संसदमा ज्ञानेन्द्र शाहीको गर्जन- अहंकारले देश डढ्यो, ७६ युवाको बलिदानी भयो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसक्रममा भएको धनजनको क्षतिप्रति अघिल्लो सरकारको आलोचना गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले शासकहरूको अहंकारका कारण देशले ठूलो मूल्य चुकाउनुपरेको टिप्पणी गरे । सांसद शाहीले आन्दोलनको मूल जड सत्तापक्षको घमण्ड भएको दाबी गरे । ‘नेतृत्वको अहङ्कारका कारण देशमा विद्रोह भयो, जसमा सबै संरचनाहरू ध्वस्त भए,’ उनले भने । युवा पुस्ताको असन्तुष्टि र उनीहरूको आवाजलाई बेलैमा नसुन्दा स्थिति भयावह बनेको उनको तर्क छ । सांसद शाहीले यो घटना सामान्य नभएको भन्दै यसमा संलग्न दोषी र घटनाको वास्तविक कारण पत्ता लगाउन उच्चस्तरीय निष्पक्ष छानबिनको माग गरे । उनले भविष्यमा यस्तो रक्तपातपूर्ण र विनाशकारी अवस्था दोहोरिन नदिन सरकारलाई सचेत गराए ।
दलभन्दा ठूलो देश हो, दलगत स्वार्थ त्यागाैं : सांसद शाही
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले दलभन्दा ठूलो देश रहेको बताएका छन् । बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दलभन्दा ठूलो देश हो, दलगत स्वार्थ त्यागौं । यो दल, त्यो दल नभनौं, ’ उनले भने । सांसद शाहीले शिक्षामा व्यापक सुधार गर्न आवश्यक रहेको पनि बताए । साथै उनले अस्पतालमा उपचार गराउँदा अस्पतालमै बिरामी बन्धक भएकोमा चिन्ता पनि व्यक्त गर्दै अबको सरकारले यसमा पनि ध्यान दिनेमा आफू ढुक्क रहेको बताए । त्यस्तै उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन पनि आग्रह गरे ।
सरकारलाई कानुनसम्मत ढंगबाट अघि बढ्न आङ्देम्बेको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारलाई कानुनसम्मत प्रक्रिया र विधिको शासनको सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् । बिहीबारदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले पछिल्लो जेनजी आन्दोलनको प्रसंग उठाउँदै सरकारलाई सोचविचारपूर्वक निर्णय लिन सुझाव दिएका हुन् । उनले कानुनी प्रक्रियाको मर्यादा कायम राख्नु नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गरे । आङ्देम्बेले कांग्रेसको स्थायी मान्यता दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने रहेको स्पष्ट पार्दै अहिले पनि पार्टी सोही सिद्धान्तमा अडिग रहेको बताए । उनले भने, ‘सरकारले सोचबुझपूर्ण ढंगबाट कानुनसम्मत प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गर्नुपर्छ ।’ उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकप्रति लक्षित टिप्पणी गर्दै जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमाथि समेत प्रश्न उठाए । आयोगले भदौ २३ गतेका घटनामात्र अनुसन्धान गरेको तर २४ गतेका घटनालाई बेवास्ता गरेको भन्दै उनले निष्पक्षताको विषयमा शंका व्यक्त गरे । सांसद आङ्देम्बेले घटनाको समग्र छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन् ।