लेखा समितिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शुक्रबार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्काबाहेक अरू कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरे । ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रस्ताव आएको बताए । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए ।  खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गरे।  निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्त्वपूर्ण समिति भएको र आफूले जवाफदेहीता र जिम्मेवारी प्राप्त गरेको बताए । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताए ।  उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे ।  सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याए ।  विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताए । उनका अनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे ।  साथै नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ । 

शिक्षा स्वास्थ्य समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।  शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन सभापतिमा विजयी भएकी हुन् । बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत जुटाउन नसक्दा उनी अल्पमतमा परेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि बरालले विजयी शेरचनलाई बधाई दिएका छन् । समितिको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो ।

संसदीय समितिमा एमाले र नेकपालाई मतदान गर्न कांग्रेसको उर्दी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउन उर्दी जारी गरेको छ । कांग्रेसले आज हुने निर्वाचनका लागि सांसदहरुलाई उर्दी जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।  यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । नेकपा, एमाले र नेकपाले पनि सार्वजनिक लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरेका  थिए  । सो निर्णयपछि कांग्रेस एमाले र नेकपालाई मतदान गर्न तयार भएको हो ।  यस्तै, कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।