विकासन्युज

लुम्बिनी विकास बैंकका अध्यक्ष सुशिलराज पराजुलीद्धारा शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष सुशिलराज पराजुलीले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ । साविकका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक तथा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा गाभिई बनेको राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकमा नयाँ संचालक समितिको गठन भएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरकाे सेवा अब जापानमा पनि, नेपालीहरुलाई सहज हुने

टोकियो । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा विस्तार गरेको छ । जापानबाट पैसा पठाउने सहज माध्यमका रुपमा स्थापित सिटी एक्सप्रेसले फुकुओकामा पनि कार्यालय सञ्चालनमा ल्याएपछि त्यहाँका नेपालीहरुलाई सहज हुने भएको छ। जुलाई एक तारिखका दिनदेखि फुकुओकामा सिटी एक्सप्रेसले आफ्नो कार्यारम्भ गरेको हो।ग्रुपका अध्यक्ष महेश कुमार श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे। उद्घाटन समारोहमा फुकुओकामा बसोबास गर्दै आएका करिब दुई सय नेपालीहरुको सहभागिता रहेको थियो। जापानबाट नेपाल पैसा पठाउने सबैभन्दा भरपर्दो र जापानकै पहिलो नम्वरको सिटी एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा आउने छ । कम्पनीले शाखा सञ्चानलको अवसरमा यो महिनाभर निशुल्क रकम पठाउन पाउने ब्यवस्था समेत मिलाएको छ । यस्तै एउटै छानाबाट सेवा दिने उद्देश्यले उक्त भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले पनि कार्यारम्भ गरेको छ।नेपाल जाने हवाई टिकट लिनका लागि अब नेपालीहरुले झण्झट ब्यहोर्नु नपर्ने भएको छ। यो सेवारम्भबाट फुकुओकामा रहेका नेपालीहरुलाई रकम पठाउने र हवाई टिकट लिने समस्या समाधान हुने कम्पनीले विश्वास लिएको छ।

केल्भिनेटरका दुई नयाँ मोडलको वासिङ्ग मेसिन बजारमा, मूल्य ५४ देखि ५७ हजार रुपैयाँ पर्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले केल्भिनेटरका थप दुई नयाँ मोडलका फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएका छन् । जस अन्तर्गत केएलएफटी६५एमएसडी(६.५ केजी) र केएलएफटी७४एमएसडी(७.५ केजी) रहेका छन् । जसमा हट वाटर वास, बिग डोर, टुब किल्न, अटो रिस्टार्ट, पउज, स्पीड वास, इन्टीलिजेन्ट मेमोरी फङ्सन, चाइल्ड लक, डिजिटल स्क्रिन, अटो पावर, एन्टी फोएमिङ एण्ड सेन्सर जस्ता विशेषताको साथ आरपीएम १००० रहेको छ । बजारमा यी दुई ब्राण्डको ६.५ केजीको केल्भिनेटरलाई ५४ हजार ५९० रुपैयाँ र ७.५ केजीको लाई ५७ हजार ०९० रुपैयाँ पर्ने केल्भिनेटरका आधिकारीक विक्रेता सि.जी. इ.ओ.एल.ले जनाएका छन् ।

