दि निलय होटल्सको साधारण सभा सम्पन्न, आईपीओ प्रक्रियामा जाने निर्णय
काठमाडौं । दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी उक्त सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । सभाले कम्पनीको भावी विस्तार तथा दीर्घकालीन विकासलाई लक्षित गर्दै शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाउने, आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने, अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकता अनुसार मर्जर तथा अधिग्रहण गर्न सक्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको स्थापना, हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी रणनीतिक योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए । अध्यक्षले होटल्स निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिँदै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताए । साथै, कम्पनीले चारतारे स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको जानकारी पनि दिइएको छ । पर्यटन क्षेत्रप्रति प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः दोर्होयाएको छ ।
देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु हुँदा छुटे यी तीन पूर्वप्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपाले आफ्नो चुनावी वाचापत्र र शनिबार सार्वजनिक गरेको शासकीय सुधारका एक सय काममा उल्लेख गरेको सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्नेअनुसार नै प्रक्रिया अगाडि बढाएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । गत भदौमा भएको जेनजी आन्दोलनमा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । देउवासँग प्रचण्डपुत्री गंगाको निवासमा पनि ठूलो परिमाणमा पैसा भेटिएको विषय बाहिरिएको थियो । त्यतिबेलै दाहालले नेताको घरमा त्यो पैसा हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । जेनजी आन्दोलनमै प्रहरीले बालकोटस्थ्ति ओली निवासमा समेत पुगेर मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले सोही अनुसन्धानलाई तीव्रता दिइएको हो । रास्वपा सरकारले शनिबार शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गर्ने, पहिलो चरणमा वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने सरकारको योजना छ । दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने योजना सरकारको छ । सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाउँदा तीन पूर्वप्रधानमन्त्री भने छुटेका छन् । पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, झलनाथ खनाल र माधव नेपालबारे अहिले अनुसन्धान आगाडि बढाइएको छैन । डा. भट्टराई २०६८ देखि २०६९ चैतसम्म प्रधानमन्त्री बनेका थिए भने खनाल २०६६ देखि ६७ सालसम्म प्रधानमन्त्री बनेका थिए । खनाल पनि २०६७ मै ६ महिना प्रधानमन्त्री बनेका थिए । देउवा, ओली र प्रचण्ड भने पटक प्रधानमन्त्री बनेका छन् ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु, २ करोडभन्दा बढीको आर्थिक क्षति
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार नेपालका विभिन्न २० जिल्लामा २४ घण्टाको अवधिमा ३३ वटा विपद्का घटनाहरू भएका छन् । चैत १४ गते बिहान १० बजेदेखि चैत १५ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी २ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा बाढी र जनावरको आक्रमणबाट १–१ गरी कुल २ जनाको मृत्यु भएको छ । यसै अवधिमा चट्याङबाट ३, सर्पदंशबाट २, आगलागीबाट १ र पहिरोबाट १ गरी कुल ७ जना घाइते भएका छन् । विपद्का घटनाहरूबाट अनुमानित २ करोड ३ लाख ७० हजार ६४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । साथै २३ चौपायाको क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहत कार्यका लागि देशका विभिन्न स्थानमा ३ सय २१ जना प्रहरी परिचालन गरिएको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हावाहुरीका १२ वटा घटनाहरू भएका छन् । त्यसैगरी आगलागीका ९, चट्याङका ५, पहिरो र सर्पदंशका २–२ तथा बाढी, अविरल वर्षा र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन्। आगलागीबाट मात्रै ६ जिल्ला प्रभावित भएका छन् भने हावाहुरीले २ जिल्लामा क्षति पु¥याएको छ । वर्षभरिको तथ्याङ्क (२०८२ वैशाख १ देखि हालसम्म) चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि चैत १५ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा नेपालमा कुल ७ हजार ३ सय ३७ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ८६ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन् । विपद्का कारण १ हजार ९ सय २६ जना घाइते भएका छन् भने १३ हजार २ सय ६० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस अवधिमा आगलागीबाट सबैभन्दा बढी १०४ जनाको मृत्यु भएको छ । त्यसैगरी सर्पदंशबाट ९९, पहिरोबाट ७६, जनावर आक्रमणबाट ५६ र चट्याङबाट ४७ जनाको ज्यान गएको बुलेटिनमा उल्लेख छ । वर्षा र तापक्रमको अवस्था गत २४ घण्टामा देशभरका ३ सय ६६ वर्षा मापन केन्द्रहरूमध्ये १ सय १४ वटा केन्द्रहरूमा वर्षा मापन गरिएको छ । सबैभन्दा बढी वर्षा बारा जिल्लाको रतनपुरी केन्द्रमा २९.४ मि.मि. भएको छ । तापक्रमको विवरणअनुसार, पर्साको वीरगञ्जमा सबैभन्दा बढी ३३.४ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको छ । त्यस्तै, मुस्ताङको थाकमार्फामा सबैभन्दा कम –१.० डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । सोलुखुम्बुको लुक्लामा भने अधिकतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको थियो ।
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासनमा बुझायो विरोधपत्र
काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ । पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र पत्र बुझाएको हो । अध्यक्ष ओलीको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउन माग गरेको छ। एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताए । उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने समेत बताए । उनले नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न सरकार जिम्मेवार हुनुपर्ने समेत उल्लेख गरे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताए । उनले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको पनि बताए ।
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
