नयाँ संसद्को पहिलो बैठक : रवि लामिछानेलाई २५ मिनेट, प्रधानमन्त्री बालेनको मौन उपस्थिति

काठमाडौं । गत फागुन २१ गते सम्पन्न आम निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ ।  निर्वाचनपछिको यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।  आजको बैठकमा विशेष गरी नयाँ सरकारको कार्यदिशा र जनअपेक्षाका विषयमा नेताहरूले आफ्ना धारणा राख्ने जनाइएको छ । बैठकमा नेताहरूका लागि सम्बोधनको समयसमेत निर्धारण भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा बढी समय सम्बोधन गर्नेछन् ।  उनलाई सुरुमा ४० मिनेटको समय उपलब्ध गराइए पनि लामिछानेले २५ मिनेट मात्र प्रयोग गर्ने जानकारी दिएपछि सोहीअनुसार समय व्यवस्थापन गरिएको छ । यस्तै, नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले १० मिनेट र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले ८ मिनेट बोल्ने समय पाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने अन्य दल र स्वतन्त्र सांसदहरूका लागि पनि समय बाँडफाँट गरिएको छ । जसअनुसार नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले जनही ७–७ मिनेट सम्बोधन गर्नेछन् । उनीहरूलाई निर्धारित ५ मिनेटमा थप २ मिनेट समय उपलब्ध गराइएको हो । संसद्को पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहने भए तापनि उनले आज सम्बोधन नगर्ने भएका छन् । 

प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईबाहेक अरू दलका शीर्ष नेताहरूले निर्वाचन हारेका छन् । आजको बैठकमा सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले अझै संसदीय दलको नेता टुंगो नलगाएका कारण आङ्देम्बेलाई वक्ताको रूपमा अघि सारिएको हो ।  अर्का नेता अर्जुननरसिंह केसी ज्येष्ठ सदस्यका रूपमा बैठक सञ्चालनमा केन्द्रित रहने भएकाले उनी सम्बोधनमा सहभागी नहुने भएका हुन् । यसैगरी, नेकपा एमालेबाट रामबहादुर थापा, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्ने तय भएको छ । नेकपाका तर्फबाट संयोजक प्रचण्डले वर्षमान पुनलाई वक्ताका रूपमा अघि बढाउने तयारी गरेको नेकपाका एक नेताले जानकारी दिए । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले समेत पहिलो बैठकमा बोल्ने अवसर पाउनेछन्  । प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा उपस्थित हुने भए पनि आजको बैठकमा सम्बोधन नगर्ने उनको सचिवालयले जनाएको छ ।

सहकारी पीडितसँग मन्त्री रावलको संवाद सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल  सुरु गरेकी छन् ।  सरकार सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्यसहित अगाडि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन् । मन्त्री रावलले पीडितहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका गुनासा सुन्न थालेकी हुन्।  बिहीबार बिहानैदेखि मन्त्रालयमा भेला भएका देशभरका विभिन्न सहकारीका पीडितहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाउँदा भोग्नुपरेको आर्थिक र मानसिक पीडा मन्त्रीसमक्ष राखेका थिए । छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले पीडितहरूको उचित सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै साना बचतकर्ताहरूलाई राहत दिने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिइन् । ‘पीडितहरूको समस्या कसरी प्रभावकारी रूपमा समाधान गर्ने भन्नेमा हामी केन्द्रित छौं,’ उनले भनिन् ।