दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ सङ्कल्प र अठोटका साथ अघि बढ्नुपर्ने बताए ।  उनले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको उल्लेख गरे । नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भनी कामना गर्दै उनले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

शिक्षामन्त्री पोखरेल भन्छन्- 'भ्रष्टाचार निवारणको अचुक अस्त्र पारदर्शिता हो, बुवाआमाको सम्पत्तिमा विलासिता गरिनँ'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र परिवारको विस्तृत सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्ने मान्यताका साथ आफूले यस्तो कदम चालेको स्पष्ट पारेका हुन्। त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयको विद्यार्थी समेत रहेका मन्त्री पोखरेलले प्राविधिक रूपमा व्यक्तिगत विवरण मात्रै पर्याप्त हुने भए तापनि पूर्ण पारदर्शिताका लागि बुवा, आमा र मावली पक्षसम्मको सम्पत्ति खुलाएको जानकारी दिए । आफ्नो परिवारको सम्पत्ति इमान्दार मेहनतको कमाइ भएको उल्लेख गर्दै मन्त्री पोखरेलले बुवाको व्यावसायिक निष्ठाको समेत चर्चा गरे । उनका बुवा नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त हुनुका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष वासिङ्टन डीसीमा कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा समेत कार्यरत रहेका थिए । घरजग्गाको सन्दर्भमा उनले खरिद मूल्य वा सरकारी मूल्याङ्कनलाई आधार नमानी हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरे । काठमाडौंको जग्गा खरिद गर्दाको समयभन्दा अहिले मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको र त्यो बजार प्रवृत्तिकै परिणाम रहेको उनको तर्क छ । आफू एक हिसाबले प्रिभिलेज्ड अर्थात् सुविधासम्पन्न पृष्ठभूमिबाट आएको स्वीकार गर्दै मन्त्री पोखरेलले भने, 'आजसम्म आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवा-आमाको सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन । स्नातक दोस्रो वर्षदेखि नै पार्ट-टाइम अनलाइन काम गरेर आफ्ना खर्चहरू आफैं व्यवस्थापन गर्दै आएको छु ।' उनले आफ्नो विवरणमा देखिएको ऋण समेत बुवा-आमाको सहयोगविना आफ्नै आम्दानीबाट गाडी खरिद गर्नका लागि लिएको स्पष्ट पारे । विवरणमा प्यान नम्बर समावेश नगर्नुको कारण खुलाउँदै उनले लेखेका छन्, 'मसँग वैध प्यान नम्बर छ, तर विवरण सार्वजनिक रूपमा प्रकाशित हुने भएकाले व्यक्तिगत सुरक्षाका कारण मात्र यसलाई गोप्य राखिएको हो ।' पारदर्शितालाई शब्दमा मात्र नभई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संकल्प मन्त्री पोखरेलले व्यक्त गरेका छन् ।

हुर्कन नपाउँदै 'कोल्याप्स' को मोडमा प्रलोपा, सन्तोष परियारसहित ४ नेताले छोडे

काठमाडौं । पछिल्लो समय आन्तरिक विवाद र अन्योलमा फसेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । सोमबार साँझ पार्टीको सामाजिक सञ्जाल फेसबुकमामार्फत उनले आफू अब पार्टीमा नरहेको घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष परिषद् सदस्य रहेका परियारले सोमबार साँझ साढे ७ बजेतिर नेता कार्यकर्ताहरूलाई संक्षिप्त सन्देश दिँदै लेखेका छन्,  'मैले पार्टी छोडेँ है अब। सकेन मैले। ' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रलोपामा सक्रिय भएका परियार पछिल्लो समय पार्टीभित्रको कार्यशैली र जिम्मेवारी बाँडफाँटलाई लिएर असन्तुष्ट थिए । स्रोतका अनुसार अध्यक्ष परिषद्का ५ सदस्यमध्ये परियारलाई मात्रै धेरै जिम्मेवारीमा जवाफदेही बनाउन खोजिएपछि उनी दबाबमा थिए । पछिल्लो समय चुनावको आर्थिक दायित्वको विषय समेत उनैसँग जोडिन थालेपछि उनी थप चिन्तित बनेका थिए । प्रलोपामा नेताहरू बाहिरिने क्रम यो पहिलो भने होइन । यसअघि नै अध्यक्ष परिषद्का सदस्यहरू सुदन किराँती, दुर्गा सोब तथा ओजस्वी भट्टराईले राजीनामा दिइसकेका छन् । परियारको बहिर्गमनसँगै ५ सदस्यीय परिषद् करिब रिक्त जस्तै बनेको छ । डा. बाबुराम भट्टराई संरक्षक रहेको यो पार्टी गत मंसिर ७ गते तामझामका साथ घोषणा गरिएको थियो । तर, निर्वाचनपछि शीर्ष नेताहरू नै एकअर्काको सम्पर्कमा नरहेको कार्यकर्ताहरूको गुनासो छ । संरक्षक भट्टराईसहित जनार्दन शर्मा र राम कार्की जस्ता प्रभावशाली नेताहरू समेत हाल सम्पर्कविहीन रहेको बुझिएको छ । प्रमुख नेताहरूले धमाधम पार्टी छोड्न थालेपछि प्रलोपाको राजनीतिक भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । थप सांगठनिक क्षतिका कारण पार्टी अस्तित्वको संकटमा पर्न सक्ने विश्लेषण गरिएको छ ।