विशेष महाधिवेशन गरेकोप्रति कुनै ग्लानी छैन, दलालकहाँ पुगेर सभापति बनेको होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन गर्ने निर्णयप्रति आफूलाई अहिले पनि कुनै ग्लानी नरहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आफू सभापति बन्नका लागि कुनै ‘दलाल’ कहाँ नपुगेको स्पष्ट पारे ।  थापाले आफूले विशेष महाधिवेशनको निर्णय एक मिनेटको अलमलमा नभई गम्भीर सोचविचारपछि लिएको बताए । उनले भने, ‘एक मिनेट पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ । सभापति बन्न दलालकहाँ पनि पुगेको थिइनँ ।’  उनले चुनावका लागि नेपाली कांग्रेसका निम्ति खटिएका सबैप्रति आभार व्यक्त गरे । साथै, आफूले पहिलो पटक उपसभापतिसँग नै राजीनामाको कुरा राखेको जानकारी पनि दिँदै निर्वाचनलगत्तै राजीनामा दिन चाहेको भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे ।  सभापति थापाले आफ्नो राजीनामाको प्रसंग विश्वसनीयता र जवाफदेहीतासँग जोडिएको बताए । उनले भने, ‘म सभापति हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौं । त्यसैले जवाफदेहीताको जिम्मेवारी लिनुपर्छ भन्ने गरी राजीनामा दिएको हुँ ।’ उनले आफ्नो राजीनामा स्वीकृत हुनुपर्ने अपेक्षा भए पनि कार्यसमितिले अस्वीकृत गरेको बताए । कार्यसमितिको निर्णय आफ्नो अपेक्षाविपरीत भए पनि त्यसलाई सम्मान गरेको उनको भनाइ छ ।  थापाले अब उक्त प्रसंग समाप्त भइसकेको र पार्टी नयाँ अध्यायमा प्रवेश गरिसकेको उल्लेख गरे । उनले भने, ‘त्यो अध्यायको समाप्त भएको छ । अब नयाँ अध्यायमा प्रवेश गरेका छौं । अब हामी नियमित महाधिवेशतर्फ अगाडि बढ्नुपर्छ । थप गति र परिस्कृत भएर जानुपर्छ ।’

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, यी हुन् बैठकका पाँच एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक सभापति गगनकुमार थापाको अध्यक्षतामा सुरु भएको छ ।  आमनिर्वाचन २०८२ को परिणामपछि सभापति थापाले दिएको राजीनामा यसअघि बसेको केन्द्रीय समिति बैठकले अस्वीकृत गरेपछिको यो पहिलो बैठक हो । बैठकको सुरुमा सभापति थापाले खुला सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकको औपचारिकता सकिएपछि थापाले खुला सम्वोधन गरेपछि नियमित बैठक सुरु हुने उनले बताए  । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने, १५औं महाधिवेशनको तयारी अघि बढाउने, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा गर्ने, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्ने तथा भातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिको भूमिका सुदृढ गर्ने लगायतका एजेन्डा समावेश गरिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज, कार्त्तिकमा १५ औं महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार (आज) मध्यान्ह १ बजे बस्दैछ । बैठक सभापति गगनकुमार थापाको अध्यक्षतामा बस्न लागेको हो । आमनिर्वाचन २०८२ को परिणामपछि सभापति थापाले दिएको राजीनामा यसअघि बसेको केन्द्रीय समिति बैठकले अस्वीकृत गरेको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ ।  बैठक विशेषत: १५ औं नियमित महाधिवेशनमा केन्द्रित हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।  वैशाखमा हुने भनिएको १५ औं महाधिवेशन कार्त्तिकमा गर्नेगरी छलफल हुने ती केन्द्रीय सदस्यले बताए ।