१ हजार रुपैयाँ पकाएपछि सदनबाट सांसद गायव, हाजिरमा ४७७ सदनमा ९७ मात्रै
काठमाडौं । आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसदको बैठक २ दिनको लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भएपनि कोरम यकिन गर्दा ९७ जना संसदमात्रै फेला परेका थिए । हाजिर गरेर ३८० सांसद वेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन । सांसदहरुले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेवापत १ हजार रुपैयाँ भत्ता पाउँछन् । गणपुरक संख्या नपुग्दा संबैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेन । सांसदहरु हाजिर गरेर हिडिपछि महत्वपपूर्ण विधेयक पारित हुन सकेन । गोरखापत्र दैनिकबाट ।
गच्छदारको घोषणा: चुनाव जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्। साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन्। सो बैठकमा सहभाभी एक नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसदलाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन दिएका थिए। ‘पुरस्कार भनेर पैसा दिने कुरा त गर्नु भएन तर सांसद भएकालाई मन्त्रीमा सिफारिस गर्ने र मन्त्री नभएका पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने अध्यक्षको आशय थियो,’ बैठकमा सहभागी सांसद योगेन्द्र चौधरीले भने,‘ अध्यक्षज्यूले आआफ्नो क्षेत्रमा चुनाव नजिताउने नेताहरूलाई कारबाहीस्वरूप घटुवा गर्ने पनि बताउनुभएको थियो। नागरिक दैनिकबाट ।
राजनीतिमा जम्न नसकेको नेपाली कलाकार, कलाकारित र राजनीति दुबैमा डुलमुले बन्दै
काठमाडौं । गणतन्त्र स्थापनासँगै कलाकारहरुमा राजनीतक मोह बढ्दै गइरहेको छ । पछिल्ला १० वर्षमा नेपाली कलामा जमेका कलाकार राजीनिमा किन जम्न सकेनन त ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु । -कोमल वली, गायिका तथा राप्रापा नेतृ कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ । -चेतन सापकोटा, संगीतकार दलहरूले प्रयोग मात्र गरे कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् । – बद्री पंगेनी, लोकदोहोरी गायक विकास र निकासका लागि हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । -राधिका हमाल, लोकगायिका स्थापित नेतृ बन्छु कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु । कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु । –रेखा थापा, नायिका तथा नेतृ, राप्रपा नयाँ पत्रिका दैनिकबाट ।
सडकको खाल्डाखुल्डी पुर्नमा झारा टराई, भिआइपीको आँखा पर्ने खाल्डा मात्र पुरिए
काठमाडौं । प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् । कतैकतै सरकारी निकायका भिआपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ । आम सर्वसाधारण हिड्ने सडककको खाल्डाखुल्डी जस्ताको तस्तै छ । भीआईपीका आँखा पर्ने र सिहंदरबारबाट वरपरका खाल्डा मात्रै पुर्ने काम भएको छ । प्रधानमन्त्रीको निर्देशनले काठमाडौंका सीमीत मूल सडकको मात्रै सिमित खाल्डा पुरेको देखिएको छ भने बाँकी प्रगति भएको छैन । नागरिक दैनिकबाट ।
देशैभरको सडक विस्तारमा अदालतको अवरोध, अधिकांश सडकको प्रगति शून्य
काठमाडौं । सडक विभागका पाँचवटा डिभिजनले काठमाडौं उपत्यकामा विस्तार गरिरहेको सडकको काम रोकिनुमा अदालतको आदेशपछि स्थानीयको अवरोध मात्र होइन, अन्तरनिकाय समन्वय अभाव पनि देखिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीका अनुसार विद्युत्का पोल, ट्रान्सफर्मर, टेलिफोन क्याबिनेट, टेलिफोन म्यानहोल, स्ट्रिट लाइट, रूख, घरटहरा, पर्खाल, खानेपानी ट्यांकी तथा ढलको समस्या समाधान नभएका कारण पनि सडक विस्तारमा अवरोध भएको हो। यद्यपि, जहाँ काम गर्न मिल्छ त्यो ठाउँमा गरिएको केसीले बताए। युटिलिटिजु हटाउन नसक्दा कलंकी नागढुंगा साढे १२ किमिको सडकमा मुस्किलले पाँच किमि