर, त्यस्तो छैन । खोटाङको नागरिक काठमाडौंका नागरिकसरह बाँच्न चाहन्छ तर त्यो अवसर यहाँ छैन । उनीहरु भन्छन् कि हामीले पनि काठमाडौंका नागरिक जस्तै बाँच्न पाउनु पर्छ । हाम्रो पनि काठमाडौंमा जस्तै सडक, अस्पताल, शिक्षा हुनुपर्छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ? अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनतको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं ।यस वर्ष म लगायत गाउँपालिकाले देश र जनताको सेवामा निस्स्वार्थ भावले सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने लक्ष्य लिएका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दा हामीले सुरुवात गरेका कामलाई निरन्तारता दिनका अलावा नयाँ सोच र नयाँ कामको थालनी गर्न लगाउने हो । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? रोजगारी सिर्जना गर्नको लागि हामीले यस्ता ठुलठुला काम गर्न सक्ने परिस्थितिमा छैनौं । पालिकामा विभिन्न युवा स्वारोजगारका कार्यक्रमहरू रहेको छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् भने हामीलृ पनि युवालाईकृषि क्षेत्रमा जोडिन पनि आग्रह गरेका छौं । वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरू र उनीहरूले बिदेशमा कमाएको पैसालाई सदुपयोग गर्नुहोस् भनेर गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सम्मान वा ताली मात्र दिने होइन, सरसल्लाह सूझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।