गोरखाको शहीद लखन गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
गाेरखा । गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘आव २०७८/०७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ’, उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन ।’ उनले बुङ्कोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिसका आधारमा वडाबाट निःशुल्क सेवा पाउने बताए । स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘बुङ्कोट स्वास्थ्यचौकीदेखि गोरखा अस्पतालसम्म आउन जान बिरामीले एक पटकमा एक हजार ८०० भाडा तिर्नुपर्छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘वडाले खर्च व्यर्होने भए पनि थोरै भए पनि राहत मिल्छ ।’ बुङ्कोट स्वास्थ्यचौकीलाई सम्भव छ ‘नेपाल’ नामक संस्थाले भर्खरै एम्बुलेन्स उपलब्ध गराएको सोही एम्बुलेन्सबाट सेवा प्रदान गर्न सुरु गरिएको उनले बताए । रासस
बैतडीमा कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले
काठमाडाैं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । ‘शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो’, उनले भने, ‘भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।’ शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् । जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ । बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।’ जिल्लामा अहिले २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० रहेका छन् । यस्तै पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । रासस
पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु
पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच/सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’ विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए । साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । ‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो”, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत् गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए । फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ । यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । यस वर्ष पनि तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ । पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उनको भनाइ रहेको छ । रासस