इन्टर-स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाल लुडो लिगद्वारा आयोजित ‘इन्टर–स्कुल लुडो च्याम्प २०२६’ को पहिलो संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा जगत मन्दिर स्कुलकी रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन स्कुलका आभाष साह तृतीय भएका छन् । साउन ९ गतेदेखि चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा करिब ४० विद्यालयका ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट आठ प्रतियोगीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ग्रान्ड फिनालेमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐर, राष्ट्रिय क्रिकेट खेलाडी तिलकराज भण्डारी, विभिन्न क्षेत्रका अतिथि, विद्यालयका प्रतिनिधि तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल लुडो लिगका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले परम्परागत लुडो खेललाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयको उत्साहजनक सहभागिताले पहिलो संस्करणलाई ऐतिहासिक सफलता दिलाएको उनले बताए । प्रतियोगितालाई प्रभावकारी बनाउन प्याब्सन काठमाडौं महानगरसँग सहकार्य गरिएको थियो । डिजिटल पार्टनरका रूपमा साथी सोलुसन्स, सेलिब्रेशन पार्टनरका रूपमा काठमाडौं अनलाइन केक शप तथा रिफ्रेसमेन्ट पार्टनरका रूपमा श्री घः कुल्फी सहभागी थिए । कार्यक्रममा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐरले लुडोजस्तो लोकप्रिय खेललाई व्यावसायिक रूपमा आयोजना गर्ने नेपाल लुडो लिगको पहल प्रशंसनीय रहेको बताउँदै आगामी संस्करण अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गरे । नेपाल लुडो लिगले निकट भविष्यमै देशव्यापी राष्ट्रियस्तरको लुडो प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । साथै संस्थाले आफ्नो ‘लुडो लिग’ मोबाइल एपसमेत सार्वजनिक गरिसकेको अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले जानकारी दिए ।

इन्जिनियरविरुद्ध सवा २ करोडको भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार चौधरीले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०८२ असार २९ गतेसम्मको आम्दानी र खर्चको विश्लेषण गर्दा वैध आयको स्रोतले नधान्ने गरी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ । अनुसन्धानका क्रममा चौधरी र उनको एकाघर परिवारले जाँच अवधिमा वैधानिक रूपमा २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर सोही अवधिमा जग्गा, घर, सवारीसाधन, शेयर, सुन, घर निर्माण, शिक्षा, बीमा तथा अन्य लगानीसहित ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आयभन्दा बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको हो । त्यसै आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ । यस्तै, चौधरीकी श्रीमती अर्पना कुमारीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति पनि जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

२ अर्ब रुपैयाँको हुण्डी कारोबार, व्यक्तिगत खाता प्रयोग

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको सत्यदेवी–८ घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त आरोपमा काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिएपछि सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।