३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत सेयर कारोबारमा सक्रिय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ । डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४ दशमलव १३ प्रतिशतले खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ९८ प्रतिशतले खोलेका छन् । कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेस प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशतले डिम्याट खाता खालेका छन् । नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो सेयर खाता खोल्ने लगानीकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ । आव २०७७/७८ सम्म मेरो सेयर खाता खोल्ने सङ्ख्या सात लाख रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार दुई सय ५४ लगानीकर्ताले मेरो सेयर खाता खोलेका छन् । कूल जनसङ्ख्याको २३ प्रतिशतले मेरो सेयरको खाता खोलेका छन् । विगत पाँच वर्षको अवधिमा शेयर कारोबार गर्ने (टिएमएस) खाता खोल्नेको सङ्ख्या पनि उल्लेखनीय रुपमा वृद्धि भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताहरुले टिएमएस खाता खोल्नुपर्ने हुन्छ । आव २०७७/७८ मा टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या करिब ३५ हजार मात्रै रहेको थियो । आव २०८२/८३ को जेठ मसान्तसम्म टिएमएस खाता खोल्ने लगानीकर्ताको सङ्ख्या भने ३४ लाख ६६ हजार चार सय ९९ जना पुगेको छ । प्रतिवेदनअनुसार सेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । आव २०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत रु १५ अर्ब ५४ करोड राजस्व प्राप्त गरेको थियो । चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर वापत रु १० अर्ब ७० करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा सेयर बजार ओरालो लागेकाले पनि अपेक्षाकृत पुँजीगत लाभकर उठाउन सकेको छैन । नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ । सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दुई सय ९७ कम्पनी सूचीकृत रहेका छन् । बजार पुँजीकरण करिब रु ४६ खर्च ५६ अर्ब पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ७० दशमलव ५२ प्रतिशत बराबर हो ।
४५ जिल्लामा सेवा विस्तार गरेको सम्पदा लघुवित्त १०औं वर्षमा प्रवेश
काठमाडौं । राष्ट्रियस्तरको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले केन्द्रीय कार्यालयसहित देशभरका शाखामार्फत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गैंडाकोट–५, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको केन्द्रीय कार्यालयले गैंडाकोट–१ स्थित अपाङ्ग जीवन विकास संस्थालाई करिब ५७ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ । प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा चामल, दाल, खाने तेल, नुन, चिउरा, भुजा, मसला, दुई थान पानी फिल्टर तथा ३० थान तन्ना सहयोग गरिएको संस्थाले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा रौतहटको यमुनामाई गाउँपालिकास्थित सुकदेवचोक शाखाले बजार, मन्दिर तथा अस्पताल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि स्ट्यान्डसहितका डस्टबिन वडा नं. १ का अध्यक्ष नन्दलाल यादवलाई हस्तान्तरण गरेको छ । यस्तै, धनुषाको तारापट्टी शाखाले मानव सेवा आश्रम जनकपुरलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ भने गोरखाको भच्चेक, बाराको फेटा, मोरङको केरावारी, कास्कीको पार्दी, काभ्रेपलाञ्चोकको खडपु, गुल्मीको मजुवा, बाँकेको रिमझिमचोक तथा रुपन्देहीको झिमझिमिया शाखाले विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । संस्थाका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभरका १५५ शाखाले स्थानीय आवश्यकता अनुसार सहयोगमूलक कार्यक्रम सञ्चालन गरेका हुन् । हाल सम्पदा लघुवित्तले ४५ जिल्लाका १५५ शाखामार्फत करिब १ लाख ८४ हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको कर्जा लगानी १० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने ग्राहक सदस्यबाट ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बचत परिचालन भएको जनाएको छ ।
कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच दिगो बैंकिङ प्रवर्द्धनका लागि रणनीतिक साझेदारी
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जर्मनीको वित्तीय संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डोइचे स्पार्कासेनस्टिफ्टुङको एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । यो सहकार्य जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको बैंकले जनाएको छ । सम्झौताअनुसार बैंकमा दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन् । यसका लागि संस्थाले ईएसजी रिस्क राडार र सस्टेनेबल फाइनान्स कम्पास लगायतका प्राविधिक प्रणाली उपलब्ध गराउनेछ । त्यस्तै, ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (एसएमई) को क्षमता अभिवृद्धिका लागि डिस्क बिजनेस गेम समेत सञ्चालन गरिने बैंकले जनाएको छ । कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौताले बैंकलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार आफ्ना बैंकिङ प्रणालीलाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार साझेदारीमार्फत हरित वित्त र दिगो आर्थिक विकासलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । हाल कुमारी बैंकले देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले यो सहकार्यले नेपालमा दिगो वित्तीय प्रणालीको विकास र हरित अर्थतन्त्र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।