काठमाडौं विश्वविद्यालयलाई चार अर्ब रुपैयाँ बजेट

धुलिखेल । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको ७६ औँ सभा बैठकले आव २०७३/७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । बैठकले कार्यकारी परिषद्को सिफारिसअनुसार विश्वविद्यालय सभामा रिक्त सभासद्मा प्राचार्यमध्येबाट डा चन्दा कार्की, चन्दादातामध्येबाट राजेन्द्र खेतान र सञ्जीव राजभण्डारी, लब्धप्रतिष्ठित विद्वान्मध्येबाट रामेश्वर खनाल, डा बालगोपाल वैद्य, डा स्वर्णिम वाग्ले, डा तीर्थबहादुर श्रेष्ठ र विद्याधर मल्लिक, उद्योगपतिमध्येबाट ज्ञानेन्द्रलाल प्रधान र शिक्षक प्रतिनिधिका रूपमा डा धीरज गिरीलाई मनोनयन गरेको छ । बैठकले प्राज्ञिक परिषद्मा प्रा डा सुनिलकुमार शर्मा र प्रा डा अर्पणा न्यौपानेलाई तथा पुनरावेदन समितिमा मल्लिक, डा गिरी र महादेवप्रसाद यादवलाई मनोनयन गरेको छ । सभाले आगामी आवको लेखापरीक्षण सम्पन्न गर्न एमबी श्रेष्ठ एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गर्दै पदक तथा विभूषणसम्बन्धी नियम र छात्रवृत्तिसम्बन्धी नियम पारित गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले विश्वविद्यालय विपन्न वर्गका जेहेन्दार विद्यार्थीको पहुँचमा पुग्न सक्नुपर्नेमा जोड दिए । “विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक निकाय बनाउनुपर्छ, अनावश्यक विवादमा तान्नु हुँदैन”, उनले भने, “बाह्य र राजनीतिक हस्तक्षेपबाट पूर्णतया मुक्त राख्नुपर्छ ।” उनले आफ्नो संरचनालाई युग अनुकूल परिमार्जन गरी समय र समाजको आवश्यकतानुसार कार्यक्रम विस्तार गर्न निर्देशन दिए । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले देशमा भएका स्रोत साधनलाई जनताको हितमा अधिकतम उपयोग गराउन सक्ने किसिमका अनुसन्धान गर्नुपर्ने र देशभित्रका समस्याको समाधान गर्ने दिशामा विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, क्रियाकलाप र अनुसन्धान लक्षित हुनुपर्ने बताए । उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले विश्वविद्यालयले गरेको कार्य विवरण प्रस्तुत गर्दै समुदायलाई उत्पादनशील र सिर्जनशील बनाउन विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्य भइरहेको, स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग सहकार्य भइरहेको, यहाँको जनशक्तिलाई अझ दक्ष बनाई वृत्ति विकास र व्यक्तित्व विकास गराउन सबै तहमा ‘स्टाफ मोबिलिटी’ का अवसर दिन थालिएको र यहाँबाट प्राप्त हुने ज्ञान र सीप दुर्गम क्षेत्रका समुदायको हितमा उपयोग गराउन विभिन्न कार्य भइरहेको जानकारी गराएका छन् । उनले विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन रजत महोत्सवको अवसर पारी ‘उपकुलपति रजत महोत्सव छात्रवृत्ति कोष’ खडा गरिएको जानकारी दिए । रासस

केएल मोबाइल एक्स्पोको समय थप, मोबाइल खरिदमा ६० प्रतिशत सम्म छुट

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोको समय असार मसान्त सम्मका लागि थप गरिएको छ । स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल सेटहरु ६० प्रतिशत छुटमा कारोबार गरिरहेको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । यसैगरि मोबाइल हबमा मोबाइल खरिद सँगै केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेशकुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथमहुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेकोपनि ग्लाइडरले जानकारी दिए । वान प्लस ५ मोबाइलको प्रि बुकिङमा ७ हजार ८ सय रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र क्लब डेजाबुको १ बर्षको लागि प्रिभिलेज कार्ड उपलब्ध गराइने निर्देशक संगम राइले जानकारी दिए । विश्वबजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार भइरहेको यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो,वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । मोबाइल हबमा प्रबेश गर्ने सबैलाइ प्रत्यक्ष लक्की ड्र मा समाबेश गराइदै आएकोमा हाल सम्म सयौं जनाले सेल्फी स्टिक, टिशर्ट, रिङ स्ट्याण्ड, मोबाइल लगायतका उपहार पाइसकेका छन् । हरेक मोबाइलको खरिदमा ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाइने भएका कारण पनि मोबाइल एक्स्पोमा खरिदकर्ताहरुको घुइँचो लागेको केएल मोबाइल हबले जनाएको छ ।

अटो लोनको सिमा ५० प्रतिशतमा खुम्चिँदा किन बढ्यो सवारी साधनको आयात ४७ प्रतिशतले ?

