एनटीसीको आम्दानी १९.२२ अर्ब, खुद नाफा ४.१६ अर्ब रुपैयाँ, ओटीटीको प्रयोगले कल घट्यो
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम-एनटीसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत अर्थात् २९ करोड ४८ लाख ५ हजार रुपैयाँले बढी हो । गत आव २०८१/८२ को दोस्रो त्रैमासमा कम्पनीले १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यद्यपि समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल आम्दानी १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको थियो । ब्याज, कर, मूल्य ह्रास तथा डिप्रिसेसन अघिको आम्दानी २.६० प्रतिशत अर्थात् २६ करोड ५ लाख २६ हजार रुपैयाँले घटेर ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १० अर्ब ३ करोड ७५ लाख ८९ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कर अघिको नाफा ४.५९ प्रतिशतले घटेर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कर अघिको नाफा ६ अर्ब १९ करोड ९० लाख ३८ हजार रुपैयाँ रहेको थियो । चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा १२.९८ प्रतिशत अर्थात् ६२ करोड १४ लाख १५ हजार रुपैयाँले घटेर ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४६.२७ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा कमी आएको छ । चालु आवको पहिलो ६ महिनामा आगमन कल ८ करोड ५ लाख ९८ हजार अर्थात् ६.१४ प्रतिशतले घटेको छ । यसले भ्वाइस तथा एसएमएस सेवाबाट हुने आम्दानीमा नकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ। त्यसैगरी, लगानीको मूल्यमा आएको परिवर्तन तथा ब्याजदरमा क्रमिक गिरावटका कारण ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ७४ करोड ६३ लाख ८३ हजार रुपैयाँ अर्थात् करिब ३२ प्रतिशतले घटेको छ । राष्ट्रको सञ्चार सेवाप्रदायक भएकाले विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लगानी गर्नुपरेको र यसले लागत वृद्धि भएको कम्पनीले जनाएको छ । साथै सेवा दररेटसम्बन्धी नीति तथा नियममा भएको परिवर्तनका कारण दर घट्दा अपेक्षित रूपमा राजस्व वृद्धि हुन नसकेको उल्लेख गरिएको छ । कर्मचारीहरूको बीमांक रकम वृद्धि, साथै नेपाल लेखामान १९ अनुसार योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणनामा प्रयोग हुने डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट ७ प्रतिशतमा झरेका कारण कर्मचारी पेन्सन तथा उपदान खर्च बढेको छ । यसका कारण कर्मचारी खर्च समग्रमा ११.५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । यसैबीच, विदेशी मुद्राको सटही दरमा आएको परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १५० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको लेखा नीतिअनुसार जिन्सी मौज्दातमा थप खर्च व्यवस्था गरिएकाले इम्पेयरमेन्ट खर्चमा १८ करोड ३५ लाख रुपैयाँले वृद्धि भएको छ । साथै चालु आवको दोस्रो त्रैमाससम्मको चालु कर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५.५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष चालु कर विगतको करयोग्य नोक्सानी समायोजन गरेर गणना गरिएकाले कर रकम कम देखिएको कम्पनीको भनाइ छ ।
नेपालबाट १ खर्ब बढीको आईटी सेवा निर्यात, १० वर्षमा ३० अर्ब डलर पुर्याउने
काठमाडौं । सरोकारवालाहरुले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘नेपाली आईटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरुले आईटी उद्योगबाट मुलुकले ठूलो लाभ लिनसक्ने बताए । नासआईटीका अध्यक्ष गौरवराज पाण्डेले एक अध्ययनमा सन् २०२२ मा यस क्षेत्रले ६७ अर्ब रुपैयाँ बराबरको सेवा निर्यात गरेको बताए । नेपालमा डिजिटल सेवा र एआईको सम्भावना विषयमा प्रस्तुतीकरण दिँदै आईटी सेवाको विकासमार्फत नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने उनको भनाइ छ । उनले सन् २०२२ यता आईटी क्षेत्रले सेवा निर्यात गरेर वार्षिक एक अर्ब डलर आम्दानी गरिरहेको अनुमान रहेको बताए । उनले भने, ‘नेपालले विगतका औद्योगिक क्रान्तिहरू गुमायो, आईटीमार्फत भइरहेको क्रान्ति अब नेपालले गुमाउनुहुँदै, विश्वका विकसित देशहरूले यस क्षेत्रमा ठूलो लगानी गरेका छन्, नेपालमा पनि लगानीका लागि सरकारले सोअनुरुपको वातावरण बनाउनु आवश्यक छ ।’ नासआईटीका महासचिव अलिशा श्रेष्ठले नेपालमा यस क्षेत्रमा काम गर्ने कम्पनी र जनशक्ति बढ्दै गएको बताइन् । उनका अनुसार हाल नासआईटीले ८० वटा कम्पनी आबद्ध भइसकेको छ । नासआईटीका कोषाध्यक्ष अभय पौडेलले यो क्षेत्र अहिले सेवामूलक उद्योगका रुपमा स्थापना भइसकेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकासमा प्राथमिकतामा राख्नुपर्ने बताए । पौडेलले १ अर्ब डलरभन्दा बढीको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुर्याउने र पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्नका लागि नीतिगत सहजीकरण आवश्यक रहेको बताए । उनले कम्तीमा १० वर्षका लागि आयकरमा भारी छुट (५ प्रतिशतभन्दा कम) दिनुपर्ने आवश्यकता औंल्याए । भियतनाम र फिलिपिन्सजस्ता देशले यस्तै छुट दिएर आईटीमा प्रगति गरेको उनको भनाइ छ । सरकारले १० करोड रुपैयाँसम्मका सफ्टवेयर खरिदमा नेपाली कम्पनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीति ल्याउन उनको सुझाव छ । ठूला विदेशी ठेक्कामा कम्तीमा ३० देखि ४० प्रतिशत काम नेपाली कम्पनीहरूसँग मिलेर गर्नुपर्ने सर्त राख्दा प्रविधि हस्तान्तरणमा मद्दत पुग्ने उनको तर्क छ । साथै कक्षा ५ देखि नै विद्यालयको पाठ्यक्रममा आईटी र एआईसम्बन्धी शिक्षा अनिवार्य गर्नुपर्ने, हाल स्नातक गरेका विद्यार्थीलाई पनि उद्योगको आवश्यकताअनुसार थप तालिम दिनुपर्ने अवस्था रहेकाले शिक्षा र उद्योगबीचको दूरी कम गर्नुपर्ने उनको भनाइ छ । पर्यटन बोर्ड जस्तै आईटी क्षेत्रका समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ गर्न छुट्टै ‘आईटी प्रवर्द्धन बोर्ड’ गठन गर्न आवश्यक रहेको उहाँको सुझाव छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानजस्ता मुख्य बजारहरूसँग दोहोरो कर मुक्ति सम्झौता गरेमा लगानीकर्तालाई नेपालमा काम गर्न थप सहज हुने उनको भनाइ छ ।
८ प्रतिशत बजार हिस्सा ओगटेको सुबिसुको आम्दानी २.६९ अर्ब रुपैयाँ, बैंक ऋण ३.६२ अर्ब रुपैयाँ
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले सन् २०२५ मा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रूपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सुबिसुको आम्दानी संरचना ग्राहक र सेवाका आधारमा विविधिकृत छ । सन् २०२५ मा कम्पनीको करिब ६१ प्रतिशत आम्दानी रिटेल (खुद्रा) ग्राहकबाट रहेको छ, जुन सन् २०२४ मा ५४ प्रतिशत थियो । कर्पोरेट ग्राहकबाट करिब ३१ प्रतिशत आम्दानी भएको छ भने टेलिभिजनबाट ५ प्रतिशत रहेको छ । साथै, प्रोजेक्ट आम्दानी सन् २०२४ मा ६ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर २ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ । प्रतिस्पर्धात्मक मूल्य, प्रवर्द्धनात्मक प्याकेज तथा छुटका कारण प्रतिग्राहक औसत आम्दानी भने निरन्तर घट्दो क्रममा रहेको कम्पनीले जनाएको छ । यो क्षेत्रको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हेर्दा आगामी दिनमा पनि औसत आम्दानी दबावमै रहने र सञ्चालन नाफामा असर पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। ग्राहक संख्याको आधारमा सुबिसु नेपालका शीर्ष ६ इन्टरनेट सेवा प्रदायकभित्र पर्छ । सन् २०२५ डिसेम्बर मध्यसम्म कम्पनीसँग करिब २.५६ लाख सक्रिय इन्टरनेट ग्राहक रहेका छन् । ४जी विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि र डिजिटल पहलहरूले यो क्षेत्रलाई गति दिएको छ । यद्यपि, बजारमा ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी भए पनि वास्तविक रूपमा बजार अत्यधिक केन्द्रित रहेको कम्पनीले जनाएको छ । २०२५ डिसेम्बर मध्यसम्म शीर्ष २० इन्टरनेट सेवा प्रदायक कम्पनीले कुल बजारको ९९.७२ प्रतिशत हिस्सा ओगटेका छन् । तीमध्ये शीर्ष ५ इन्टरनेट सेवा प्रदायक कम्पनीको संयुक्त बजार हिस्सा करिब ७१ प्रतिशत रहेको छ भने सुबिसुको बजार हिस्सा करिब ८ प्रतिशत रहेको कम्पनीले दाबी गरेको छ । ठूला कम्पनीहरूले मूल्य घटाउन सक्ने क्षमता, अनुकूल भुक्तानी सर्त र मूल्य युद्धका कारण सुबिसुलाई मार्जिन दबाब र ग्राहक संरक्षणमा चुनौती देखिएको छ । यसकारण, उत्कृष्ट ग्राहक सेवा, उत्पादन तथा सेवामा फरकपन, रणनीतिक साझेदारी र नवीन प्रविधिमा निरन्तर लगानी अपरिहार्य रहेको कम्पनीले जनाएको छ । निरन्तर ऋण आवश्यकताका कारण सुबिसुको ब्याज खर्च उच्च रहेको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको कम्पनीले जनाएको छ । कम्पनीको ऋण फ्लोटिङ ब्याजदर प्रणालीमा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतारचढावले ब्याजदर अस्थिर बनाइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार दीर्घकालीन २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन १ अर्ब ३९ करोड रुपैयाँ बैंक ऋण लिएको छ । सन् १९९९ अगस्टमा स्थापना भएको सुबिसु २५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय रहँदै आएको छ । कम्पनी सन् २०२२ मार्चमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीमा ७ जना अनुभवी प्रवर्द्धक रहेका छन्, जो सबै बोर्ड अफ डाइरेक्टर्सका सदस्य समेत हुन् । सुबिसुको बोर्ड अध्यक्ष सुधीर पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद रहेका छन् । हाल सुबिसुले उच्च गतिको फाइबर इन्टरनेट, केबल इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवासहित विभिन्न सूचना प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । सुबिसुको सेवा ७७ वटै जिल्लामा विस्तार भएको छ । काठमाडौं उपत्यकाभित्र १० वटा स्टेसन र देशभर ३१ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको कम्पनीसँग १०५ भन्दा बढी फ्रेन्चाइज तथा सहायक व्यवसायहरू समेत रहेका छन् ।