कांग्रेसले पूर्णबहादुरलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।  कांग्रेसको लेटरप्याड दुरुपयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।  समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

कांग्रेसले चुनावमा अन्तर्घात गर्ने विरुद्ध उजुरी दिने समय थप्यो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारवाही गर्नका लागि उजुरी दिन एक महिना समय थप गरेको छ । बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको जानकारी दिएको हो ।  यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याउने निर्णय गरेको अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले बताए ।  गुरुङका अनुसार बैशाख मसान्तसम्म पार्टीले कारवाही अगाडि बढाउनेछ । वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै पनि कारबाही नहुने बताए ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।  मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन् ।  कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ  वन तथा वातावरण मन्त्री बनेका छन् ।   यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री बनेका छन् ।