सिंहदरबारभित्रै सुस्त इन्टरनेट : सुधारका लागि नेपाल टेलिकमको ‘स्पेशल फोर्स’ परिचालन गरिँदै
काठमाडौं । सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ । प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन निर्देशन दिएका छन् । यसैक्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा अवरोधरहित रुपमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनले निर्देशन दिए । उनले सेवा प्रदायक तथा सम्बन्धित निकायलाई सम्भावित समस्याको समयमै पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिँदै जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्ने बताए। यससँगै प्राविधिक र मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा पनि जोड दिइएको छ । मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखा परेमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले हालको अवस्थाबारे जानकारी दिँदै केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरे । यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अघि बढाइएको पनि उनले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ । तर, अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको उनले बताए । यसको दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । भट्टराइका अनुसार पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहेकोमा हाल उक्त प्रणाली कमजोर बन्दै गएकोले त्यसलाई पुनः सुदृढ बनाउने प्रयास भइरहेको छ । साथै बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री र उद्योगमन्त्रीसँग सबैभन्दा बढी सुन, कुन मन्त्रीसँग कति ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरिएको विवरणअनुसार मन्त्रिपरिषद्का सदस्यहरू सुनचाँदीमा निकै धनी देखिएका छन् । प्रधानमन्त्रीसहितका मन्त्रीहरूसँग कुल करिब ८ सय तोला सुन मौज्दात रहेको पाइएको छ । विवरणअनुसार प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा बढी सुन रहेको देखिएको छ । प्रधानमन्त्री शाहसँग १९० तोला सुन रहेको छ । उक्त सुन पत्नी सविनाको पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ । उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको छ । उनले यो सम्पत्ति रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको बताएकी छिन् । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको छ । श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन मौज्दात छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ । कुन मन्त्रीसँग कति ? गृहमन्त्री सुधन गुरुङ- ८९ तोला श्रममन्त्री रामजी यादव- ८० तोला अर्थमन्त्री स्वर्णिम वाग्ले- ४५ तोला भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल- ३० स्वास्थ्यमन्त्री निशा मेहेता-३० तोला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल-२५ तोला शिक्षामन्त्री सस्मित पोखरेल-२५ तोला परराष्ट्रमन्त्री शिशिर खनाल- २२ तोला महिला बालबालिकामन्त्री सीता वादी-१८ तोला उर्जामन्त्री विराजभक्त श्रेष्ठ- १५ तोला कानुनमन्त्री सोविता गौतम- १५ तोला पर्यटनमन्त्री खडकराज पौडेल- ११ तोला सञ्चारमन्त्री विक्रम तिमिल्सिना- करिब ७ तोला कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी- ५ तोला
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सम्पत्ति: श्रीमान्को आयबाट काठमाडौं र बारामा जग्गा, २५ तोला सुन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा गरी १ करोड २० लाख बराबरको जग्गा र विलासी सवारी साधन रहेको देखिएको छ । मन्त्री रावलले बुझाएको विवरण अनुसार काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ र बारामा ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा रहेको छ । यी दुवै जग्गा खरिदको मुख्य स्रोत उनले आफ्नो श्रीमान्को आयलाई देखाएकी छिन् । त्यस्तै, उनीसँग २५ तोला सुन रहेको छ । उक्त सुनको प्राप्तिको स्रोत स्वआर्जन र परिवारबाट प्राप्त उपहार भएको विवरणमा उल्लेख छ । आर्थिक कारोबारका हकमा विभिन्न बैंकहरूमा उनको नाममा २४ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ । यो रकम पनि श्रीमान्कै आम्दानीबाट जम्मा भएको उनले खुलाएकी छिन् । सवारी साधनतर्फ मन्त्रीसँग ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको छ । विवरणमा मन्त्रीले बैंक ऋणको दायित्व पनि उल्लेख गरेकी छिन् । उनले एभरेष्ट बैंकबाट २०८२ साल जेठ महिनामा २० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा खुलाइएको छ । सरकारले पारदर्शिताका लागि प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको हो ।