काठमाडौं । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन् । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए । कियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ क्लब’मार्फत हिमालय चितुवाले खेल्दै आएका छन् । हालसम्म उनीले तीनपटक हिट किकबक्सिङ तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् । साथै हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन् । साथै हालसम्म यस्ता उपाधि हासिल गर्ने उनीले पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन् । रासस
ओली र लेखक पक्राउको विरोधमा माईतीघरमा प्रदर्शन
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ । एमालेका जनवर्गीय संघसंगठले आइतबार माईतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना सर्त रिहा गर्न माग गरेका छन् । अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो । पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारको विरोधमा ज्ञापन पत्र समेत बुझाएको छ । अध्यक्ष ओली पक्राउ परेसँगै एमालेले कानूनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडि बढाएको हो । एमालेको प्रदर्शनका कारण काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । माईतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक २२ गते ‘आर्थिक बहसः २.०’ कार्यक्रम आयोजना गरी परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसलगत्तै ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ कार्यक्रममा थप छलफल गरी महासंघले सरकारलाई (पीएसपीपी) को अवधारणापत्र पेश गरेको थियो । 'यसबाट निजी क्षेत्रका व्यवसाय, व्यक्तिगत लगानी र सम्पत्तिको सुरक्षा तथा आवश्यक प्रवर्द्धन सरकारले प्रत्याभूत गर्ने प्रतिबद्धता आएको छ । निजी क्षेत्रको मनोबल बढाई लगानी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,' महासंघ अध्यक्ष ढकालले भने । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रमको ६०औँ बुँदामा पीएसपीपी समेटिएको छ । देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण तथा निजी क्षेत्रको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (पीएसपीपी) स्वीकृत गरी तत्काल लागू गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । महासंघको सुझाव मनन गरी सरकारले सो रणनीतिमार्फत भौतिक सुरक्षा तथा सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान एवं नियामकीय सरलीकरण, लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलतासम्बन्धी कार्यनीतिहरू तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास एवं प्रतिष्ठानमा भएको तोडफोड तथा आगजनीबाट प्रभावित निजी क्षेत्रलाई एकीकृत राहत तथा व्यवसाय सरलीकरण गर्न महासंघले उक्त प्रस्ताव पेश गरेको थियो । मन्त्रिपरिषद्को निर्णयमा आवश्यक सहुलियत उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । नीतिगत सुधारका लागि महासंघकै आग्रहबमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरूलाई पनि सरकारले ग्रहण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । जसअनुसार १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने निर्णय नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्नुभएको छ । महासंघको ढोरपाटनमा आयोजित तेस्रो कार्यकारिणी समितिको बैठकले आर्थिक बहस कार्यक्रम आयोजना गरी दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र तयार पार्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न सरकारसमक्ष आग्रह गर्ने निर्णय गर्दै त्यसका लागि पैरवी गरेको थियो । 'महासंघले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० मार्फत यी लगायतका कानुनको संशोधन, परिमार्जन एवं खारेजीका लागि आग्रह गरेको थियो । आयोगका सुझाव कार्यान्वयनका लागि पीएसपीपी संयन्त्रका रूपमा काम गर्नेछ । रणनीति निर्माण र कार्यान्वयनमा हामी सरकारसँग सहकार्य गर्नेछौँ,' अध्यक्ष ढकालले भने । यसैगरी महासंघको आग्रहमा विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभागलगायत समान प्रकृतिका कार्य गर्ने निकायहरूको एकीकृत संरचना निर्माण गर्ने निर्णयले सेवाग्राहीलाई सहज र सरल सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । यसैगरी सर्वसाधारणले लिने अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने र सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता रहेको छ । सरकारले सबै व्यावसायिक सेवा उपलब्ध गराउने गरी ‘वन डोर बिजनेस प्लेटफर्म’ ४५ दिनभित्र तयार पार्ने उल्लेख गरेको छ । उक्त सेवा नागरिक एपमार्फत प्रदान गर्न सकिने सम्भावना रहेको र यसको अध्ययन प्रतिवेदन महासंघले सरकारसमक्ष छिट्टै पेश गर्ने जनाएको छ । ऊर्जा उत्पादन तथा निर्यातलाई प्रोत्साहन दिने विषय पनि सकारात्मक रहेको महासंघको धारणा छ । ऊर्जालाई कच्चा पदार्थका रूपमा ग्रहण गरी उत्पादनमूलक उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके दोहोरो फाइदा हुने महासंघले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल माथि पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदै
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल माथि पनि अनुसन्धान सुरु गरेको छ । विभागले नेपाली कांग्रेसका पूर्वसभापति देउवा र नेकपाका संयोजक दाहालमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो । विभाग स्रोतका अनुसार जेनजी आन्दोलनमा पूर्वप्रधानमन्त्रीका घरमा जलेका बेला फेला परेका नोटका टुक्रा र धुलोको परीक्षण गरिएको थियो । विभाग स्रोतले विकासन्युजलाई भन्यो, ‘केही पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरणमा जेनजी आन्दोलनदेखि अनुसन्धान सुरु गरिएको छ । अहिले पनि अनुसन्धानको प्रक्रियामै छ ।’ आजैमात्र देउवाको बुढानीलकण्ठ निवास भत्काउन नेपाल प्रहरीले रोकेको छ । प्रहरीले प्रमाणहरू नष्ट हुने भन्दै घर भत्काउन नदिएको हो । सरकारले देउवा परिवारको सम्पत्ति र जेनजी आन्दोलनमा भेटिएको पैसाको छानबिन गर्न लागिएको बुझिएको छ। त्यसैगरी, आइतबार बिहान पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार बिहान पक्राउ गरेको हो । गृहमन्त्री सुधन गुरुङका अनुसार उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो । जेनजी आन्दोलनअघि खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत बनेका थिए ।