संसदीय दलको नेता चयन गर्न कांग्रेसले गर्यो समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । समितिले तयारी गरेर चैत २४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका ल्याउने एक पदाधिकारीले जानकारी दिए । निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठित समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाललाई राख्ने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए । तर रसाइलीले भने आफू निर्वाचन समिति संयोजक रहेको भन्ने जानकारी नभएको बताए । उनले भने, ‘म आफै निर्वाचन हारेको मान्छेले कसरी निर्वाचितहरूको निर्वाचन गराउनु ?’ संसदीय दलको नेताका लागि समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी रहेको एक नेताले बताए । दुवै नेताबीच प्रतिस्पर्धा हुने देखिएको अवस्थामा नेतृत्व चयनलाई लिएर पार्टी भित्र आन्तरिक छलफलसमेत तीव्र बनेको छ ।
सभामुख अयार्लले पाउनेछन् १ लाख २७ हजार बढी तलब/सुविधा, १० लाखको बीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । घोषणा हुन बाँकी भए पनि कुनै पनि उम्मेदवारले मनोनयन नगराएपछि उनी निर्विरोध भएका हुन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनी सभामुखका रुपमा निर्वाचित भएको घोषणा हुनेछ । सभामुख अर्यालले अबको पाँच वर्षसम्म प्रतिनिधिसभाको सभामुख भएर जिम्मेवारी सम्हाल्नेछन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा सभामुख, उपसभामुख राष्ट्रिय सभाको अध्यक्ष तथा संघीय सांसदहरूले पाउने सेवा सुविधाको विषयमा उल्लेख गरिएको छ। सोही ऐनको अनुसूची १ अनुसार सभामुख अर्यालले ६७ हजार ३२० रुपैयाँ मासिक तलब सुविधा पाउनेछन् । तर, तलबसँगै अन्य सुविधा जाेड्दा भने उनले मासिक १ लाख २७ हजार बढी तलब तथा अन्य सुविधा पाउने छन् । यस्तो छ सभामुखको सेवा सुविधा पारिश्रमिक- ६७,३२०।– (मासिक) बैठक भत्ता- १०००।– विशेष भत्ता- १०००।– सञ्चार सुविधा- ३०००।– (प्रतिमहिना) आवास सुविधा- २८२७५।– (प्रतिमहिना) फर्निचर- १५०००।– निजी सचिवालय बन्दोवस्त- २०००।– (प्रतिमहिना) गार्ड घर- २०००।– (प्रतिमहिना) सवारी इन्धन- २५० लिटर (प्रतिमहिना) मोविल- १० लिटर (त्रैमासिक) बिजुली/पानी- बिल अनुसार दैनिक भ्रमण भत्ता ३०००।– यात्रा बीमा- १०,००,०००।– परिचारकलाई लुगा भत्ता- ४०००–– अतिथि सत्कार- २५००।– सुरक्षाकर्मी/कर्मचारी- २० जना
सभामुखमा अर्यालको एकल उम्मेदवारी
काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ । उम्मेदवारीका लागि तोकिएको समयमा एकल नाम मात्रै दर्ता भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । निर्धारित समयभित्र अर्यालको एकल उम्मेदवारी दर्ता भएको गिरीले जानकारी दिए ।