काठमाडौं । ‘निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका मध्यावधि समिक्षाबाट लिएको निती यो हो । निजी प्रयोजनका सवारी साधनमा अत्याधिक कर्जा गएर बजारमा लगानी योग्य पुँजीको अभाव भएको निष्कर्षसहित केन्द्रिय बैंकले कडाईको निती लिएको थियो । सवारी साधनको कर्जामा लगाम लगाए पनि व्यापार घट्ने भन्दै अटो मोबाइल व्यवसायीले व्यापक असन्तुष्ठि जनाएका थिए । तर केन्द्रिय बैंकको कर्जा घटाउने योजनाले सवारी साधनको आयातमा भने कुनै प्रभाव परेको देखिएन् । उल्टै सवारी साधनको आयात ४७ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा ७४ अर्ब ६२ करोड ८४ लाख ५० हजार मुल्यका सवारी साधन र त्यसका पार्टपुर्जा आयात भएका छन् । जबकी गत आवको ११ महिनामा जम्मा ५० अर्ब ६३ करोड २९ लाख ६१ हजार मुल्यको मात्रै सवारी सधान तथा त्यसका पार्टपुर्जा आयात भएका थिए । केन्द्रिय बैंकले कर्जा प्रवाहमा व्यापक कडाई गरेको भएपनि अटोमोबाइलको आयात भने १८ अर्ब भन्दा बढिले वृद्धि नै भएको छ । केन्द्रिय बैंकको कडा नितीका बावजुद किन बढ्यो सवारी साधनको आयात ? नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन–‘केन्द्रिय बैंकले अटो लोनको सिमा घटाएपछि बजार ह्वात्तै घटेको छ तर अहिले आयात गरिएका समान केन्द्रिय बैंकले पोलिसी ल्याउनु भन्दा अघि नै बुक गरिएका थिए ।’ महासंघको बरिष्ठ उपाध्यक्ष गोल्छाका अनुसार अटो लोनलाई ५० प्रतिशतमा झार्ने केन्द्रिय बैंकको निती पछि अटोमोबाइल क्षेत्रको बजार ५० प्रतिशतले घटेको छ । उनले मोटरसाईकलको बजार समेत ३० प्रतिशतले घटेको बताए । ‘राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल क्षेत्रको बजार साह्रै खस्किएको छ तर अहिले आयात भएका सवारी साधन भने नयाँ निती आउनु भन्दा पहिले नै अर्ड गरिएका थिए, अहिले व्यवसायीले नयाँ गाडी अर्डर गर्नेक्रम घटेको छ’, गोल्छाले भने । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि अटोलोनमा ५० प्रतिशतको सिमा तोक्नु अघि नै अर्डर गरिएको सवारी सधान नेपाल भित्रिएको बताए । ‘अटो लोनमा ५० प्रतिशत सिमा तोक्नु अघि अटोमोबाइलको बजार उत्साहित थियो, त्यतिबेला अर्डर गरिएको सवारी साधन नै अहिले भित्रिएका हुन, जसले आयात ठुलो आकारमा बढेको देखायो’, केन्द्रिय बैंकका सहयाक प्रवक्ता पण्डितले भने ।

सीईले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाडौं । नेपालको अग्रणी निर्माण कम्पनी सीई कन्सट्रक्शन प्रा.लिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१:२०१५ पाएको छ । कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१:२०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको हो । यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तह माथि पुगेको सीईको भनाइ छ । यस अघि कम्पनीले आइएसओ ९००१:२००८ प्राप्त गरेको थियो ।  

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, ४८ करोडको सेयर कारोबार

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । मंगबलार सामान्य ३ अंकले बढेको नेप्से बुधबार ९ दशमलब ७८ अंकले बढेर १५५१ अंकमा पुगेको छ । सो दिनको बजारमा ४८ करोड २९ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०४९ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६ दशमलब ६२ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ रहेको छ । बुधबार बीमा समूहको परिसूचक ५० अंकले बढेको छ । हाइड्रोपावर, डेभलपमेन्ट बैंक, बैंकिङ , फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः २०, १४, ९, २ र ०.८६ अंकले हरिया भएका छन् । बाँकी होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ६ र ३ अंकले घटेका छन् ।