युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन् । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनी सचिव नारायणप्रसाद आचार्यका अनुसार हाल कम्पनीमा प्रबन्ध सञ्चालक नरहेकाले कम्पनीको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई सीईओमा नियुक्त गरिएको हो । यससँगै पाण्डेले युनाइटेड मोदी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका रूपमा कम्पनीको दैनिक प्रशासन तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत जानकारी गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओ बने पवन रेग्मी, डीईओमा श्रेष्ठ र घिमिरे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले तह ११ मा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) पवन रेग्मीलाई तह १२ को डीसीईओ पदमा बढुवा गरिएको जनाएको छ ।  अर्थशास्त्रमा एमफिल तथा एमबिएस गरेका रेग्मी २०६२ देखि हालसम्म बैंकको विभागीय प्रमुख तथा शाखा कार्यालयहरु लगायत उच्च ब्यवस्थापकिय तहमा रहि कार्य गरेको अनुभव छ ।  यस्तै, सञ्चालक समितिको साउन ३० गते बसेको बैठकको निर्णयअनुसार तह १० मा कार्यरत मुख्य प्रबन्धक (लेखा) निम्बल श्रेष्ठ र मुख्य प्रबन्धक भीमप्रसाद घिमिरेलाई तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज अर्याल, डीसीईओमा सुभाष जमरकट्टेल

काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रको करिब दुई दशकभन्दा बढी अनुभव छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरिसकेका छन् । उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन् । त्यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका सुभाष जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन् । बैंकले अर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करिअरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्व, अनुभव र दक्षताले संस्थाको आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।