विकासन्युज

नबिल बैंकद्धारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले आफ्नो ३३ औं वार्षिक उत्सवको अवसर पारेर  मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी वातावरण संरक्षण र हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले साउन २१ गते उक्त स्थानमा सो कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले चौतारीको शिलान्यास गरेका थिए । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।

लुम्बिनी विकास बैंकको शाखा स्थानान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा कार्यालयलाई सोही जिल्लाको बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण भएको छ । बैंकले ग्राहकवर्गलाई थप सहज एवम् सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले सम्पुर्ण भौतिक पुर्वाधार युक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले गरे । बैंकको हाल कायम रहेको बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ्ग सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने पराजुलीले बताए । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस्, मोबाइल बैंकिङ, रेमिटेन्स,लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

भरतपुरमा चुनाव जित्ने यस्तो थियो माओवादीको तयारी, ‘प्रचण्ड टोल सुधार समिति’लाई एक करोड ५० लाख

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनले निर्वाचन जितेको छ । मताधारमा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रकी प्रमुख उम्मेदवार रेणु दाहालले काँग्रेसँगको गठबन्धनमा निर्वाचन जितिन् । वडा नम्बर १९ मा मत पत्र च्यातेपछि गरिएको पुनः मतदानले दाहालको विजयलाई सुनिश्चित गरेको स्पष्टै देखिन्छ । मत पत्र च्यातेर पुनः मतदान गराउँदै आफु विजयी हुने योजना अनुसार नै माओवादीले मत पत्र च्यातेको आरोप लागिरहेको छ । तर माओवादीले भरतपुरमा निर्वाचन जित्न काँग्रेससँग तालमेल र मत पत्र च्यात्ने योजना मात्रै बनाएको थिएन् । उसले प्रचण्ड प्रधानमन्त्री हुँदा देखि नै भरतपुरलाई आफ्नो पकड क्षेत्र बनाउने भरमग्दुर प्रयास गरेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ पर्ने भरतपुरम महागरपालिकामा प्रचण्ड सरकारले ‘प्रचण्ड टोल सुधार समिति’का लागि भन्दै एक करोड ५० लाख रुपैंयाँ रकमान्तर गरेको देखिन्छ जुन निर्वाचन कै पुर्व सन्ध्यामा भएको थियो अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रचण्ड सरकारले पहिलो चरणको निर्वाचन अघि नै चितवन जिल्लालाई केन्द्रित गरेर ८७ करोड रुपैंयाँ रकमान्तर गरेको थियो । सो रकममध्ये १७ करोड ६३ लाख रुपैंयाँ भरतपुर महानगरपालिका भित्र मात्रै उपलब्ध गराइएको थियो । प्रचण्डले आगामी संसदिय निर्वाचनमा अहिलेको चितवन क्षेत्र नम्बर ४ बाटै उम्मेदवार दिने तयारीका साथ प्रधानमन्त्री हुँदा यथेष्ठ बजेट रकमान्तर गरेका हुन् । उनले छोरी रेणु दाहाललाई महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएर आफ्ना लागि जनमत बुझ्ने प्रयास गरेका हुन् ।

एकैदिन दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासन गर्न अनुमति, क-कसले पाए?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन दुई कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । सुमिट माइक्रोफाइनान्सले शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डको अनुमति अनुसार बैंकले ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ७ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड २२ लाख ८१ हजार २५० रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

ग्रामीण विकास बैंकलाई एफपीओ निष्कासन गर्न अनुमति, प्रतिकित्ता मूल्य १०० रुपैयाँ मात्र

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले जारी गर्न लागेको एफपीओमा कुनै प्रिमियम मूल्य जोडेको छैन । इच्छुक आवेदकले कम्पनीको सो मात्राको एफपीओ १०० रुपैयाँमा नै भर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४३ रुपैयाँ रहेको छ ।

निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिन सकिन्छ-गृहमन्त्री

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताएका छन् । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका-संसद्को राज्य व्यवस्था समितिको सोमबारको बैठकको छलफलमा गृहमन्त्री शर्माले भने, “हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा आयोगले मिति तय गर्न नसकिने भन्ने होइन, दुबै उस्तै हो तर सुरक्षाको तयारीका विषयलाई ध्यानमा राखेर सरकारले मिति तोक्ने व्यवस्था गरिएको हो । आयोगको भूमिकालाई कम गर्ने उद्देश्य होइन ।” उनले सरकारले सकेसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराउने सोचमा रहेको पनि स्पष्ट गरे । मन्त्री शर्माले सो संशोधन विधेयकमा प्राप्त महिला सहभागिताको सुनिश्चितता र समावेशी, समानुपातिक प्रतिनिधित्व सम्बन्धमा पनि छलफल गरेर निष्कर्ष निकाल्न सकिने उल्लेख गरे । संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्नेछ । मन्त्री शर्माले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन सरकार सकारात्मक रहेको र कसैलाई मत दिन्न ९नो भोट० भन्ने अधिकारका सम्बन्धमा सर्वोच्च अदालतको फैसलाका आधारमा समावेश गरिएको जानकारी दिए । विधेयकमाथि विभिन्न ३५ दफामा सांसद्हरुले संशोधन प्रस्ताव गरेका थिए। संशोधनमा बराबर मतप्राप्त भएको अवस्थामा प्रथा, आलोपाला वा पुनः निर्वाचन वा के गर्ने उम्मेदवारको योग्यता, निर्वाचन खर्च, पिछडिएको क्षेत्रको पहिचान कसरी गर्ने, मत सीमा, महिला र दलित समुदायलाई प्रत्यक्ष निर्वाचनमा पनि चक्रिय प्रणालीका आधारमा उम्मेदवारी दिलाउनु पर्ने लगायत छन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई हुनुपर्ने बताउँदै त्यस्तो अधिकार प्राप्त नभए आयोगको स्वायत्ततामा प्रश्न उठ्ने दाबी गरे । उनले निर्वाचनको समग्र खर्च कम गराउन पूर्ण समानुपातिक प्रणाली अपनाउन सकिने जनाउँदै विदेशमा रहेका नेपालीको मताधिकारबारे कानुनी व्यवस्था हुन नसकेको उल्लेख गरेका छन् । विधेयकमाथिको थप छलफलका लागि समितिको अर्को बैठक यहीँ साउन २५ गते बुधबार ११ बजे तोकिएको सभापति दिलबहादुर घर्तीले जानकारी गराइन । रासस

जोन प्लेयर्सको प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट

काठमाण्डौं । सुर्य नेपाल प्रा.लिले जोन प्लयर्स बाण्डका प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट योजना आफनो समर कलेक्सनमा ल्याएको छ । यस योजना अन्तर्गत शर्ट, डेनिम, पार्टी वेयेर लगायत कपडाको खरिदमा यो छुट प्राप्तगर्न सकिने बताइएको छ । यसमा औपचारिक देखि दैनिक रुपमाप्रयोग गर्न सकिने कपडाहरु राखिएको छ । उपभोक्ताहरुले जोन प्लेयर्सका एक्सक्लुसिभ ब्राण्डेड आउटलेट ब्लुवर्ड मलथापाथली, सिटी सेन्टर कमलपोखरी, दरवार मार्ग, मानभवन, सिभिलमल, सुन्धारा, लबिममल, पुल्चोक, बीजीमल, गंगबुका साथै देशभरका अन्य छानिएका स्टोरहरुबाट खरिद गर्न सक्नेछन् । यो योजना सिमित अवधिका लागि मात्र राखिएको छ ।

गुहेश्वरी मर्चेण्टकाे नाफा ८५ प्रतिशतले बृद्धि

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सले आ.व.२०७३/०७४ मा ८५ प्रतिशतले नाफा बढाएको छ । सो अवधिमा बैंकले २० करोड ३२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ तथा जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्ड आवेदन दिएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद र बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले बैकिङ्ग सेवामा एटिएम सेवा सुविधाहरु प्रदान गर्दै एस.एम.एस बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन, डिपी अकाउन्ट तथा आश्वाको समेत सेवा सुविधा दिदै आइरहेको छ । साथै, निकट भविष्यमा नै थप शाखाहरु खोल्ने यस संस्था जनाएको छ ।