विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, भक्तजन दर्शन गर्नबाट बञ्चित

पर्वत । पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो । यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर्णरुपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताए । पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ तर्फको बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । गत वर्ष साउनमा आएको बाढी बजारसम्म पुगेपछि एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित बनेका थिए । कालीगण्डकी नदीलाई बहाव परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ–५ का अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने उनको माग रहेको छ । शालिग्राम शिला अवस्थित स्थानको नजिकमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिए । रासस

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए । प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो । डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।

२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।