नेपालले भोलि भारतसँग खेल्दै, यस कारण जित्न सक्छ नेपाल
काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको हो । सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान हुनेछ । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो । पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । समूह चरणमा नेपालले मंगोलियालाई २७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । त्यसैले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सक्ने ठूलो सम्भावना छ ।
कुशलकी आमा भन्छिन् – आक्रामक खेल्ने भएकाले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ तर, अस्तिको खेल पूरै हेरेँ
काठमाडौं । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई २७३ रनको भारी अन्तरले पराजित गरेपछि उनमा कुनै खुसीको कुनै सीमा रहेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेरिन् । उनले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाइन् । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उनले भनिन्, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।” कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन् । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहेका बाबु रोमन्त झनै खुसी छन् । उनी खुसी हुनुको कारण पनि आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी छन् । कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन छन् । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछन् । “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उनले भनिन्, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।” कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताइन् । क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको बताउँछन् । “क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, उनले भनिन्, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।” प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ । कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भनिन्, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।” कुशलको कीर्तिमानी शतक एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ । यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएइविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।रासस
बुबाले अधियाँ कमाएर हुर्काएका ‘भीम’, क्रिकेट खेलेर नामसँगै बुुबाको ऋण समेत तिरे
महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो’, बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ । ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । ‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५÷२० लाख रुपैयाँ ऋणमा डुबे’, उनले भने, ‘९÷१० लाख रुपैयाँ छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् । थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्् । ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे । ‘सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । ‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । ‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।’ भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । ‘क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन’, ्उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।’ त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो, कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ’, उनले भने । यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो, अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो’, उनले भने । बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ । ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै, खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्’, उनले भने । पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ । ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन््’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।’ रासस