काठमाडौं । उद्योग व्यवसायमा कुनै अराजक गतिविधि वा क्षति भयो भने त्यसको समाधान नहुँदासम्म सम्बन्धित कम्पनीका सञ्चालकले तत्काल सेवा दिन आनाकानी गर्छन् । संस्थामा भएको क्षतिपूर्तिका लागि विभिन्न ठाउँ चहार्दै हिँड्छन् । यदि बीमा गरिएको छ भने विवरण संकलन गरी दाबी भुक्तानीका लागि माग गर्छन् । सुरक्षाको प्रत्याभूति खोज्छन् ।
शुक्रबार (चैत १५ गते) काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले गरेको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा प्रवेश गरेर सामग्री लुटपाट गर्याे । उक्त समूह एक्कासी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरे । साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्याएको छ ।
तर, टपाट र तोडफोड भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट दोस्रो दिन नै सञ्चालनमा आएको छ । रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए ।
क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको उनले बताए ।
‘कम्पनीका अनुसार एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौँ,’ सीईओ पोडेलले भने ।
घट्नमा भएको क्षतिविवरण संकलन भईरहेको उनले बताए । हिजै प्रहरीले घटनाको विवरण लिएको र बीमा सर्भेयरले पनि काम गरिरहेको उनले बताए ।