खुला छ। त्यो पनि ठाउँ(ठाउँमा खुला रहेको र बीचमा घर परेकाले पनि ‘युटिलिटिज हटाउन नसक्दा अवरोध भइरहेको छ। सडक विभागअन्तर्गत नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, जिल्ला वन कार्यालय, उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलागयत निकायले सडक अवरोध नहटाउँदा पनि काम हुन नसकेको उल्लेख छ। स्थानीयले घर भत्काउँदा घरको मात्र होइन, जग्गाको पनि क्षतिपूर्ति माग गरेका छन्। उपत्यका नगर विकास प्राधिकरण ऐन २०४५ ले सडकको केन्द्रबाट ११ मिटर दायाँ(बायाँ बनेका घर भत्काउने अधिकार दिएको छ घरहरुमा यस्तो समस्या यही नियममा टेकेर प्राधिकरणले सडक विभागले निर्माण गर्ने उपत्यकाका मूल सडकको ‘साइट क्लियरु गर्न घर भत्काउने गरेको छ। प्राधिकरणले भने मापदण्डविपरीत बनेको कुनै पनि घरको क्षतिपूर्ति नदिने र कुनै घरपरिवार विस्थापित हुने भए घरको र सुकुम्बासी नै हुने अवस्थामा भने जग्गाको पनि क्षतिपूर्ति दिने गरेको जनाइएको छ। यी सडकमध्ये अधिकांशको ठेक्का लागिसकेको छ। ठेक्का लागेपछि कानुनी प्रावधानअनुसार नै ठेकेदारले १० प्रतिशत रकम परिचालन खर्चका रूपमा पाउने गरेका छन्। यो रकम पाएका तर कामै अगाडि बढाउन नपाएका कारण पनि उपत्यकाका केही सडकको प्रगति शून्य रहेको पनि उल्लेख छ। एउटै ठेकेदारले धेरैवटा ठेक्का लिने र समयमै काम नगर्नु समस्याका कारण साइट क्लियर भएका ठाउँमा पनि अपेक्षाअनुसार काम हुन नसकेको विभागले जनाएको छ। काठमाडौंबाहेक भक्तपुर र ललितपुरमा पनि अन्तरनिकाय समन्वय अभावले सडक विस्तारमा अवरोध भएको सम्बन्धित जिल्लाका डिभिजन सडक कार्यालयको भोगाइ छ। अन्नपूर्ण पोस्टबाट ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने भएको छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको सो कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । “ धुर्मुस सुन्तली फाउण्डेशन ” का फाउण्डर तथा सिटीएक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस ) र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारमा रहेका नेपालीहरुसंग फेसबुक पेजमार्फत प्रत्यक्ष कुराकानी गर्दै उक्त घोषण गरिएको हो । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन काबेली विकास बैंकको र मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले काबेली विकास बैंककोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४८३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७०४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८४९ रुपैयाँ रहने भएको छ ।
जीएसटीले डावरको नाफा घट्यो
न्युदिल्ली, एजेन्सी । बिक्री घटेपछि भारतको कन्जुमर प्रडक्ट कम्पनी डावर इन्डिया लिमिटेको खुद नाफा १० प्रतिशत गिरावट आएको छ । भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि उत्पादन भण्डारण गर्नुपर्दा डावरको नाफमा गिरावट आएको हो । गत जुनसम्म डावरको नाफा ९.८ प्रतिशत घटेको जानकारी गराएको छ । यस्तै विमौद्रीकरण नीति, व्यापार असन्तुलन र जीएसटीले नाफामा गिरावट आएको लाइभ मिन्ट अनलाइनले जनाएको छ । गत जुनसम्म डावरको खुदनाफा घटेर २ अर्ब ६४ करोड ८६ लाख भारुमा सिमित भएको छ । अघिल्लो वर्ष डावरको खुद नाफा २ अर्ब ९३ करोड ६४ लाख भारु थियो । गत जुन ३० सम्म डाबरको बिक्री घटेर १७ अर्ब ९० करोड भारुमा समित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको बिक्री १९ अर्ब ५२ करोड रुपैयाँको व्यापार भएको थियो । सुरुको केही महिना व्यापार बढेर सकरात्मक संकेत देखिए पनि जीएटीका कारण सामानको भण्डारण बढेपछि बिक्रीमा गिरावट आउदो समग्र नाफमा असर परेको हो । “यस्तो अवस्थामा पनि हाम्रा उत्पादनको माग सबल रहेको छ । सुधार हुने क्रममा छौ”, डावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील डग्गलले भने ।