चर्चित गीत ‘हामी उभिएको धरातल’ पुनः म्युजिक भिडियोमा

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा ‘हामी उभिएको धरातल बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघि नै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो ।  ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरूपमा छायांकन गरी म्युजिक भिडियो निर्माणको सुरु गरेको हो । सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहूर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउँने उदेश्य रहेको बताए ।   देशमा केही भएको छैन भन्नेहरूले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउँदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।  सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रूपमा उनको थियो । युवा विदेशिने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने उनको भनाइ थियो ।   कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।  स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै उनले यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए ।  म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो ।  कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो ।  करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।  

भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोही अवसरमा कम्पनीले नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ सुरु गरेको छ । भायानेटका अनुसार उक्त अभियानले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल प्लेटफर्ममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ । सुशान्त केसीको यात्रा नै इन्टरनेटबाट सुरु भएको उल्लेख गर्दै भायानेटले, उनको जस्तै सपना देख्ने अन्य युवाहरूसँगै हिँड्ने उद्देश्यले अभियान अघि सारिएको जनाएको छ । ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान अन्तर्गत डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, अनुभव आदानप्रदान गर्ने गतिविधि जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत कन्टेन्ट क्रिएटर र डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई इन्टरनेटको सही उपयोग गर्दै आफ्ना सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।

१७ वर्षीय कन्टेन्ट क्रियटर यादव बने ‘ग्लोकल टिन हिरो नेपाल २०२५’

काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा कन्टेन्ट क्रिएटर कृष यादवले गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्राप्त गरेका छन् । ललितपुरको द प्लाजामा आइतबार आयोजित समारोहमा ग्लोकलले यादवलाई यो सम्मान प्रदान गरेको हो । ग्लोकल टिन हिरो नेपाल पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर असाधारण उपलब्धि हासिल गरेका किशोर–किशोरीलाई सम्मान गर्दै उनीहरूको प्रतिभा र सिर्जनशीलतालाई उजागर गर्ने काम गर्दै आएको छ । यस वर्षको प्रतिस्पर्धामा यादवसहित शीर्ष ६ जना अन्तिम प्रतिस्पर्धीहरू थिए, जसमा मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुङ्गाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेनुका सिंह (सर्लाही) र सफल पौडेल (रूपन्देही) समावेश थिए । कृष यादव सामाजिक विषयप्रति जिज्ञासु कन्टेन्ट क्रिएटर हुन् । उनले सार्वजनिक बहस सञ्चालन, वृत्तचित्र निर्माण, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व, नीतिगत अभियानमा स्थानीय सरकारसँग सहकार्यलगायतका गतिविधि गर्दै आएका छन् । युट्युब र डिजिटल प्लेटफर्ममार्फत हजारौं दर्शक र प्रयोगकर्तासम्म पुग्ने कार्यक्रमको निर्माण तथा सह–नेतृत्वमार्फत उनले युवालाई संवाद, आलोचनात्मक सोच र नेतृत्वमा सशक्त बनाउँदै आएका छन् । पुरस्कार विजेताको छनोट निर्णायक समितिले उपलब्धि, सिर्जनात्मकता, सामाजिक प्रभाव र कार्यको दिगोपनाका आधारमा गरेको थियो । निर्णायक टोलीमा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र युरोपेली संघका चार्ज डी’अफेयर्स थोमस मिलरसमेत थिए । कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता, कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस वर्षको कार्यक्रम गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन गरिएको हो भने युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरू रणनीतिक साझेदारका रूपमा जोडिएका थिए ।