नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सोही दिनको नियुक्तिपत्रमार्फत कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । यसअघि मास्के टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अब उनले निमित्त प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रूपमा सम्हालेकी छन् । मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनी २०४९ माघ २५ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदबाट सेवामा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुन १० मा स्थायी नियुक्ति पाएकी हुन् । २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी मास्केले विषम परिस्थितिमा आफूप्रति गरिएको विश्वासलाई साकार पार्दै टेलिकमको प्रगतिका लागि सबैको साथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
इन्फिनिटी लघुवित्तको सीईओमा ज्ञानीश्वर पन्त नियुक्त
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन् । उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।
एनएचआरसीको अध्यक्षमा डा. नारायण विक्रम नियुक्त
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. नारायण विक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अगामी चार वर्षका लागि डा. थापालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । यसअघिका अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई नियुक्त गरेका हुन् । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।