मन्त्रीहरूलाई नयाँ मोबाइल दिने कुरा झूटो हो, भ्रममा नपरौं: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो कि होइन छुट्याउन नागरिक सचेत हुनुपर्ने बताएका छन् । पछिल्लो समय सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको भन्ने आशयमा फैलिएका विषय पूर्ण रूपमा झूटो र बनावटी रहेको उनले स्पष्ट पारे । आइतबार बिहान नुवाकोटको लिखु गाउँपालिका-६ छहरे बजारमा स्थानीयसँग भेटघाट गर्दै मन्त्री तिमिल्सिनाले यस्ता गलत सूचना सरकारप्रति अनावश्यक अविश्वास फैलाउने नियतले आएका हुन सक्ने पनि बताए । केही व्यक्तिले जानाजानी भ्रम फैलाएको हुनसक्ने उनको भनाइ थियो । सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सन्जालमा कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोत जाँच गर्न सबैलाई आग्रह गरे । उनले सरकार जनताको करबाट उठेको पैसाको सही प्रयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दुरुपयोग देखिए नागरिकले प्रश्न उठाउनुपर्ने पनि बताए । ‘सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ । हामी जिम्मेवार भएर खबरदारी गर्न र प्रश्न गर्न छाड्न हुँदैन, उनले भने, ‘तर खराब नियतले गलत सूचना सम्प्रेषण भएको छ भने त्यसलाई पहिचान गर्न आवस्यक छ ।’ अहिले सरकार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलताको नीतिमा अघि बढेको पनि उनले बताए । सञ्चारमन्त्री तिमिल्सिनाले अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको उल्लेख गर्दै परिणाममुखी काममा जोड दिइने बताए । सरकारले गाउँ-गाउँमा पुगेर नागरिकको समस्या सुन्ने र त्यसकै आधारमा नीति बनाउने योजना रहेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भोलि बस्दै, यस्ता छन् मुख्य कार्यसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । भोलि अर्थात् वैशाख ६ गते आइतबारका लागि बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा दिनको ३:३० बजे बस्ने उक्त बैठकमा पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ । बैठकका लागि विभिन्न महत्त्वपूर्ण एजेण्डाहरू तय गरिएका छन्, जसमध्ये जिल्ला अधिवेशन कार्यविधि २०८३ र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन मुख्य रहेका छन् । यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिनेछ ।
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघिबढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए । 'हिजोको दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने जिम्मा शेरबहादुर देउवामा थियो । अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकोमा छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको जिम्मामा छ,' उनले भने । पार्टीका नेता डा. प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुङ्गो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे । नेता महतले पार्टीको १५औं महाधिवेशन गर्नका लागि दुवै समूहलाई सहभागिता गरेर साझा संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने धारणा बैठकमा उठेको बताए । पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।