सरकारकाे 'सुन्ने अनि थुन्ने' नीतिमा भद्दा मजाक
काठमाडौं । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल नियमित काममा फर्किएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई उनी नियमित काममा फर्किएको जानकारी दिएको हो । गत चैतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । कम्पनीले कार्यरत कर्मचारीकाहरूलाई छुट्ट्याएको सेयर बाँडफाँट सम्बन्धमा गलत विवरण पठाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको थियो । सीआईबीले उनीमाथि अनुसन्धान सम्पन्न गरेपछि उनी नियमित काममा फर्किएका हुन् । केही दिन हिरासतमा बसेका उनी पछि रिहा भएपनि कार्यालय हाजिर भएका थिएनन् । त्यसपछि कम्पनीले कवि फुयाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कुनै पनि अनुसन्धान नगरी सीआईबीले ठाडो उजुरीका आधारमा अर्याललाई पक्राउ गरेको थियो । बीमा क्षेत्रमा राम्रो सीईओको छबि बनाएका अर्याललको पक्राउले बीमा क्षेत्र नै एकाएक तरंगित बनेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अगाडि सुन्ने त्यसपछि मात्रै थुन्ने नीति लिएको बताए पनि सीईओ अर्याललाई भने ठाडो उजुरीका आधारमा पक्राउ गरिएको थियो । उनी सो विषयमा संलग्न नभएकै कारण सीआईबीले उनलाई रिहा गरेर उनी काममा पनि फर्किसकेका छन् । पछिल्लो समय सरकारले सुन्ने अनि थुन्ने भन्दा पनि थुन्ने अनि सुन्ने नीति आत्मसात गरेको अनुभुती, बैंकर, उद्योगी व्यवसायी तथा सर्वसाधारणले पनि गरेका छन् । सीईओ पक्राउ, बीमा क्षेत्र सरप्राइज
एक वर्षमा ४६ वटा नयाँ बीमालेख स्वीकृत
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुल ४६ वटा नयाँ बीमालेख स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार बजारको आवश्यकता र बीमितको मागलाई ध्यानमा राख्दै पुराना पोलिसीहरू संशोधन गर्नुका साथै जीवन तथा निर्जीवन दुवै क्षेत्रमा नयाँ पोलिसीहरू जारी गरिएको हो । कुल स्वीकृत ४६ पोलिसीमध्ये २८ वटा निर्जीवन बीमा क्षेत्रसँग सम्बन्धित छन् । त्यस्तै १४ वटा नयाँ जीवन बीमालेख प्राधिकरणले स्वीकृत गरेको छ । त्यस्तै, प्राधिकरणले ३ वटा लघु निर्जीवन बीमालेख र एउटा कृषि बीमालेख स्वीकृत गरेको छ ।
१ खर्ब बढी बीमा दाबी भुक्तानी, २ अर्ब भुक्तानी हुन बाँकी
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरूले गत आवमा कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । जुन अघिल्लो आव २०८१/८२ को तुलनामा दाबी भुक्तानी ११.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । गत वर्ष जीवन बीमा कम्पनीहरूले ४ लाख १९ हजार १३६ वटा दाबीको ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छन् । अघिल्लो आवमा कम्पनीहरूले ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी संख्या ७.१६ प्रतिशत र रकम ५.८३ प्रतिशतले बढेको छ । त्यसैगरी, गत आवमा निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवमा कम्पनीहरूले १ लाख ५० हजार ६३९ वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरूको दाबी संख्या ८.९४ प्रतिशत र दाबी रकम २५.५७ प्रतिशतले बढेको छ । ५२ अर्ब भुक्तान हुन बाँकी प्राधिकरणको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । जीवन बीमा कम्पनीहरूले मात्रै १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६ हजार २३७ वटा दाबीको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।