बार एसोसिएसनमा डा. मिश्रको प्यानलै निर्वाचित, कसले कति मत पाए ?

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले विजयी भएका हुन् ।  नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेको छभने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गरे ।    नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो ।   निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन् ।     महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।  सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौं उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौं उपत्यका बाहिर), किरण पौडेल (काठमाडौं उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) रहेका छन् ।   बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा  सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।  

आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी

काठमाडौं । सरकारले घोषणा गरेको आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखती र महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले सीपमूलक तालिम, उद्यमशीलता, प्रशिक्षक प्रशिक्षण तालिम र रोजगारी प्रदान गर्ने सम्बन्धी सो समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई सफल बनाउन निजी क्षेत्रसँग समझदारी गरिएको बताए । कार्यकारी निर्देशक बखतीले समझदारीसँगै परम्परागत सीपलाई उद्यमशीलता सँग जोड्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन एवं आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।  महासङ्घका अध्यक्ष शाक्यले हस्तकला व्यवसायको पुस्तान्तरण र दीगोपनाका लागि सम्झौता गरिएको बताए। सीप विकास प्रतिष्ठानसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै उहाँले स्थानीय उत्पादनलाई अन्तरराष्ट्रियकरण गर्न सकिएमा छिट्टै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।  श्रम मन्त्री भण्डारीको समुपस्थितिमा भएको सो समारोहमा मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा महासङ्घका पदाधिकारीलगायत सहभागी थिए । 

आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त खुला

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको एक विज्ञ सदस्यको पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट भरिने भएकाले इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । आवेदन सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र बुझाउन सकिनेछ । दरखास्त दिनको लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने र सार्वजनिक निकायसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको विज्ञता प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नठहरिने व्यक्ति मात्र योग्य हुनेछन् । उमेर हदको सन्दर्भमा, दरखास्त दिनको मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले मन्त्रालयको वेबसाइटमा प्रकाशित निर्देशिकाको अनुसूची २ अनुसारको ढाँचामा दरखास्त भर्नुपर्नेछ । साथै, दुई प्रति पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, अनुभव सम्बन्धी प्रमाणपत्र तथा स्वघोषणा फाराम आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ । मन्त्रालयले समयमै आवश्यक सबै कागजातहरू संलग्न नगर्ने दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।