होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
धरान । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैं भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् । धरान उपमहानगरपालिका- १३ स्थित भ्यू-पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् । पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् भने दर्जनौं पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरूबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय व्यवसायीहरूको भनाइ छ । धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । ’केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गर्थ्याैं,’ कोइरालाले सुनाए । 'कुनै समय उजाड झैं देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,’ कोइरालाले भने । ‘लाहुरेको सहर, फेसनेबल सहर, खेलकुदको सहर’लगायत अनेक उपनामले परिचित धरान सहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरू । पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए । 'सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने । अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उहाँले जानकारी पनि दिए । धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । 'समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ,’ श्रेष्ठले भने । धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । दैनिक हजारौं सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए । धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरू गन्तव्य बनेको छ । पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन् । 'धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरु साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरुलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डेडाँडालगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ,’उनले भनिन् । सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरुका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरु थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरू खुलिसकेका छन् । धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरु धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरु खुलेपछि पर्यटकहरु आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताए । कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरु रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ । धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए । धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब छ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ । वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ । यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ । यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरूले बताए ।
पौने ५ अर्बमा ६० वटा भिल्लासहित पाँचतारे होटल बन्दै, यसै वर्ष सञ्चालनमा आउने
काठमाडौं । भक्तपुरको गुण्डुस्थित ४ अर्ब ७५ करोडभन्दा बढी लगानीमा टाइम-सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बन्ने भएको छ । स्वनिगः रिसोर्ट प्रालिले यो परियोजना बनाउन लागेको हो । नयाँ वर्ष २०८२ को अवसर पारेर स्वनिगः ले वैशाख १ गते भूमि पूजा गरेर निर्माण थालनी गरेको हो । यो परियोजनामा विभिन्न मनोरञ्जन केन्द्रहरू पनि समावेश हुने जनाइएको छ । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड स्वनिगः अन्तर्गत सञ्चालन हुनेछ । स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनः निर्माण गर्ने लक्ष्य राखेको छ । प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृङखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ ।यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ । यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुने स्वनिगः रिसोर्ट प्रालिले जनाएको छ । यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजना इम्प्लिमेन्टिब एक्सपर्टस् ग्रुप (आईईजी)ले एस एन्ड जेजी होल्डिङ्ग (अस्ट्रेलिया) सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ । आईईजीको प्रतिनिधित्व अमृत रत्न शाक्य र सुवर्ण कृष्ण श्रेष्ठले गरिरहेका छन्, जसले ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् । उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसीस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् । अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैर-आवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिब्समार्फत यसअघि नै काठमाडौंको कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ । उक्त विलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ । एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायीक अवसरहरूको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । र, ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायीक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
निगमले तिर्यो चैतसम्मको ५३ करोड रुपैयाँ किस्ता
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । ‘२ वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटा वाइबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ,’ निगमका प्रवक्ता सुभाष डाँगीले भने ।