तीन दिनसम्म वर्षाको सम्भावना, मौसम हेरेर मात्रै बाली काट्न विभागको आग्रह
काठमाडौं । देशका अधिकांश भूभागमा आजदेखि तीन दिनसम्म वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले वर्षा भइरहेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार भारतको उत्तर प्रदेशबाट आएको प्रणालीको असरका कारण वर्षा भइरहेको हो । 'अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,' मौसमविद् दाहालले बताए, 'अहिले मुसुरो, गहुँ जस्ता बाली काट्ने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै काम गर्नु उपयुक्त हुन्छ ।' विभागले कृषकहरूलाई मौसम अनुकूल हेरेर मात्रै बाली भित्र्याउन सुझाव दिएको छ ।
निषेधित क्षेत्रमा राप्रपाको आन्दोलन हुने, वैशाख ७ मा काठमाडौंमा प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार, सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको भन्दै त्यसको विरोधमा निषेधित क्षेत्रमै प्रदर्शन गरिने भएको हो । राप्रपाले वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन विस्तार गर्दै आन्दोलनलाई सशक्त बनाउने रणनीति लिइएको उनले बताए । 'सरकारको गैरजिम्मेवार कार्यशैली र अधिकार हननविरुद्ध हामी अब चुप लाग्दैनौं,' अध्यक्ष लिङदेनले भने, 'काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेछौं, ७७ वटै जिल्लामा पनि जनता सँगै सडकमा उत्रन्छन् ।' बैठकले हालै तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ परेका पार्टी नेताहरूको रिहाईका लागि राजनीतिक तथा कानूनी संघर्षलाई पनि तीव्र बनाउने निर्णय गरेको छ । साथै, आन्दोलनसँग सम्बन्धित सबै गतिविधिहरू व्यवस्थित गर्नका लागि विशेष कमिटी गठन गरिएको जानकारी दिइएको छ । राप्रपाले आन्दोलनका थप कार्यक्रमहरू चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
प्रधानमन्त्रीलाई गाह्रो छ भने, प्रधानमन्त्रीकै टिम बनाऔं : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सफलताका लागि कार्यशैली रूपान्तरण अपरिहार्य भएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले मौन बस्नुले सरकार सफल नहुने भन्दै, कमी कमजोरी औँल्याएर सुधारको बाटो देखाउनु सबैको जिम्मेवारी भएको बताए । शर्माले भने, 'सरकार कायम रहन्छ । तर यसको गति बढ्नुपर्छ । मौन धारणा राखेर सरकार सफल हुँदैन । जहाँ चुकिएको छ, त्यहाँ औँल्याउनुपर्छ । पार्टीका पदाधिकारीका हैसियतले हामीले सरकारलाई कमजोरी देखाएर सच्याउने काम गर्नुपर्छ ।' प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको खण्डमा टिम व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै शर्माले, 'जो प्रधानमन्त्री, उसैको टिम होस् । एमालेको प्रधानमन्त्री हुँदा एमालेकै टिम, काँग्रेसको प्रधानमन्त्री हुँदा काँग्रेसकै टिम हुने गरी सहमति गरौं,' भन्ने प्रस्ताव राखे । उनले साना दलहरूलाई सरकारमा समेट्ने र काँग्रेस बाहिरिएर समर्थनमै बस्ने तर कमजोरीमा प्रश्न उठाउने विकल्प पनि सुझाए । 'सत्ता पक्षमै बसेर सरकारलाई साथ दिने र निगरानी गर्ने भूमिका काँग्रेसले लिन्छ । भोलि काँग्रेसको प्रधानमन्त्री हुँदा एमाले पनि यस्तै भूमिकामा रहोस्,' उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शर्माले सरकारको गति बढाउन खोजिएको आलोचनालाई आक्रमणको रूपमा नलिन आग्रह गरे । 'सरकारको आलोचना आक्रमण होइन, गति बढाउन आवाज उठाइएको हो । अब बहानाबाजी होइन, निष्पादन चाहिन्छ,' उनले स्पष्ट पारे । शर्माले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनु पर्ने पक्षमा रहेको उल्लेख गर्दै, शिक्षकको माग, गभर्नर र एआईजी नियुक्ति जस्ता विषयमा अब ढिलाइ सह्य नहुने चेतावनी पनि दिए ।