ओली र लेखक पक्राउको विरोधमा माईतीघरमा प्रदर्शन

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ । एमालेका जनवर्गीय संघसंगठले आइतबार माईतीघरमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना सर्त रिहा गर्न माग गरेका छन् । अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो । पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारको विरोधमा ज्ञापन पत्र समेत बुझाएको छ ।   अध्यक्ष ओली पक्राउ परेसँगै एमालेले कानूनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडि बढाएको हो । एमालेको प्रदर्शनका कारण काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । माईतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।    

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।   सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई पक्राउ गरिएको विकासन्युजलाई जानकारी दिए । सीआइबीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

केपी ओलीको पक्राउबारे एमालेले गर्यो ४ निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार केपी शर्मा ओलीको पक्राउविरुद्द आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।  यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई कार्यालयमा विरोधपत्र बुझाउने र  लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय पनि गरेको छ ।