युएईले हङकङलाई हरायो

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनकोसाझेदारी गरेका थिए । युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा शनिबार भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ । नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि एक सय ८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका शोतारो हिरात्सुकाले १५ र किपÞmर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाएका हुन । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए । अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएईले अर्को सेमिफाइनलमा खेलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।

नेपालद्वारा हङकङ पराजित

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे । नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए । त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए । अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ ।