नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो ।  शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन् । 

क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओको जिम्मेवारी अभिजित केसीलाई

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी अभिजित केसीलाई दिइएकाे छ । साउन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।   नियामक निकाय नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रानुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नगरुञ्जेलका लागि केसीलाई निमित्त सीइओ तोकिएको हो ।   

युनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा, निमित्त सीईओमा रेना रिजाल

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् ।  कम्पनीको साउन १८ बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईको राजीनामा स्वीकृत गरेको हो ।  भट्टराईको राजीनामा आइतबारदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । भट्टराईको राजीनामा स्वीकृत भएसँगै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।